ठमेल क्षेत्रमा अव्यवस्थित तार हटाउँदै प्राधिकरण

Read Time = 4 mins

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थितरूपमा तानिएका विद्युत्, केबल टिभी, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन सुरु भएको छ । ठमेल पर्यटन विकास परिषद्को सक्रियता, नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा तार व्यवस्थापनको काम सुरु भएको हो ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थितरूपमा तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्ड्याइएका उपकरणका कारण ठमेल कुरूप बनेको छ । प्राधिकरणले गत कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र शहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट प्रदायकलाई आफ्ना संरचना निर्माण÷व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो ।

सोहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरण हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रलाई सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरण निकालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायतको उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

ADVERTISEMENT

कार्यकारी निर्देशक घिसिङले विद्युत्को तत्कालका लागि नांगो तार फेर्ने, बांगो र मक्किएका पोल हटाएर राम्रो पोल राखी ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अव्यवस्थित तारको गुजुल्टोका कारण शहर कुरूप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रवाह प्रभावित भएको छ, शहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको होे, मुख्य शहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यवस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरि नै सञ्चालन गरिरहेका छौँ ।’

प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरण पोलको एउटैमात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अन्य उपकरण तत्काल हटाउनुपर्नेछ । पोलमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तार तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुण्ड्याउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकले आफ्ना तार सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्नेछ भने पोलमा जडित उपकरणमा समेत मार्किङ गर्नुपर्नेछ । सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?