पृथ्वीनारायाण शाहले र्निदिष्ट गरेको राष्ट्रिय एकता

Read Time = 17 mins

✍️ आर.सी.न्यौपाने

आमुख :
राजा पृथ्वीनारायण शाहको जन्म १७७९ पुस २७ मा भई २१ वर्षको उमेर १८०० मा राजा भई नेपाल पुनः एकीकरण अभियान आरम्भ गरेका थिए । पृथ्वीनारायण शाहले करिब ३१ वर्षको समयावधिको राज्यकाल (१८०० सालदेखि १८२५ ) सम्ममा नेपाल पुनः एकीकरणको युद्धभूमिमै बिताए । एउटा सानो गोखा राज्यका राजा पृथ्वीनारायण शाहले विशेष योजनाका साथ आफ्ना भाइभारदारहरू र जनताको सहयोगमा विशाल राष्ट्र नेपाल निर्माण गर्ने महान् अभियान सामान्य कुरा थिएन । आधुनिक राष्ट्र नेपाल निर्माणको युगिीन कार्यलाई गोर्खाको सानो राजा पृथ्वीनारायाण शाहको ठूलो देशको राजा बन्ने दाउको रूपमा बुझ्नु गल्ति हुन्छ ।

नेपालको तत्कालीन परिस्थिति ससाना राज्यहरूमा विभक्त बाईसे-चौबीसे राज्यहरू, उपत्यकाका मल्ल राज्यहरू, सेन राज्यहरू आदि राज्यहरूमा आन्तरिक कलह र कचिँगलले गर्दा त्यस राज्यका जनता वाक्कदिक्क हुनुका साथै प्रताडित थिए । त्यतिबेला ब्रिटिश साम्राज्यवादी साजीससँग जोडिएको इष्ट-इण्डिया कम्पनीको प्रतिकूल प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई नकार्न मिल्ने अवस्था थिएन । यस्तो साम्राज्यवादी साजिसलाई मिहिन पाराले नियालिरहेका पृथ्वीनारायाण शाहले त्यतिबेलाको राज्य रजौटाहरूलाई एकीकरण गरी विशाल राष्ट्र निर्माण नगरे साम्राज्यवादीको विस्तारबाट नेपाललाई बचाउन सकिँदैन भन्ने बुझे । सोही बुझेर युगिीन कार्यभार पूरा गर्न पृथ्वीनारायाण शाहले एकीकरण अभियान आरम्भ गरे ।

विषय विस्तार :
पृथ्वीनारायाण शाह तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका ऐतिहासिक योद्धा हुन् । पृथ्वीनारायण नेपालको इतिहासमा द्वन्द्ववाद/दूरदर्शी आधुनिक राष्ट्र नेपालका निर्माता हुन् भनेर बुझ्नु नै उनीप्रति र राष्ट्रप्रतिको सच्चा मूल्यांकन हुन्छ । हामीले हाम्रो सभ्यता र इतिहासको उपहास गर्ने होइन कि उच्च सम्मान र उचित मूल्यांकन गर्न विलम्ब गर्नु हुँदैन । तत्कालीन विश्व परिवेशमा छरिएर रहेका ससाना भुरे टाकुरे, राज्यहरूलाई लोकतान्त्रिक अभ्यासबाट एकत्रित गरी राष्ट्र निर्माण गर्न सम्भव थिएन । त्यतिबेला शान्तिपूर्ण विधिबाट राष्ट्र निर्माण भएको इतिहास संसारमै कहीँ कतै पनि भेटिँदैन ।

पृथ्वीनारायाण शाह तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका ऐतिहासिक योद्धा हुन् । पृथ्वीनारायण नेपालको इतिहासमा द्वन्द्ववाद/दूरदर्शी आधुनिक राष्ट्र नेपालका निर्माता हुन् भनेर बुझ्नु नै उनीप्रति र राष्ट्रप्रतिको सच्चा मूल्यांकन हुन्छ । हामीले हाम्रो सभ्यता र इतिहासको उच्च सम्मान गर्न विलम्ब गर्नु हुँदैन ।

अहिलेको विश्वमा अस्तित्वमा रहेका प्रायः सबै राष्ट्रहरूको जन्म त्यहाँका कुनै न कुनै वीर राजा तथा वीर सेनापति शासकले नेतृत्व गरेको हतियारबद्ध युद्धको प्रक्रियाबाटै हुन पुगेको छ । जस्तै रूसका राष्ट्र निर्माता सम्राट जार, चीनका राष्ट्र निर्माता सी हृवाङ्ग ती, जर्मनका राष्ट्र निर्माता बिस्मार्क, फ्रान्सका राष्ट्र निर्माता नेपोलियन, भारतका राष्ट्र निर्माता अशोक आदि देशहरू वीर राजा वा सेनापतिको नेतृत्वमा भएका युद्धहरूको विधिबाटै निर्माण भएका हुन् ।

पृथ्वीनारायाण शाहले आधुनिक राष्ट्र निर्माण गर्न प्रतिद्वन्द्वीसँग वैवाहिक र मितेरी सम्बन्ध कायम गर्ने, व्यापारिक घाँटीको नाकाबन्दी गर्ने, युद्ध उपर्युक्त किल्लाको अधिग्रहण र सैनिक चौकीको स्थापना, सैनिक शक्ति वृद्धिका लागि आधुनिक खरखजानाको जोर जम्मा गर्ने, विजय प्राप्त क्षेत्रका जनताहरूको अधिकारसहितको सुरक्षा गर्नुका साथै सामाजिक न्याय दिने र युद्धमा सहभागी भाइभारदारलाई यथोचित मर्यादा गर्ने उपर्युक्त नीतिका साथै नेपाली जातिको सांघुरो घेरालाई फराकिलो बनाउने कदम अगाडि बढाए । गतिलो हातहतियार नभए लडाइँ जित्न सकिँदैन भनेर बुझेका पृथ्वीनारायाण शाह काशीतर्फ गई आवश्यक हतियार र बारुद लिई साथमा हतियार बनाउने शेष जरबर, ममतकी, भेखा सिंह नामक तीनजना दक्ष मुसलिम कालिगढ लिएर गोर्खा फर्किन्छन् ।

तेस्रो चोटी आक्रमण गरी १८०१ नुवाकोटमा विजय हासिल गर्छन्, एकीकरण अभियानमा त्याग, वीरता र वलिदानको अपूर्व कीर्तिमान स्थापित गरियो । एकीकरण अभियान सिलसिलामा पृथ्वीनारायाण शाहले काठमाडौंको चन्द्रागिरि डाँडाबाट जुगाको ताउ लाउँदै उपत्यकालाई हात पार्ने मनोकांक्षा देखाउँछन् । विविध रजौटाहरूमा विभक्त राज्यहरूलाई एउटै झण्डामुनि गोलबन्द गर्ने काममा काजी कालु पाँडेको रणनीति र पृथ्वीनारायण शाहको कूटनीतिक चालबाजीका साथ उपत्यकाका सबै राज्यमाथि विजय हासिल गर्न पुग्छन् । यसरी पृथ्वीनारायाण शाह मानव सभ्यता र संस्कृतिको खानी नेपाल उपत्यकामाथि १८२५ मा विजय हासिल गरेपछि आधुनिक नेपाल निर्माणमा स्पातिलो जग बसाल्न सफल भए । उपत्यका विजयपश्चात् तत्कालै पृथ्वीनारायण शाहल नेपाल (काठमाडौं) उपत्यका छिरेर आफ्नो प्रभाव विस्तार गरिरहेका क्रिश्चियन पादरीलाई देश निष्काशनको आज्ञा जारी गर्छन् । इष्ट–इण्डिया कम्पनीको जासुसको रूपमा नेपालमा कार्यरत पादरीहरूले नेपाललाई विखण्डन गर्ने र धर्मको व्यापक धर्मान्त्रण गराई क्रिश्चियन देश बनाउने केपुचिन पादरीको षड्यन्त्रलाई चकनाचुर पार्न पृथ्वीनारायाण शाहले पादरीहरूको हुर्मत लिएका थिए ।

ADVERTISEMENT

पृथ्वीनारायाण शाहले उपत्यका विजयपश्चात् अमरसिंह थापाको नेतृत्वमा एकीकरण अभियानलाई पूर्वतिर बढाउँछन् र पूर्वका चौदण्डी, मोरङ विजयपुर प्रदेशमा विजय हासिल प्राप्त गर्छन् । आधुनिक राष्ट्र नेपालको रक्षाको खातिर चुनौती बनेका ब्रिटिश साम्राज्यवादको कायनीति र रणनीति बुझेका पृथ्वीनारायाण शाहले यसो भनेका थिए ‘ब्रिटिशहरू एक हातमा बाइबल र अर्को हातमा तरवार लिएर बस्छन् । यी क्रिश्चियन नेपाल भित्रिए भने यहाँको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता, धर्म संस्कृति परमपरामा नराम्रो दखल गर्छन्’ । यो कुरा बुझेर पृथ्वीनारायण शाहले नेपाल उपत्यकामा पहिलै छिरेका क्रिश्चियन पादरीहरूलाई देश निकाला गर्नुका साथै भविष्यमा प्रवेशमा समेत रोक लगाएका थिए ।

पृथ्वीनारायाण शाहले राष्ट्र एकीकरणमात्र गरेनन् उनले दिगो स्थिरता र समृद्धिका लागि केही महत्वपूर्ण चिर स्थायी कार्ययोजना समेत तय गरेर छाडेका छन् । जस्तै : यो राजे दुई ढुंगाको तरुल जस्तै रहेछ । विदेशको कपडा लगाउन मन्हाई गरी दिनु, आफ्ना देशका कपडा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु । आफ्नो देशको जिनिस र जडिबुटी विदेश लैजानु र नगद पैँचनु र प्रजा मोटा भया दरबार बलियो रहन्छ, राजाका भण्डार भन्याका रैतनहरू हुन् ।

घुष लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् । खानी भयाका ठाउँमा गाउँ भय पनि गाउँ अरू जग्गामा सारिकन पनि खानी चलाउनु, गाह्रो बस्या जग्गामा घर भया पनि घर अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नु आदि दीर्घकालीन महत्वका उपदेश एवं योजनाका कारण पृथ्वीनारायण शाह दूरदृष्टि विकास प्रेमी थिए भन्ने कुरा अझ सुस्पष्ट हुन्छ ।

एकीकरण अभियान चलाई रहेकै बखत प्रतिकूल स्वास्थ्यको घडीमा पृथ्वीनारायाण शाह आफ्ना भाइ भारदारलाई नुवाकोट दरवारमा भारदारी सभा डाकी सबैलाई मिलेर काम गर्न र आफ्नो अधुरोे बाँकी कार्यभार पूरा गर्न अर्ति उपदेश दिएका थिए ‘वडा दुःखले जोरेको अधिराज्यलाई देशका छोटाबडा सबैले साझा फूलबारी सम्झेर रक्षा गर्नु, भोग विलासतिर कोही नलाग्नु, आपसमा मेलजोल गरेर रहनु ।’ यसै सिलसिलामा अस्वस्थ राजा पृथ्वीनारायाण शाहको विसं १८३१ मा निधन भयो । उनको अधुरो सपना पूरा गर्न उनका उत्तराधिकार भाइभारदार–प्रताप सिंह शाह, रणबहादुर शाह, राजेन्द्रलक्ष्मी, बहादुर शाह, अमरसिंह थापा, भीमसेन थापा, बलभद्र कँुवर, दामोदर पाण्डे, रामकृष्ण रानालगायतको दलबलले एकीकरण अभियान जारी राखि नै रहे ।

राज्यस्तरबाट राष्ट्रिय भावना जागृत गराउँन राष्ट्रनिर्माता र विभूतिको सम्मानमा राष्ट्रिय पर्वको रूपमा उत्सव मनाउने कार्य गर्न अनिवार्य छ । यसो गर्न सकेमा राष्ट्रियतालाई थप मजबुत बनाउने आधार प्रसस्त हुन्छ र यही जगमा राष्ट्रिय एकता, शान्ति तथा समृद्धि प्राप्त गर्न सकिन्छ ।

विशेष त बहादुर शाह र अमर सिंह, भीमसेन थापाको विशेष नेतृत्वमा नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म फैलिरहेकै घडीमा अंग्रेजले नेपाललाई अन्तिममा मेचीपूर्वका र महाकाली पश्चिमका साथै तराईका केही भूभाग छोडेर सन् १८१६ मा सड्यन्त्रमूलक ढंगले सुगौली ड्राफ्ट गन बाध्य पारियो । जसबाट नेपालले धेरै भूभाग गुमाउनु पर्‍यो । नेपाल एकीकरणको पहिलो प्रयास पुनः एकीकरण अघिका विभिन्न कालखण्डमा युग पुरुषहरू राजा मानदेव, राजा यक्ष मल्ल, राजा जितारी मल्ल, राजा मुकुन्द सेनहरूले पनि गरेको ऐतिहासिक भूमिका नजरअन्दाज गर्न मिल्दैन । एकीकरणको पहिलो प्रयास मल्लकालीन नेपालमा भए तापनि यसले मूर्तरूप पृथ्वीनारायण शाहको पुनःएकीकरणको अभियान १८०१–१८७३ मा पाएकोमा इतिहाससिद्ध छ । यसरी उतार चढावका बाबजुत पृथ्वीनारायाण शाहले जगाएको एकीकरणको अभियानबाटै आज हामी शिर ठाडो पारी नेपाली भई बाँच्न सकेका छौँ ।

निष्कर्ष :
मुलुकको स्वर्णीम इतिहास स्मरण क्षमताबाट विचलित भइरहेको संघीन कठिन परिस्थितिलाई पार लगाउन नेपाल पुनःएकीकरण अभियान राष्ट्रिय एकताको मूल प्रवाहद्वारा अभिप्रेरित सार्वभौम नेपाल निरन्तरताको महायज्ञ हो । यो शाश्वत सत्य दल एवं सम्बद्ध पक्षहरूले राष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय सहमतिको दिशा बोध भन्ने सबैले बुझनुपर्छ । मूल मार्ग छोडेर समयको प्रवाहलाई नबुझ्नेहरू आफैं किनारा लाग्नेछन् । छद्म प्रतिरोधी अभ्यासको सारमा तात्पर्ययुक्त निष्कर्ष कसैले पनि पाउँन सक्दैन । समयमै सम्बद्ध पक्ष सचेत रहनु नै उपयुक्त हुन्छ ।

मूल मार्ग छोडेर समयको प्रवाहलाई नबुझ्नेहरू आफैँ किनारा लाग्नुको विकल्प छैन । यो शाश्वत सत्य समयमै बुझ्नु उपयुक्त हुन्छ । हाम्रो राष्ट्रिय समस्याको दिशाबोध तथा समाधानको चुरो यसैनुरूप छ भन्ने आत्मसाथ गर्नुपर्छ । राज्यस्तरबाट राष्ट्रिय भावना जागृत गराउँन राष्ट्रनिर्माता र विभूतिको सम्मानमा राष्ट्रिय पर्वको रूपमा उत्सव मनाउने कार्य गर्न अनिवार्य छ । यसो गर्न सकेमा राष्ट्रियतालाई थप मजबुत बनाउने आधार प्रसस्त हुन्छ र यही जगमा राष्ट्रिय एकता, शान्ति तथा समृद्धि प्राप्त गर्न सकिन्छ । यही नै पृथ्वीनारायाण शाहलगायत विभूति एवं सहिदहरूले निर्दिष्ट गरेका राष्ट्रिय एकताको मार्ग निर्देशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *