भैरहवा । भारतीय माछासँग प्रतिस्पर्धा गर्न उत्पादन लागत घटाउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । मत्स्य बीज उत्पादक, मत्स्य प्रजननकर्ता, अनुसन्धानकर्ता, शिक्षण संस्था तथा मत्स्य प्राविधिक विषयक समवय गोष्ठीमा बोल्दै सहभागीहरुले माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउन चुनौती रहे पनि माछाको गुणस्तरीय बीजले उत्पादन लागत घटाउन सकिने बताए ।
मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र भैरहवाको आयोजनामा भएको समन्वय गोष्ठीमा बोल्दै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक डा.परवेज आलमले माछा नै मानवको लागि प्रोटिनको स्रोतको रुपमा २० प्रतिशत योगदान दिँदै आएको बताउनुभयाे । माछाको सांस्कृतिक, धार्मिक, आर्थिक र औषधीय महत्व रहेकाले प्राकृतिक जलाशय र स्थानीय माछाको संरक्षण प्रवर्द्धनको काम अगाडि बढाउँदै प्रोत्साहन गर्नुपर्ने उहाँकाे भनाइ छ ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवाका क्याम्पस प्रमुख रामभजन मण्डलले सर्वसाधारणले सुद्ध नश्लको माछा हो भनी पहिचान गर्नसक्नेमा लाग्नुपर्ने बताउनुभयाे । गुणस्तरीय बीज कसरी उपलब्ध गराउने विषयमा केन्द्रित भई कसरी बढी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयाे । उहाँले नेपाल जलस्रोतमा धनी भए पनि भरपूर रुपमा उपभोग गर्न नसकेकाले नै अहिलेसम्म २ प्रतिशत मात्रै जल प्रयोग भएको बताउनुभयाे । हजारौ हेक्टर जलस्रोत प्रयोगविहीन अत्यधिक प्रयोग गरी त्यसतर्फ माछापालन गरेर पनि माछा उत्पादन बढाउन सकिने उहाँकाे भनाइ छ ।
मत्स्य विज्ञ तथा पूर्वसहसचिव रमानन्द मिश्रले चार महिनाअघि मात्रै लागू भएको राष्ट्रिय मत्स्य विकास नीतिले माछा पालन र संरक्षणमा धेरै आयाम ल्याउनेमा विश्वस्त रहेको बताउनुभयाे । उहाँले खुला सीमा चुनौतीको रुपमा रहे पनि किसानहरुको भविष्य सुनिश्चत गर्दे गुणस्तरीय बिजबाट उत्पादन पनि बढ्ने र लागत घटेर प्रतिस्पर्धा गर्न सकिने बताउनुभयाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव यमनारायण देवकोटाले यो क्षेत्र माछाका लागि भविष्य बोकेको क्षेत्र भए पनि २७ प्रतिशत माछा प्रदेशकै लागि नपुगेर आत्मनिर्भर नरहेको बताउनुभयाे । यसका लागि प्रदेश सरकारले पनि विस्तार गर्न प्राकृतिक जलाशयका लागि रकम विनियोेजन गरी उत्पादन वृद्धिमा लागेको उहाँले बताउनुभयाे ।
दुई दिनसम्म चल्ने समन्वय गोष्ठीमा मत्स्य नीति र हाल प्रक्रियामा रहेका मत्स्यसँग सम्बन्धित अन्य नीति, ऐन तथा नियमावलीमा मत्स्य बीजको गुणस्तर व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी व्यवस्था विषयक केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । यस्तै, इम्प्रुभ रोहु माछाको वर्तमान अवस्था तथा भावी सम्भाव्यता विषयमा मत्स्य मानव संशाधन विकास तथा प्रविधि परिक्षण केन्द्र जनकपुरका प्रमुख रविलाल शर्मा, मत्स्य शुद्ध नश्लको अनुसन्धानतर्फको वर्तमान अवस्था, सकारात्मक उपलब्धि तथा भावी योजना विषयमा मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा.एकबाल हुसेन र मत्स्य शुद्ध नश्लको ट्यागसहितको फ्युचर ब्रुडको वर्तमान अवस्था तथा वितरण प्रक्रियाको विषयमा मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोतकेन्द्र भैरहवाका प्रमुख महेशचन्द गुप्ताले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts