काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६ प्रतिशत सेयरधनीको उपस्थिति रहेको थियो ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कम्पनीको १५औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना महामारी तथा सोको असरबीच पनि कम्पनीले सापेक्षित सफलता पाएको भन्दै दूरसञ्चार क्षेत्रको विश्व बजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधि प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दूरसञ्चार क्षेत्रमा विद्यमान तीव्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासन क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले कार्यक्रम परिलक्षित गरेको उहाँले बताउनुभयो । अध्यक्ष अर्यालले भन्नुभयो, ‘आव २०७८/०७९ मा आन्तरिक तथा बाहृय वातावरणमा देखिएका विविध प्रतिकूलताबीच कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी आठ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षभन्दा एक अर्ब ३५ करोडले बढी हो । यसै आवमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड राजस्वका रूपमा सरकारलाई बुझाएको छ । कम्पनीको नाफामा सेयरधनीको योगदान र लगानीको उच्च कदर गर्र्दै कम्पनी सञ्चालक समितिले प्रतिसेयर ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ ।’
प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि आधारभूत आवश्यकताका रूपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटिई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटिटिएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीव्रता दिएकाले २०७९ असारसम्ममा देशका सात सय ३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उहाँले बताउनुभयो ।
कम्पनीको लगानी नीतिअनुरूप लगानी विविधीकरण गरी वित्तीय अवस्था सुदृढ गरिने, वित्तीय अनुशासन कायम गरी खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने तथा कम्पनीका सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । पारित लाभांश रकम एनएमबी बैंकमार्फत् सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts