स्वीकृतिबिनै कूटनीतिक नियोग र नेतासँग नभेट्न सुरक्षा निकायका पदाधिकारीलाई गृहको निर्देशन

अटेर गरे कारबाही गर्ने चेतावनी

डिबी शर्मा
डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । गृह मन्त्रालयले विभागीय स्वीकृति नलिईकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कूटनीतिक नियोगहरूमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै विभागीय स्वीकृतिबिना नेता र कूटनीतिक नियोगहरूसँग भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने चेतावनीसमेत दिइएको छ । ‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै यस निर्देशनविपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ सुरक्षा अधिकारीहरूले सरुवा बढुवाका लागि नेताहरूका घर धाउने गरेका छन् ।

मापदण्डविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता
मापदण्डविपरीत विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । बिहीबार साँझसम्म देशभरका विभिन्न ठाउँबाट विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी ९१ र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अझै मापदण्डविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रम जारी छ । फिर्ता हुने क्रम शुक्रबार र शनिबारसम्म जारी रहने उहाँले बताउनुभयो । गृह मन्त्रालयले मंगलबार सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई मन्त्रालयले निर्देशन दिएको थियो ।

ADVERTISEMENT

बुटवलका डिएसपी ठगबहादुर केसी निलम्बित
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँको चेकसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थापाथलीको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहसँग सहयोग
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन समन्वय गर्न मन्त्रालयसँग अनुरोध गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहयोग नगरेपछि महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेर बस्ती हटाउन समन्वय गर्न आग्रह गरेको हो । ‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ,’ पत्रमा भनिएको छ, ‘जसको लागि त्यहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’ बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको महानगरको भनाइ छ । मंसिर १२ गते बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा महानगरले बस्ती हटाउन खोजेको थियो । बस्ती हटाउनका लागि प्रहरी प्रशासनबाट सहयोग नभएको भन्दै महानगरको नेतृत्व रुष्ट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?