काठमाडौं । आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।
यो वर्ष पनि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो ।
तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहनुभएका गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो ।
भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ ।
दिवसका अवसरमा मूल समारोह समितिले आज कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको तय गरेको थियो ।






