भन्सारमा रहेका सवारी छिटो जाँच गर्न आग्रह

Read Time = 4 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरी नेपालका भन्सार नाकामा जम्मा भएका सवारीसाधनको भन्सार जाँच पासका सम्बन्धमा विस्तृत छलफल गरेको छ । छलफलमा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिका कारण अटोमोबाइल व्यवसायी धरासायी हुने अवस्थामा पुगेको भन्दै बैंकलगायतका वित्तीय निकायहरूले लगाएको उच्च ब्याजदर, अटोलोन हायर पर्चेज कर्जामा जोखिम भार एक सय ५० प्रतिशतमा पुर्‍याइएको, बैंकबाट निजी सवारीसाधन हायर पर्चेज लोन प्रवाह प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्‍याइएका कारण बजारमा सवारीसाधन बिक्री हुन नसकेकाले सवारीसाधन आयातकर्ताले भन्सारमा आइपुगेका सवारीसाधनको भन्सार जाँच पास गर्न नसकेको बताउनुभयो । उहाँले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधन बिक्रीसमेत दुई तिहाइले घटेको जानकारी दिनुभयो ।

नाडाका पूर्वअध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेका सबै कागजात पेश गर्दा पनि भन्सार जाँच पासमा कठिनाइ भइरहेको गुनासो गर्नुभयो भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोरोनाकालमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेको भन्दै नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने र कम्प्युटर बिलिङलाई अनिवार्य गर्नुपर्ने बताउनुभयो । टु हिृवलर समितिका सभापति अभिक ज्योतिले उच्च ब्याजदरका कारण मोटरसाइकल आयातमा ५० प्रतिशतले कमी आएको बताउनुभयो भने राजस्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारीसाधन एसेम्बल प्लाण्ट खोल्न फिजिबिलिटी नभएका सवारीसाधन आयातले सवारीसाधनको एसेम्बल प्लाण्ट खोल्न फिजिबिलिटी भएका कम्पनीहरूसँग मिलेर आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

ADVERTISEMENT

महानिर्देशक बुढाले सरकारलाई राजस्व संकलनको दवाब परिरहेको भन्दै विभागले व्यवसायीको माग यथासम्भव सम्बोधन गर्ने आश्वासन दिनुभयो । उहाँले नेपालका भन्सार नाकामा आइसकेका सवारीसाधनको यथासम्भव भन्सार जाँच पासका लागि आग्रह गर्दै नेपालका भन्सार नाकामा कुन–कुन ब्राण्डका के-कति सवारीसाधन छन्, त्यसको तथ्यांक उपलब्ध गराउन सुझाव दिनुभयो ।

छलफलमा भन्सार विभागका उपमहानिर्देशकद्वय डिलाराम पन्थी, यज्ञराज कोइराला, सूचना अधिकारी पुण्यविक्रम खड्का, निर्देशकद्वय रामप्रसाद रेग्मी, रामप्रसाद मैनाली र कृष्ण बस्नेतलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज