सुरक्षा निकायमा स्वदेशी पोशाक प्रयोग गर्न आग्रह

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी उद्योगी व्यवसायीका समस्याका साथै सीमा क्षेत्रमा भइरहेको अवैध कारोबार रोक्न आग्रह गरेको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बुधबार गृहमन्त्री लामिछानेसँग भेट गरी यस्तो आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताउनुभयो । केही बाहेक अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको उहाँको भनाइ थियो ।

सरकारले विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा कडाइ गर्दा पनि अटोमोबाइलबाहेक अन्य वस्तु बजार अभाव नहुनुले मुलुकमा अवैध कारोबार बढिरहेको पुष्टि गरेको भन्दै अवैध कारोबार रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजस्व गुमाइरहेको र उद्योगी निरुत्साहित भएको सिएनआईले जनाएको छ । साथै उसले मेक इन नेपाल स्वदेशी अभियानको सुझावअन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीको पोशाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

ADVERTISEMENT

सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारीरूपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधैं उच्च प्राथमिकतामा राख्ने पनि बताउनुभयो । गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘व्यापार, व्यवसाय, उद्योग, वाणिज्य क्षेत्रका साथीहरूलाई मन्त्रालयमा रातो कार्पेट विछ्याउनेछौँ । उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौँ । उद्योगी व्यवसायीहरू राष्ट्रका मेरुदण्ड हुन् । उहाँहरू हल्लिनुभयो भने मुलुकको अर्थतन्त्र पनि हल्लिन्छ र हामीले केही पनि गर्न सक्दैनौँ भन्नेमा हामी स्पष्ट छौँ । सोहीअनुसार हाम्रो मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा गर्नेछ ।’

उहाँले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिँदै भन्नुभयो, ‘मैले स्वदेशी वस्तुमात्रै लगाउने भनेको छु, सुरु पनि गरिसकेको छु । स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको छु ।’

सो अवसरमा गृहमन्त्री लामिछानेलाई सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, परिसंघ जिल्ला तथा प्रदेश समन्वय समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज