संसदको पहिलो बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको पहिलो बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ ।

ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद बैठक सञ्चालन गर्नुहुनेछ । सभामुख चयन नहुँदासम्म जबराले नै संसद बैठक चयन गर्नुहुनेछ ।

सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

ADVERTISEMENT

संघीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस २६ गते अर्थात् मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । उक्त कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार माघ ९ गतेभित्र सभामुख र उपसभामुख चयन गरिसक्ने राजनीतिक दलहरूको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *