एक निराशावादीले हरेक अवसरमा कठिनाइ देख्छ भने एक आशावादीले हरेक कठिनाइमा अवसर देख्छ । कांग्रेसका लागि यो समय अत्यन्त संकटको समय हो । मिलेका साथीले छाडेर गएका छन् भने आफैँभित्र पनि कलह उत्पन्न गराएको छ । यही भुँमरीमा कांग्रेस फस्दै गयो भने झन् ठूलो खाडलमा फस्दै जान्छ भने यसलाई पाठका रूपमा लिएर अघि बढ्यो भने नसोचेको फाइदा प्राप्त हुन पनि सक्दछ । यो समयलाई संगठन गर्ने अवसरका रूपमा हेर्न सके भने कांग्रेसलाई भविष्यमा सफलता हात लाग्ने कुरामा कुनै शंका छैन ।
चुनावअघि नै पाँच दलले गठबन्धन गरेका कारण कतिपय जित्ने उम्मेदवारले हारे भने कतिपय हार्नेहरूले जिते । शून्यमा पुग्न लागेका कतिपयको अस्तित्व जोगियो भने माथि उकासिएका तल झर्नसमेत बाध्य बने । कोही राजनीतिमा लामो योगदान, त्याग र तपस्या गरेर पनि सकिए भने राजनीतिका नाममा सिन्को नभाँचेकाहरू पनि धेरै माथि पुगे । राजनीति सेवा हो र सेवाका लागि आधारभूत मानवीय चरित्र कस्तो हुनुपर्दछ भन्ने थाहै नपाएकाले पनि ठाउँ पाए भने जीवन नै संघर्षमा उत्सर्ग गरेका घरैमा बस्न बाध्य हुनुपर्ने परिस्थिति पनि यही गठबन्धनले बनाएको छ ।
गठबन्धन नगरे जित्नै नसक्नेहरूका लागि सुनमा सुगन्ध बनेको छ गठबन्धन । पाँच वर्षका लागि सांसद् पद सुरक्षित गरेर बिदा भएको छ गठबन्धन । गठबन्धन नभए पनि जित हासिल गर्न सक्नेहरूका लागि चुनाव झन् बढी सुरक्षित भएकोमा त्यसै खुशी मिलेको थियो । मन्त्री हुने अवसर गुमाए पनि राजनीतिको सर्वोच्च थलो संसद्मा पुगेका कारण सांसद् भएकाहरूलाई त गठबन्धन भत्किँदा कुनै असर परेको छैन होला तर एउटा सोच बनाएर मतदान गरेका मतदाताले अर्कै परिणाम हात पर्दा भने ज्यादै ठूलो चोट दिएर गएको छ गठबन्धन ।
यो परिस्थिति देउवाले सिर्जना गरे कि प्रचण्डले ? यसमा गल्ती कसको हो ? भन्ने कुराको जवाफ समयले देला तर गठबन्धनमा रहेका माओवादीबाहेकका सबैलाई भने वर्तमानमा सिर्जित राजनीतिक परिस्थितिले अवाक बनाएको छ ।
मेरो परिवार प्रत्यक्ष राजनीति गर्ने परिवार होइन । हजुरबा छँदा कांग्रेसका नेताहरू हाम्रा घरमा पुगेका थिए भन्ने सुनेको थिएँ भने विसं २०१५ सालमा सम्पन्न निर्वाचनमा पिताजी नेपाली कांग्रेसको एजेन्ट बसेदेखि प्रजातन्त्रप्रति समर्पित रहँदै आएको परिवार चाहिँ हो । रगतको संस्कार भने झैँ राजनीतिमा होमिएको नभए पनि लोकतन्त्रप्रति अगाध आस्था देखाउँदै आएको भने हो । लोकतन्त्रका लागि कांग्रेस लड्छ र कांग्रेसबाटै नागरिक अधिकार, स्वतन्त्रता र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास राख्दै आएको परिवार हो ।
फलस्वरूप मैलेमात्रै होइन, मेरी ९० वर्षकी आमाको समेत भोट नेपाली कांग्रेसको निर्णय बमोजिम माओवादीकी उम्मेदवार ओनसरी घर्तीमै गयो । संसदीय निर्वाचनमा जीवनको पहिलो भोट हाल्दै गरेका मेरा छोरा र छोरीलाई समेत फकाई फुल्याई नेपाली कांग्रेसको निर्णय बमोजिम नै मत हाल्न प्रेरित गरेँ । यसअघि पनि म बसेको वडामा नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवार थिएन । कांग्रेसले भने बमोजिम नै घरमा भएका पाँचै भोट कलम चिहृनमा खसालियो ।
म, मेरी आमा र मेरी श्रीमती आजका मितिसम्म नगरेको काम गर्न बाध्य भयौँ भने मेरा छोराछोरीलाई त उनीहरूको जीवनको पहिलो मात्रै होइन कि मतदान गर्न पाएको खुशी नै रूख चिहृनमा परेन । भोलि तिनीहरूलाई रूख चिहृन कमजोर भयो भने लोकतन्त्र धरापमा पर्छ भनेर कसरी सिकाउने भन्ने चिन्ताले सताउन थालेको छ ।
चुनाव सकिएको केही दिनपछि मेरा नातेदार घरमा आए । मैले हँसिया हथौडामा भोट दिएको भनेर मेरो उल्लीबिल्ली गरे । आफूले त दिनुभयो भयो तर ९० वर्षकी आमाको किन दिलाएको भन्दै उडाए । म नाजवाफ भएर बसेको थिएँ तर आमाले नै उत्तर दिनुभयो-बाबुले माओवादीलाई दिएका होइनन्, देउवालाई जिताउन त्यसो गरेका हुन् भन्नुभयो । त्यो भोट देउवालाई नै दिएको हो । अर्थात् अप्रत्यक्ष रूपमा नेपाली कांग्रेसको निर्णयलाई आत्मसात् गरेर मतदान गर्नु भनेको रूखमा मत दिएसरह नै हो भनेर आमाले व्याख्या गरिदिनु भयो ।
यस्तो घटना मेरा घरमा मात्रै घटेको होइन । ७७ जिल्लाका नेपाली कांग्रेसमाथि विश्वास गर्ने मतदाताहरूले यही प्रकृतिको समस्या झेल्नु प¥यो । १६५ क्षेत्र र ३३० प्रदेशमै लगभग यस्तै भयो । कुनै कुनै जिल्लामा मात्रै लोकतन्त्रका समर्थक भन्नेले रूख चिहृनमा मात्रै मतदान गरेर बस्ने अवसर पाए । स्थानीय चुनावमा समेत यस्तै नै भएको थियो । चितवन जिल्लाका बासिन्दालाई त विसं २०७४ को स्थानीय तहको र संघीय तहको आमनिर्वाचनमा समेत यही दुर्नियति भोग्नुपरेको थियो । हुन त माओवादी र एकीकृत समाजवादीका समर्थकले पनि आफ्नै चिहृनमा मात्रै मत दिएर बस्न पाएनन् तर उनीहरूले दिएको मत संविधानका समर्थकका पक्षमा गएका कारण त्यति पछुताउनुपर्ने अवस्था रहेन ।
नेपाली कांग्रेस एक्लै लड्दा के हुन्थ्यो ? यति सिट आउँथ्यो कि आउँदैनथ्यो ? संसद्को सबैभन्दा ठूलो दल हुन्थ्यो कि हुँदैनथ्यो भन्ने जस्ता प्रश्नहरूको उत्तर त अनुमानित मात्रै हुन्छ । त्यसो त माओवादी र एकीकृत समाजवादीको पनि के हालत हुन्थ्यो भन्ने पनि कल्पना नगरौँ तर अहिले उत्पन्न परिस्थितिले भने नेपाली कांग्रेसबाहेक अन्यत्र जीवनभर मत हाल्दिन भनेर बसेकाहरूलाई भने पछुतो भएको छ । यो परिस्थिति देउवाले सिर्जना गरे कि प्रचण्डले ? यसमा गल्ती कसको हो ? भन्ने कुराको जवाफ समयले देला तर गठबन्धनमा रहेका माओवादीबाहेकका सबैलाई भने वर्तमानमा सिर्जित राजनीतिक परिस्थितिले अवाक बनाएको छ ।
गठबन्धनमा बसेर चुनाव गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विवाद अहिले गर्ने बेला होइन किनकि त्यो समय उहिल्यै सकिइसकेको छ तर आगामी निर्वाचनदेखि यसो गर्ने कि नगर्ने भन्ने पाठ राजनीतिक दलहरूलाई राम्रैसँग पढाएर अहिलेको पाँच दलीय गठबन्धन बिदा भएको छ । गठबन्धन भत्कँदा पाँचपटक प्रधानमन्त्री भएका देउवा छैटौं पटक हुन पाएनन् । यता भए पनि उता भए पनि तेस्रो पटक प्रधानमन्त्री हुन पाउने प्रचण्ड जसरी पनि बनिहाले । कोही पाँचौं पटक मन्त्री बने होलान्, कसैको चौथो पटक बन्ने अवसर गुम्यो होला तर मतदाता भने पछुताउँदै जीवन बिताउनुपर्ने अवस्थामा रहे । एकीकृत समाजवादीलाई अन्यमनस्क बनाएर माओवादी बाहिरियो ।
कांग्रेसको सरकार भए पनि सामान्य नागरिक, माओवादीको प्रधानमन्त्री भए पनि साधारण जनता या एमालेको राज्य हुँदा पनि सर्वसाधारणका रूपमा रहनुपर्ने मतदाता अहिले पनि उही नै हुन् । नेताको दौराका फेरो समाएर माथि उक्सने दाउ बनाएकाहरूलाई मात्र यो वा त्यो हुँदा फरक पर्ने हो । मात्र के भयो भने भ्रष्टाचार गरेको हाकिम पक्राउ पर्दा जस्तो हुन्छ, नेपाली कांग्रेस समर्थकलाई त्यस्तै भयो । पक्राउ परेपछि भ्रष्टाचारीको न इज्जत रहन्छ न धन नै । त्यस्तै रूख छाडेर अन्यत्र मत दिएका मतदाताहरूको अवस्था बन्न पुगेको छ । न आफ्नो पुरानो मर्यादा रहृयो, न मतदान गर्दाको अपेक्षा नै हात लाग्यो ।
यद्यपि नेपालको राजनीति स्थिर कहिल्यै हुन सकेको छैन । राजनीतिक दलहरूका बीचको तालमेल कहिल्यै स्थायी हुन सकेको पाइँदैन । अझ विशेषगरी कम्युनिष्ट भनिएका नेताहरूका बीचको सम्बन्ध त कहिले जुट्छ र कसरी टुट्छ भन्ने कुरा दैवले पनि अनुमान लगाउन सक्दैन । केपी ओली र प्रचण्डका बीचमा गाँसिएको सम्बन्धको आयुका बारेमा पनि अहिल्यै कसैले कति दिगो हुन्छ भनेर ठोकुवा गर्न सक्दैन । दुई वर्ष टिक्यो भने धन्न भन्ने राजनीतिक विश्लेषकहरू आजभोलि नै देखिन थालिसकेका छन् । त्यसैले नेपाली कांग्रेस पाँच वर्षकै लागि प्रतिपक्षमा पुग्यो भनेर निष्कर्ष निकाल्न कम्युनिष्ट नेताहरूका विगतका आनीबानीले दिएको छैन तर जनताले सोचेको यस्तो प्रकृतिको राजनीतिक स्थायित्व पक्कै होइन ।
नेपालको राजनीति स्थिर कहिल्यै हुन सकेको छैन । राजनीतिक दलहरूका बीचको तालमेल कहिल्यै स्थायी हुन सकेको पाइँदैन । अझ विशेषगरी कम्युनिष्ट भनिएका नेताहरूका बीचको सम्बन्ध त कहिले जुट्छ र कसरी टुट्छ भन्ने कुरा दैवले पनि अनुमान लगाउन सक्दैन ।
तथापि केही बिग्रेको छैन । अहिले भएको गल्तीलाई पार्टी सभापति शेरबहादुर देउवाले सूक्ष्म अध्ययन गरी त्यसलाई सुधार गर्ने प्रयास गरे भने पछुताएका समर्थकमा आशाको बत्ती बल्न सक्दछ । आफूलाई गुमराहमा राखेर यो हालतमा पुर्याउने को को हुन् भनेर तीबाट टाढिँदै कांग्रेसका प्रतिनिधिले उनका सहयोगीका रूपमा खटाएकाको साथ लिए भने केही समयमै कांग्रेसमाथि उठ्न सक्दछ । अर्थात्, उपसभापति, महामन्त्रीहरू, सहमहामन्त्रीहरूलाई पराई देखेर पदाधिकारी बाहिरको कोटरी निर्माण गर्दा भएको कमजोरीलाई आत्मसात् गरी वैधानिक सहयोगीलाई अगाडि बढाउने प्रयास भएमा कांग्रेसले गुमेको साख फर्काउन त्यति गाह्रो पर्ला जस्तो लाग्दैन ।
लोकतन्त्रवादीहरूमा आशा जगाउन अब नेपाली कांग्रेस सदैव एक्लै चुनाव लड्छ भन्ने विश्वास दिलाउन जरुरी छ । लोकतन्त्रवादीहरूले अबदेखि रूखबाहेक अरू कुनै चुनाव चिहृनमा मतदान गर्नुपर्ने छैन भन्ने विश्वास दिलाउन सकेमात्रै पनि पुनर्जागरण हुन समय लाग्दैन । अर्थात् प्रतिपक्षमा रहँदा संगठन निर्माणमा पार्टीका सक्रिय र इमानदारलाई परिचालन गर्न सक्यो भने र अर्को निर्वाचनसम्ममा लोकतन्त्रको लहर ल्याउन सक्यो भने कांग्रेस र लोकतन्त्रवादीहरूको हित त्यसैमा हुनेछ ।






