अलैंची उत्पादन बढ्दा किसानलाई राहत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

खोटाङ । चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा यहाँको एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैंची लगाइएको र यसबाट ६१० मेट्रिकटन उत्पादन भएको छ । खोटाङमा आर्थिक वर्ष २०७८/०७९ मा ५८५ मेट्रिकटन अलैंची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैंचीको उत्पादकत्व ०.५७ पुगेको जिल्ला कृषि ज्ञानकेन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।

चालु आर्थिक वर्ष पुरानो बगानमा अलैंची उत्पादन घटे पनि नयाँ बगानमा बढेको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैंचीको उत्पादन बढेको कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयो । जिल्लामा अलैंची खेतीका लागि योग्य एक हजार दुई हेक्टर जमिनमध्ये एक हजार ६४ हेक्टरमा खेती लगाउने गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिकटन, आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिकटन र आर्थिक वर्ष २०७५/०७६ मा ५४० मेट्रिकटन अलैंची उत्पादन भएको थियो ।

उत्पादित अधिकांश अलैंची सरदर प्रतिमन ३०-३५ हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ । कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने प्रतीक्षामा छन् । भण्डारणमा राखेको अलैंचीको भाउ निरन्तर ओरालो लाग्दा कुनै समय प्रतिमन एक लाखसम्ममा अलैंची बिक्री गरेका किसान अहिले निराश छन् । जिल्लामा उत्पादित अलैंची धरान र झापाको बिर्तामोड, भारत हुँदै अन्य देशमा पुग्ने गरेको छ । अलैंची खरिदका लागि ठेकेदार ट्याक्टर लिएर किसानका घर-घरमा पुग्ने गरेका छन् ।

खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची निकासीबाट हरेक वर्ष जिल्लामा करोडौं रकम भित्रिने गरेको छ । कतिपय एउटै वडाबाट समेत करोडभन्दा बढीको अलैंची निकासी हुने गरेको छ । अलैंचीको दाना वा बेर्ना बिक्रीबाट सयौं किसानको आर्थिकस्थितिमा परिवर्तन आएको छ । अलैंची खेतीबाटै किसानले मन लागेको खाने, लाउने र बस्ने हैसियत बनाएका छन् ।

ADVERTISEMENT

अलैंचीकै आम्दानीका कारण कतिपयले आफूलाई शहरबजारमै स्थापित गराएका छन् । तर, हालसम्म कुनै पनि स्थानीय सरकारले अलैंची किसानमैत्री नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो छ । अन्य खेती मासेर अलैंची खेतीमा लागेका किसानको उत्साह जगाउनका लागि सरकारले अलैंचीको बजारभाउ तोक्नेदेखि निर्यातको जिम्मा लिनुपर्ने केपिलासगढी गाउँपालिका-३ बासपानीका किसान ध्रुवराज राईले बताउनुभयो ।

केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैंचीका बोट झुल्न थालेका छन् । भाउ घट्दा पनि अन्य खाद्यबालीको तुलनामा अलैंचीकै आम्दानी बढी हुने गरेको किसान बताउँछन् ।

मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग गरिने अलैंचीको खेती जिल्लाका ६४ वडाका विभिन्न जग्गामा गर्न सकिने सम्भावना छ । थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले दशकयता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदै गएको रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका किसान हात्तीराम राईले बताउनुभयो । ‘अलैंचीको आम्दानीसँग अन्य बालीनालीको आम्दानी तुलना हुनै सक्दैन,’ उहाँले भन्नुभयो, ‘भाउ नपाउँदा पनि किसानका लागि अलैंचीकै आम्दानी बढी हुन जान्छ ।’ किसानमा अलैंचीको खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको अभाव भने खड्किएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?