अक्करिलो भीरमा भविष्य खोज्दै आलम्पुवासी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखाको उत्तरी भेगमा पर्ने बिगु गाउँपालिका-६ आलम्पुका बासिन्दाहरू गाउँभन्दा ठिकमाथि रहेको अक्करिलो विशाल भीरमा आफ्नो भविष्य खोजिरहेका छन् । थामी जातिको घनाबस्ती रहेको आलम्पुका थामीहरू २०१३ सालदेखि यही अक्करिलो भीरमा भविष्य खोजिरहेका हुन् । विक्रम संवत २०१३ सालदेखि गाउँभन्दा माथि रहेको ठूलो भीरको काखबाट ज्यान नै जोखिममा पारेर भए पनि आलम्पुका थामीहरूले घर छाउन तथा ओछ्यान अनि घरका गाराहरूमा टाँस्नसमेत प्रयोग गरिने स्लेट निकालेर जीवन गुजारा गरिरहेको बिगु गाउँपालिका-६ का वडाध्यक्ष टहलबहादुर थामीले बताउनुभयो । भीरबाट निकालेका ढुंगाले नै विगतमा यहाँका मानिसको चुलो बल्ने गरेको उहाँको भनाइ छ ।

विकट भीरमा पुगेर पत्रे ढुंगा निकाल्नका लागि गाउँलेहरूले पहिला ठाउँ भाग लगाउँछन् अनि भाग लगाइएका ठाउँहरूमा समूह बनाएर स्लेट निकाल्ने गर्दछन् । पहिलेदेखि चलिआएको यो परम्परा अहिलेसम्म पनि कायमै रहेको आलम्पुका स्थानीय प्रतमान थामीले बताउनुभयो । २०७२ सालको विनाशकारी भूकम्प आउनु अघिसम्म यहाँका स्लेटको माग ठूलो मात्रामा रहेको थियो । पहिले आलम्पुको स्लेटले छानो छाएका घरहरू बनाउनु इज्जतको विषय थियो । जस्ताको छानोमा खिया लाग्ने र चाँडै मक्किने भएकाले मानिसहरूको रोजाइमा स्लेट नै पर्थे । जिल्ला तथा जिल्ला बाहिरसमेत आलम्पुका स्लेटको माग ठूलो थियो । यहाँका मानिसहरू रोजगारीको लागि खासै बाहिर नजाने गरेको अर्का स्थानीय पंखलाल थामीले बताउनुभयो । तर, अहिले समय बदलिएको छ । भूकम्पपछि ढुंगा खानीको गाउँको रूपमा परिचित आलम्पुका घरहरूमा समेत जस्ताको छाना लगाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको क्रममा प्राविधिकहरूले वजन बढी हुने हुनाले जस्ता लगाउन सल्लाह दिएका कारण गाउँका छाना जस्तामय बन्न पुगेको वडाध्यक्ष थामीको भनाइ छ । ‘प्राविधिकले नै जस्ताको छाना लगाउन सिफारिस गरेपछि सरकारले घर निर्माणको लागि दिने राहत नपाइएला भनेर गाउँका सबैले जस्ता लगाए ।’ वडाध्यक्ष थामीले हिमालय टाइम्ससँग भन्नुभयो, ‘गाउँ नै कुरूप देखियो ।’ खानी भएको गाउँमा जस्ताको छाना देख्दा आफूलाई विरक्त लाग्ने गरेको स्थानीय प्रतमान थामीको दुःखेसो छ । यति हुँदाहुँदै पनि कतिपयले नयाँ बनेको घरको दाँती (छानोको तल्लो हार) मा भए पनि स्लेटले छाएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

अहिले पनि स्थानीयहरू खानीबाट छाना छाउने तथा भुइँमा ओछ्याउने तथा भित्तामा टाँस्न मिल्ने खालका स्लेट सीमित मात्रामा निकालिरहेका छन् । तर, गौरीशंकर संरक्षण क्षेत्रले समयमा निकाशी पुर्जी उपलब्ध नगराउँदा स्लेट निकासी गर्न स्थानीयहरूलाई समस्या भएको वडाध्यक्ष थामीले बताउनुभयो । गौरीशंकर संरक्षण क्षेत्रले कानुनी झन्झट उत्पन्न गरेका कारण सीमित भए पनि आम्दानीको स्रोत रहेको स्लेटखानी सञ्चालन हुन नसक्दा गाउँका युवाहरू विदेशिने क्रम बढेको उहाँको भनाइ छ ।

‘गौरीशंकर संरक्षण क्षेत्रले खानी दर्ता गरी सञ्चालन गर्न भनेको छ । खानी दर्ता प्रक्रिया ज्यादै झन्झटिलो रहेछ ।’ वडाध्यक्ष थामीले भन्नुभयो, ‘हामी खानी विभागदेखि अन्य सम्बन्धित निकायहरूमा पनि पुग्यौँ । सामान्य मानिसका लागि यो असम्भव जस्तै रहेछ ।’ कानुनी तथा प्रक्रियागत झन्झटका कारण अहिले खानी पूर्ण रूपमा सञ्चालन गर्न नसकिएको कारण युवाहरू गाउँबाट विदेश पलायन भएकाले यसलाई रोकेर रोजगारीका अवसर यहीँ सिर्जना गर्नका लागि सरलरुपमा खानी दर्ता गर्ने व्यवस्था गर्न सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष थामीले बताउनुभयो । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले भने वातावरणीय प्रभाव मूल्यांकन गरी त्यसको रिपोर्ट अनुसार खानी दर्ता गरी संचालन गर्न स्थानीयहरूलाई भन्दै आएको छ ।

खानी भएको स्थानसम्म जानका लागि सामान्य कच्ची सडक स्थानीय तहले बनाइदिएको छ । विद्युत् लाइन पनि खानीनजिक पुगेको छ । सहज ढंगले खानी दर्ता गरी सञ्चालन गर्ने व्यवस्था गरिएमा स्थानीयस्तरमा रोजगारीको सिर्जना भई स्थानीय युवाहरू विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयहरूको विश्वास छ । खानीबाट निकालिएका स्लेटहरूलाई आधुनिक प्राविधिको प्रयोगगरी अलिकति फिनिसिङ दिने हो भने यो राजस्थानी मार्वलको विकल्प हुने सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?