काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पदसमेत रद्द गर्ने रिट निवेदनविरुद्ध गृहमन्त्री लामिछानेले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको हो ।
लामिछानेले बुझाएको लिखित जवाफमा उक्त रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दाबी गर्नुभएको छ । लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा पेस गरिएको लिखित जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको स्वीकार गर्नुभएको छ । तर, २०७० मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागरिकता पुनः प्राप्तिसम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उहाँको जवाफमा उल्लेख छ ।
पाँच वर्षअघि नै विवाद निरूपण भएको जिकिर
अन्तरिम आदेशका लागि छलफलमा उहाँका कानुन व्यवसायीले बहस गरेजस्तै उहाँले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर लिनुभएको छ । उहाँले आफ्नो नागरिकतासम्बन्धी विवाद करिब पाँच वर्षअघि नै उत्पन्न भई त्यही बेला निरूपण भएको समेत उल्लेख गर्नुभएको छ । ‘म लिखित जवाफकर्ता अमेरिकाबाट फर्केपछि न्युज-२४ मा सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा आबद्ध भई उक्त कार्यक्रम सञ्चालन गर्ने क्रममा करिब पाँच वर्षअघि मेरो नेपाली नागरिकता सम्बन्धमा प्रेस काउन्सिलमा उजुरी पर्दाको क्रममा मैले तत्काल अमेरिकी राहदानी र नागरिकता त्यागेको सूचना मिति २०७५।०३।०६ मा अध्यागमन विभागमार्फत नेपाल सरकार, गृह मन्त्रालयमा पेस गरेको थिएँ,’ जवाफमा उल्लेख छ ।
आफूले नेपाली नागरिकता नत्यागेको दाबी
लामिछानेले जवाफमा प्रतिनिधिसभा सदस्य वा नेपालको राजनीतिक दलको सदस्य हुन नेपाली नागरिक हुनपर्ने व्यवस्था स्वीकार्दै आफू नेपाली नागरिक नै रहेको र नेपालको नागरिकता त्याग नगरेको हुँदा, पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने भन्दै रिट खारेज गर्न माग गर्नुभएको छ । लामिछानेले लिखित जवाफमा भन्नुभएको छ, ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भनी उल्लेख गरेको तथा उक्त दफा ११ बमोजिम नेपाली नागरिकता कायम गर्ने कार्यविधिको बारेमा नियमावलीको नियम ११ मा उल्लेख गर्दा ऐनको दफा १० को उपदफा (१) अनुसारको कायम नरहेको नागरिकताबारे कुनै पनि कार्यविधि उल्लेख नगरी ..... नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा ...’ भन्ने उल्लेख गर्दै नागरिकता त्यागेको निस्सासहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको पाइन्छ । म लिखित जवाफवालाले नेपाली नागरिकता त्यागी विदेश अमेरिका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधिअनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरिपाऊँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन ।’
नागरिकताविहीन बनाउन नमिल्ने लामिछानेको जिकिर
उहाँले जवाफमा कुनै पनि व्यक्ति नागरिकताबिना रहन सक्छ भन्ने सभ्य समाजले सोच्न पनि नसक्ने बताउनुभएको छ । ‘प्रस्तुत विवादमा निर्विवाद तथ्य के हो भने मैले अमेरिकाको नागरिकता त्यागिसकेको र मेरो साबिककै नेपाली नागरिकता पुनः कायम रहेको छ । तसर्थ, म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक रहेको प्रमाण सम्मानित अदालतमा पेस गर्न सक्नुपर्छ अन्यथा मजस्तो नागरिकको निजी जीवन, म र मेरो देशको सम्बन्धलाई जोड्ने मेरो नागरिकताको बारेमा झुठो आरोप लगाउन मिल्ने होइन,’ लामिछानेको लिखित जवाफमा उल्लेख छ । संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा माघ ११ गतेलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements