श्री स्वस्थानी व्रतकथाको पौराणिक महत्व

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 11 mins

काठमाडौं । हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ ।

विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ । उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ ।

स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्ष्या पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ ।

श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

अष्ट मातृका अर्थात् आठ वटा देवीको बीचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

शुद्ध चित्त अनि सफा संकल्प लिएर भक्ति अनि श्रद्धा सँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।

वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यता क्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोशमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ‘ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दु भएको दस्ताबेजहरूमा उल्लेख छन् ।

यी अष्ट मातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्त्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अंक शुभ अंकका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबिचको संवाद छ । स्वस्थानी व्रत कथामा शिव भगवानका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनि बिचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ-ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि’

श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।

प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।

ADVERTISEMENT

स्वस्थानी व्रतालुहरू काठमाडौंको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ । यो शाली नदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।

सतीदेवी दक्ष प्रजापतिकी छोरी हुन् । दक्ष प्रजापति यज्ञ चलिरहँदा अन्य देवगण अघिल्तिर सतीदेवीकी पति आराध्य देव भगवान् महादेवको अपमान गर्छन् । आफ्नो पति महादेवको अपमान सहन गर्न नसकी आवेगमा सतीदेवीले अग्नि कुण्डमा हाम फालेर देह त्याग गर्छिन् ।

सतीदेवीको जल्दै गरेको लास बोकी महादेवले भाव विह्वल हुँदै देश–देशान्तर परिक्रमामा गर्छन् । यसरी परिक्रमा गर्दा सतीदेवीका शरीरका अंगहरू क्रमैसँग धर्तीमा पतन हुँदै जान्छन् । उनको शरीरका अङ्गहरू पतन भएका ठाउँमा एक शक्ति पीठ कायम भएको विश्वास गरिन्छ । सतीदेवीका अंगहरू पतन भएका ठाउँहरू पछि शक्ति पीठका रूपमा चिनिन्छन् ।

सतीदेवीको शरीरको अन्तिम अंश झरेर गुह्येश्वरी शक्ति पीठ बनेको विश्वास गरिन्छ । त्यस्तै उनको कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको मानिन्छन् । जम्मु कश्मीरको त्रिसन्देशवर पीठमा सतीदेवीको घाँटी झरेको र यस्तै श्रीलंका अनि बंगलादेशमा धेरै शक्ति पीठहरू अझै छन् । दैलेख जिल्लाको नाभि खोलाको तीरमा सतीदेवीको नाभि पतन भएको विश्वास गरिन्छ । त्यो ठाउँमा परापूर्व कालदेखि ज्वाला बलिरहेको मन्दिर छ, जसलाई ज्वाला स्थान भनिन्छ ।

हिमालय पुत्री पार्वतीले शिवको वर पाउँ भनी श्री स्वस्थानी माताको व्रत बसेकाले शिव भगवानसँग विवाह भएको उल्लेखित छन् । गोमा ब्राह्मणीको वृद्ध ब्राह्मणसँगको विवाह प्रसंगलाई लिएर धेरैले स्वस्थानी व्रत कथालाई सामाजिक मुद्दामा जोड्दै नारी समानताका सवालसहित व्याख्या गर्छन् । तर सनातन कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लगाउनु उचित नहोला ।

गोमा ब्राह्मणीको कथाले प्राचीन समयमा पनि बालविवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै बालविवाहबारे जनचेतना फैलाइनु पर्छ । यौन अनि प्रजनन स्वास्थ्यबारे पनि खुलेर उदाहरणसहित व्याख्या गरेको यो व्रत कथाले गणेशको शिर भेदन, संसारको सृष्टि अनि शिव–पार्वती सम्बन्धका विषयमार्फत धेरै ठाउँमा नारी–पुरुषबीचको लैगिक समानताको वकालत पनि गरेको छ ।

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्छ । व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर–किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन–कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।

स्वस्थानीको कथाभित्र आउने लगभग सबै तीर्थस्थलहरु विशेषगरी काठमाडौंभित्रै पर्दछन् । जस्तै गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरुको स्वस्थानीको कथामा उल्लेख गरिएका स्थानहरु हुन् ।

३१ भागमा विभाजन गरिएको स्वस्थानी व्रतकथाका केहि कथाहरु स्कन्दपुराणबाट लिएकाछन् त्यसैले प्रत्यक अधायको अन्तमा इति श्रीस्कंदपुराणे केदारखंडे माघ्मात्म्य श्रेस्वस्थानी व्रताकथायाम‘ भन्ने गरिन्छ ।

स्वस्थानी व्रतकथा पहिला नेवारी भाषामा लेखिएको थियो, लगभग पांच सय वर्षयता मात्र नेपालीमा लेखिएको भनेर उल्लेख गरेको पाइन्छ । उक्त व्रत पहिला नेवार समुदायले मनाउने गरेको पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *