माघे संक्रान्ति र हाम्रा चाडबाड

चूडामणि कोइराला
चूडामणि कोइराला
Read Time = 14 mins

हामीले मानिआएका चाडपर्वहरू हाम्रा पुर्खाहरूले नै मानिआएका र शास्त्रमा वर्णन भएअनुसार मनाउने चलन सुरु भएको हुनुपर्दछ । यकिन त कुन पर्व कहिलेबाट सुरु भयो शास्त्रका जनाकारहरू नै अनभिज्ञ हुनुहुन्छ । तर, परम्परादेखि नै चलिआएको किम्बदन्ती हो भन्दा फरक नपर्ला । प्रसंग यही माघे संक्रान्ति मनाउनुको खास अर्थ के हो त ? मिठो मसिनु खाएर रमाउनु मात्र पर्व होइन । यस पर्वभित्र सामाजिक, आर्थिक र संस्कृतिक दृष्टिले स्वास्थ्य, समाज र परिवारसँग नै सम्बन्धित जोडिएको पर्व हो माघे संक्रान्ति ।

माघ महिनाको १ गते संक्रान्ति भएकाले माघे संक्रान्ति भनिन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघे संक्रन्ति वा मकर संक्रान्ति भनिएको हो भन्ने भनाइ रहँदै आएको छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्य प्रवेश गरेको कर्कट राशि साउने संक्रान्ति र मकर राशि माघे संक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिन्छ ।

माघे संक्रान्ति सांकेतिक पर्व, जसले फरक खानपान र जीवनशैलीमा परिवर्तन ल्याउन हामीलाई प्रेरित गर्छ । यद्यपि, हामी माघे संक्रान्तिको एकदिन मात्र यस्ता खानपान शैली अपनाउछौँ । जबकि जाडो याममा नियमित रूपमा कन्दमूल, चाकु, तिलको लड्डु, खिचडी खानु बढी लाभदायक नै हो ।

सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । माघे संक्रान्ति भनेको जाडो यामको मध्य समयमा मनाइने पर्व हो । यो संक्रान्तिबाट जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ ।
माघे संक्रान्तिको साइनो खानपानसँग जोडिएको छ । यसदिन तरुल, घ्यू, चाकु, तिलको लड्डु, खिचडी आदि प्रकारका पक्वान्न खाइन्छ । ग्रामीण समाजमा के पनि प्रचलन छ भने आफ्नो घरमा पकाएको खानेकुरा छरछिमेकी कहाँ दिने चलन छ । पुसमा पकाएको माघमा खाने भन्ने बुडीखुडी उखान पनि प्रचलित नै छ । सम्भवतः यो सिजन खाद्यसंकट हुने र त्यसलाई टार्न पनि आपसमा बाँडीचुँडी खाने प्रचलन बसाइएको हुनुपर्छ ।

पुस महिनाको अन्तिम दिन पकाएर सेलाएको तरुल माघे संक्रान्तिको दिन खाने भन्ने भनाइका पछाडि केही तथ्य त लुकेकै हुनुपर्दछ । फलाहारको प्रयोग गरिने तरुल वा कन्दमूल यो सिजनको मौसमी खानेकुरा हो । तरुल मौसमी खानेकुरामा पर्दछ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमूल खाएर भए पनि प्राण धान्न सकियोस् भन्ने आशयबाट यसलाई हेर्ने गरिएको हुनसक्छ ।

माघे संक्रान्ति सांकेतिक पर्व, जसले फरक खानपान र जीवनशैलीमा परिवर्तन ल्याउन हामीलाई प्रेरित गर्छ । यद्यपि, हामी माघे संक्रान्तिको एकदिन मात्र यस्ता खानपान शैली अपनाउँछौँ । जबकि जाडो याममा नियमित रूपमा कन्दमूल, चाकु, तिलको लड्डु, खिचडी खानु बढी लाभदायक नै हो । शास्त्रमा पनि माघमा तिलको लड्डु खाने र तिलकै बोटको आगो ताप्नाले सबै भयबाट मुक्ति मिल्छ भनिएको छ । कन्दमूल फल खाएमा शरीर पोसिलो हुनुका साथै रोगव्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ ।

खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको खिचडी, मेथी फुराएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । त्यस्तै, श्लोकमा पनि भनिएको छ-
माघे निमग्नास् सलिले सुशीते विमुक्तपापास्त्रिदिवं प्रयान्ति ।।
माघ महिनामा गरेको स्नान मात्रैले पनि तीनै किसिमका पापहरू कायिक, वाचिक, मानसिकबाट मुक्त भई मोक्षलोक प्राप्त हुन्छ भनिएको छ ।

माघे संक्रान्तिको महत्व :
माघे संक्रान्तिका दिन विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा धाममा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन हामीकहाँ सर्वत्र छ । माघे सक्रान्तिका दिन स्नान गरी विभिन्न प्रकारका मिठाइ, मासको खिचडी, मासको फुरौला (बारा), सेल रोटी, तरुल र कन्दमूलहरू आदि खाने चलन छ । घ्यू, चाकु, तिलको लड्डु सागपात, तरुल, वस्त्र, मकलसहितको सिदा दान तीर्थ श्राद्ध र दक्षिणा दान उत्तम मानिएको शास्त्रमा उल्लेख छ ।

ADVERTISEMENT

उत्तराण अथात् माघे संक्रन्तिकै दिनदेखि गुरु, पुरोहित, ब्राहृमणहरूलाई डाकेर माघ माहात्म्य सुन्ने र सुनाउने चलन पनि छ । महिना दिनसम्म सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घ्यू, चाकु, तरुल, तिलको लड्डुसहितको सिधा आदि दान दिने र घरमा आफन्त तथा गुरुजनहरूलाई बोलाई पकाएको मिष्ठान्न परिकार भोजन गर्ने÷गराउने गर्छन् ।

हाम्रो विविध जाति र समुदायको बसोवास रहेको समाजमा यो माघे संक्रान्ति पर्व सबैले मनाउने गरेको पाइन्छ । आजभोलि विदेशिएका नेपालीबाट माघे संक्रान्ति विदेशमा पनि मनाउने प्रचलन बढ्दै गएको सामाजिक सञ्जालबाट देख्न पाइन्छ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटीजस्ता विभिन्न परिकारको साथमा माघे संक्रान्तिको रमझम गर्ने गरेको देख्न पाइन्छ ।

यो पर्व महाभारतकाल, रामायण कालमा अझ प्राचीन वैदिककालमा समेत मनाइएको शास्त्रमा उल्लेख छ । जसका कारण रोगव्याधीवाट मुक्त हुने, दान धर्म गर्‍यो भने सद्गति प्राप्त हुने अर्थात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने कुरा इतिहास पुराण आदिमा पाइन्छ । जनविश्वास पनि यस्तै रहँदै आएको सुयोक्ति छ । मंसिर र पौषको चिसो महिनामा काम गर्दा चिसो लागेको हुन्छ जसकारण चिसोका कारण बिरामी हुनु नपरोस् भनेर माघ १ गतेको दिन घर सरसफाइ गरेर, नदीमा गई नुहाएर मठमन्दिर जाने गरिन्छ ।
माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङक्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।।
अर्थात् मकर संक्रान्तिका दिन घ्यू र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसमानुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा पनि पुष्टि गर्न सकिन्छ । महाभारतका अनुसार भीष्मले यही दिन मृत्युवरण (रोजेका) गरेका थिए भने भगिरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

हामीले मनाउँदै आइरहेका चाडपर्व, व्रत तथा उत्सवहरूका बारेमा हामीले हाम्रा बालबच्चाहरूलाई पनि सिकाउँदै मनाउने गरियो र यिनको महत्वको बारेमा अवगत गराउने गरेमा संस्कृति, परम्परा जोगिने र हाम्रो समाज नै सांस्कारिक बन्न, बनाउन सकिनेमा माघी र हाम्रो समाजमा कुनै द्विविधा रहने छैन ।

भौगोलिक हिसाबले अहिलेको सन्दर्भमा हामी जुनसुकै देश र स्थानमा रहे पनि हामीले मनाउँदै आइरहेका चाडपर्व, व्रत तथा उत्सवहरूका बारेमा हामीले हाम्रा बालबच्चाहरूलाई पनि सिकाउँदै मनाउने गरियो र यिनको महत्वको बारेमा अवगत गराउने गरेमा संस्कृति, परम्परा जोगिने र हाम्रो समाज नै सांस्कारिक बन्न/बनाउन सकिनेमा हामी र हाम्रो समाजमा कुनै द्विविधा रहने छैन । हाम्रो चिनारी भनेकै हाम्रा चाडपर्व, भेषभूषा, संस्कार, मानिआएका परम्पराहरू हाम्रो शास्त्र र समाजका अमूल्य सम्पत्ति हुन् ।

हाम्रा संस्कारका पर्वहरू माघे संक्रान्ति, शिवरात्रि, अक्षय तृतीया, अजा एकादशी, अचला एकादशी, अन्नकुट पर्व, आमलकी एकादशी, अदुःख नवमी, अनन्त चतुर्दशी, इद, इन्द्रजात्रा, इन्दिरा एकादशी, उत्पत्तिका एकादशी, उधौली पर्व, उभौली, ऋषिपञ्चमी करवा चौथ, गोवत्स द्वादशी, दीपावली, धनतेरस, धन्वन्तरी जयन्ती, काग तिहार, कुकुर तिहार, गाईतिहार, गोवर्धन पूजा, कामदा एकादशी, कामिका एकादशी, कालरात्रि, क्रिसमस, कुशे औँसी, कुमार षष्ठी, कृष्ण जन्माष्टमी, कोजाग्रत, कोसी पूजा, खड्ग जात्रा, गठेमंगल, गाईजात्रा, गुरुपूर्णिमा, अलन चल्तीमा आएको गोरु जुधाई मेला, गौरा पर्व, गंगा दशहरा, ग्याल्बो ल्होसार, घटस्थापना, बडा दशैँ, घण्टाकर्ण चतुर्दशी, घोडे जात्रा, चण्डी पूर्णिमा, चैते दशैँ, छठ पर्व, जया एकादशी, जितिया, जनैपूर्णिमा, तमु ल्होसार, तीज, तिजी पर्व, दर खाने, नागपञ्चमी, निर्जला एकादशी, पापमोचिनी एकादशी, पापांकुशा एकादशी, पितृविसर्जन अमावस्या, पुत्रदा एकादशी वामन जयन्ती विश्वकर्मा पूजा, विस्केट जात्रा, सरस्वती पूजा, साउने संक्रान्ति, साकेला सामा चकेवा, सेतो मच्छिन्द्रनाथको रथयात्रा स्वस्थानी, सोह्र श्राद्धलगायत हाम्रा सांसारिक चाड पर्वहरू हुन् ।

यिनको आफ्नै मौलिकता र विशेषता रहेको छ । यही विशेषलाई अँगाल्दै परिवर्तशील समाजसँग आग्रह छ सबैका चाडबाड समान् हुन् । सभ्य समाजको परिचय नै हाम्रा मौलिक पर्वहरू हुन् । त्यसैले यिनै पर्वहरूको वास्तविकता के हो मनन गरौँ र चाडबाडमा विकृति होइन, समाजमा समानता भयो भने सबैको कल्याण हुन्छ । सबैको हित होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *