वर्तमान राजनीतिका अपेक्षा र सम्भावना

हिमालय टाइम्स कालिकोट, संवाददाता

नेपालको राजनीति अब कुन बाटोबाट अघि बढ्दै छ भन्ने त्यति सजिलै ठम्याउन सकिने अवस्था छैन । किनकि, राजनीतिज्ञहरू हिजो हिँडेको बाटो आज हिँड्न चाहँदैनन् र हिजो बोलेको कुरा आज पालना गर्दैनन् । त्यस कारण नेताले यस्तो बोले अब त्यही अनुसार हुन्छ भन्ने कुरामा विश्वस्त भएर बस्न पनि सकिँदैन । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन सत्तारुढ गठबन्धन भत्काएर म कुनै हालतमा नयाँ गठबन्धनमा जान्न भनेको केही दिनमै उहाँ प्रधानमन्त्री बन्न एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हाल मिलाउन पुग्नुभयो र आफ्नो विद्यमान गठबन्धनलाई भताभुङ्ग बनाइदिनुभयो । उहाँको दल तेस्रो स्थानमा छ । त्यसैले अहिलेका लागि म विपक्षमै बस्छु भन्न उहाँले सक्नुपथ्र्यो, त्यसो भन्न उहाँले सक्नुभएन ।

यसैबाट थाहा हुन्छ हाम्रा नेताहरूको पदलोलुपता । नेपाली कांग्रेस पार्टीको भन्दा एक तिहाइ कम स्थानमा प्रतिनिधिसभामा जितेका दाहालले नेपाली कांग्रेससँग पनि आफू प्रधानमन्त्री बन्न पाउनुपर्छ भनेरै माग गर्नुभएको थियो र उहाँको माग कांग्रेसबाट पूरा हुन नसक्ने थाहा भएपछि बालकोटमा ओलीसँग गठबन्धन गर्न पग्नुभयो । त्याग र सेवाभाव होइन स्वार्थप्रेरित राजनीति हुँदोरहेछ भन्ने एउटा दृष्टान्त हो यो तर उहाँका लागि पनि यो बाटो सजिलो चाहिँ छैन । उहाँले विश्वासको मत लिन बाँकी नै छ । पर्सि २६ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्तैछ । त्यही दिन सरकारले विश्वासको मत लिने भन्ने चर्चा छ ।

अहिलेका लागि त नेपाली कांग्रेसबाहेक प्रायः सबैको सहमतिमा उहाँ प्रधानमन्त्री बन्नुभएको छ तर विश्वासको मत लिन नसकेका खण्डमा उहाँको अवस्था इतिहासका छोटो समय सत्तामा बस्ने प्रधानमन्त्रीहरूकै जस्तो नहोला भन्ने छैन । यस सन्दर्भमा इतिहासका देवशमशेर, डा.के. आई सिंंह, लोकेन्द्रबहादुर चन्दहरूकै जस्तो छोटो अवधिका प्रधानमन्त्रीहरूकै जस्तो हुनेछ । किनकि अहिले नेकपा एमाले प्रतिनिधिसभामा दोस्रो ठूलो पार्टी बनेको छ । यस पार्टीको मत निर्णायका हुन्छ । एमाले हिजोका आफ्ना कदमहरूबाट बिच्किएका पार्टीहरूलाई अहिले सुम्सुम्याएर पछि प्रतिशोध लिन पछि पर्दैन कि भन्ने देखिएकै छ । अहिले खेलाएर पाँच दलीय गठबन्धन भत्काउन एमाले सफल भयो भोलि त्यसैगरी प्रचण्डलाई थाङ्नामा सुताइदिन बेर लाउँदैन भनेर प्रचण्डले अनुमान गर्नु भएको छ कि छैन ?

ADVERTISEMENT

एमालेले नेकपा समाजवादीलाई राष्ट्रपतिको लोभ देखाएर आफ्नो पार्टीमा मिलायो भने एमाले नै सबैभन्दा ठूलो दल बन्न पुग्छ । अनि यस सरकारले विश्वासको मत लिन नसक्नासाथ ठूलो दलको हैसियतले सरकारमा जान पाउने सम्भावनालाई आत्मसात गर्दै अघि बढेर एमाले प्रधानमन्त्री हात पार्ने रणनीतिमा हुनसक्छ । यदि यसो भयो भने एमालेको सबै अभिष्ट पूरा हुनेछ । आफ्नो पार्टी सत्तामा पुग्ने आफ्नै पार्टीबाट प्रधानमन्त्री बन्ने, नेपाली कांग्रेस र माओवादी पार्टीहरूसँग प्रतिशोध पूरा गर्न पाउनेलगायत सबै साध्यहरू संसद्मा प्रचण्डको सरकरालाई विश्वासको मत नदिने साधनका माध्यमबाट पूरा गर्न सक्छ ।

यसबाट राजनीतिक पार्टीहरूले त आफ्नो बुद्धिचालको खेल सञ्चालन गरिरहन सक्लान् तर जनता भने कोही आएर केही होला भन्ने दीर्घ प्रतीक्षामै जहिले पनि बसिरहनुको कुनै विकल्प हुनेछैन । के देशले यसबाट कहिल्यै छुटकारा नपाउने नै हो त ? जनताको २६ गतेको प्रतीक्षा यस अर्थमा कुनै फलदायी हुन सक्ला भन्ने कुरामा सन्देह नै छ । विश्वासको मत पुर्‍याउन राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्छ भन्ने डा.बाबुराम भट्टराईको भनाइ यस सन्दर्भमा अर्थपूर्ण बन्न सक्छ ।

तर, उता प्रधानमन्त्री दाहालले संघीयता र गणतन्त्रविरोधी शक्तिहरूसँग गठजोर गर्नु बाध्यता हो भन्नुभएको छ । उहाँको यो बाध्यता कस्तो खालको हो ? आपूm प्रधानमन्त्री बन्नकै लागि मात्र होइन यो बाध्यता ? सत्ताका लागि सबै मरिमेट्दारहेछन् भन्ने कुरा राप्रपा सरकारमा जाने र स्वतन्त्र पार्टी सरकारमा गइसकेको अवस्थाले पुष्टि भएको छ । उहाँहरू प्रतिपक्षमै बसेर आफू अझै लोकप्रिय बन्न सक्नु हुँदैनथ्यो ? जो होस् राजनीतिक पार्टीहरू जनताका काममा समर्पित बन्न सकून् र जनताले आपूmले मतदान गरेर ठीकै गरिएछ भन्ने अनुभूति गर्न पाउने अवस्था सिर्जना होस् । जनताको चाहना त्यतिमात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *