काठमाडौं । देशका सात प्रदेशमध्ये खराब कर्जा दर(डिफल्ट रेट) बागमती प्रदेशमा उच्च रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बागमती प्रदेशको खराब कर्जा कुल कर्जाको ६.७५ प्रतिशत रहेको छ । बैंक वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा बागमती प्रदेशको हिस्सा ५५.८६ प्रतिशत छ । गत आर्थिक वर्षमा बागमती प्रदेशमा रहेका बैंक वित्तीय संस्थाले सात लाख ४८ हजार ऋणीलाई २६ अर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
त्यस्तै, बागमती प्रदेशका बैंक वित्तीय संस्थाले गत आवमा एक करोड ६३ लाख ८३ हजार निक्षेपकर्ताबाट ३५ खर्ब नौ अर्ब निक्षेप संकलन गरेका छन् भने प्रदेशगतरूपमा बैंकिङ गतिविधिमा सबैभन्दा धेरै हिस्सा बागमतीको रहेको छ । बैंक तथा वित्तीय संस्था शाखा संख्यामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा तीन हजार तीन रहेका छन् भने दुई हजार एक सय ४७ एटिएम रहेका छन् । कर्णाली प्रदेशमा बैंक वित्तीय संस्थाका सबैभन्दा थोरै चार सय ५५, लुम्बिनी प्रदेशमा २२ सय १२ शाखा रहेका छन् । गत आवसम्ममा कर्णाली प्रदेशमा ८८ मात्र एटिएम रहेका थिए । कर्णाली प्रदेशमा १६ लाख ८८ हजार नौ सय ६५ निक्षेपकर्ताबाट ६० अर्ब ३२ करोड ७८ लाख निक्षेप संकलन भएको छ भने लुम्बिनी प्रदेशमा ७० लाख ३२ हजार निक्षेपकर्ताबाट चार खर्ब २७ अर्ब २४ करोड ४४ लाख संकलन भएको छ । प्रदेशगत कर्जा तुलना गर्दा सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ हजार नौ सय १४ ऋणीमा ५४ अर्ब ९२ करोड ९४ लाख प्रवाह भएको छ । लुम्बिनीमा तीन लाख १८ हजारमा पाँच खर्ब ३८ अर्ब ७५ करोड ६४ लाख प्रवाह भएको छ ।
गत आवमा प्रवाह भएको प्रदेशगत कुल कर्जामा निष्क्रिय कर्जाको अंश सबैभन्दा धेरै बागमती प्रदेशमा ६.७५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३.१६ प्रतिशत रहेको छ । लुम्बिनीमा कुल कर्जाको ३.६९ प्रतिशत खराब कर्जा रहेको छ । गत आवमा प्रदेश १ मा ३.८९, मधेश प्रदेशको ४.२८, गण्डकी प्रदेशको चार र सुदूरपश्चिम प्रदेशको ३.५३ प्रतिशत खराब कर्जा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट गत आवमा सबैभन्दा धेरै विपन्न वर्गकर्जा बागमती प्रदेशमा एक खर्ब ६० अर्ब ४९ करोड २९ लाख प्रवाह भएको छ । सो अवधिमा कर्णाली प्रदेशमा चार अर्ब ८९ करोड विपन्न वर्गकर्जा प्रवाह भएको छ भने लुम्बिनी प्रदेशमा ४२ अर्ब ४३ करोड ३२ लाख प्रवाह भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts