✍️ विमल भौकाजी
यथास्थितिले देशको उत्थान हुँदैन भनेर होला, यही सिद्धान्तमा राजनीतिक परिवर्तनसँगै देशभित्रैका संरचनाहरू फेरबदल गरिए । कम्तिमा, कतिपय ठाउँहरूको नाममात्रै नै भए पनि फेरिए । भादगाउँ बदलिएर भक्तपुर बन्यो, कान्तिपुर बन्यो काठमाडौं । यही क्रममा कहीँ सिद्धार्थनगर बन्यो, कहीँ वीरेन्द्रनगर बन्यो । राजमार्गलाई लोकमार्ग बनाइयो । पछि आएर, रत्नपार्क बदलिएर शंखधर पार्क बन्यो ।
यतिसम्म पनि भन्न लागियो, पुराना चिजबिज भत्काएपछि मात्रै नयाँ निर्माण हुन्छ रे । कतिसम्म भने, पचपन्न झ्याले दरबारमा एउटा अर्को झ्याल थपेर छपन्न झ्याल बनाएपछि वा नौ तलाको धरहरालाई अर्को तला थपेर दशतले बनाएपछि अथवा बाइस धारामा अर्को एउटा थपेर तेइस धारा बनाएपछि विकास गरेको ठहरिन्छ । यसभन्दा पनि अघि बढेर, देशको झण्डा नै बदल्ने, त्यतिले नपुगेर देशको नाम नै बदल्ने हो भने देशको विकासले फड्को नै मार्छ कि झैँ पनि बहस गरियो । तर, इतिहासदेखि हेर्दै जाँदा त अलिक फरक तथ्य पो थाहा लाग्यो । देशमा स्थापित नाम चलेका कलकारखानाहरू विस्थापित गरिदिएपछि पो देशविकास गरिएको ठहरिएको हो कि क्या हो ! किनकि तत्कालीन राज्यव्यवस्थाले आफ्नो कार्यकालमा कलकारखाना बन्द गरिदिनुमा गर्व गरेका देखिए ।
होइन भने देशमा किन शासन सत्ताले यसरी कलकारखाना बन्द गर्दै गएर आफूले देश विकास गरेको अनुभूति गरेको ? उहिल्यैको विराटनगर जुटमिल हेरौँ । त्यसपछि जनकपुर चुरोट कारखाना । अनि बाँसबारी छाला जुत्ता कारखाना, गोरखकाली रबर उद्योग, हिमाल सिमेन्ट कारखाना, हेटौँडा कपडा उद्योग, बालाजु कपडा उद्योग, हरिसिद्धि इटा-टायल कारखाना । औँला भाँच्दै जाऊँ !...कतिपय त नामै बिर्सिसकियो ।
नाम चलेका या नचलेका देशको आर्थिक क्षेत्रलाई टेवा दिएका वा नदिएका जति पनि कलकारखानाहरू बन्द भए, ती सबैलाई एउटा इतिहासमात्रै मानौँ । सच्चा नागरिकले हेर्ने भनेको वर्तमानलाई हो । त्यसैले वर्तमानको कुरा गरौँ !
तर चिन्ता नगरौँ ! नाम चलेका या नचलेका देशको आर्थिक क्षेत्रलाई टेवा दिएका वा नदिएका जति पनि कलकारखानाहरू बन्द भए, ती सबैलाई एउटा इतिहास मात्रै मानौँ । सच्चा नागरिकले हेर्ने भनेको वर्तमानलाई हो । त्यसैले वर्तमानको कुरा गरौँ ! वर्तमानको कुरा गर्दा एउटा शुभसमाचार छ देशवासीका लागि । हो, सबैलाई आश्चर्य चकित बनाउने खालको एउटा उद्योग खोलिएको छ देशमा । विश्वास गर्नुस्, इतिहासका सम्पूर्ण कलकारखानालाई मात खुवाउँदै छ त्यो उद्योगले । जुन उद्योगको नाम हो- नेपाल ऊन उद्योग ।
यो उद्योगका शाखा-प्रशाखाहरू देशभरि नै फैलिएका छन् । कहीँ रिक्त स्थान रहने छैन, सातै प्रदेशमा यो उद्योग खोलिएका छन् । जसका लागि आवश्यकीय कच्चा पदार्थ पनि देशभित्रै उत्पादन गरिन्छ । नपत्याउनु भएको ? हेर्नुस् त, देशभित्र यति बिघ्न भेडाहरू जन्मेका या जन्माइएका छन् कि गनेरै साध्य छैन । जब एउटा भेडालाई हामी देख्न पुग्छौँ त्यसको पछि-पछि अर्को भेडा देखिहालिन्छ, फेरि अर्को, फेरि अर्को... लस्कर लागेर आइहाल्छन् ।
भेडाको जातै त्यस्तो ! एउटा भेडो जुन बाटो हिँडेको छ अरू पनि त्यसकै पछि लागिहाल्छन् ।
-एउटा भेडाले ‘भ्या...’ गरे अरू पनि कराइहाल्छन्- भ्या... ।
-कुनै अर्को भेडाले नारा लगाए अरू पनि सँगसँगै नारा लगाउन सुरु गरिहाल्छन् ।
-फेरि कुनै भेडाले झण्डा उचाले अरू भेडाले पनि सँगसँगै झण्डा उचालिहाल्छन् ।
-कुनै भेडाले मसाल सल्काएर सडकमा दौडियो भने अरू भेडा पनि मसाल बोकेर दौडिहाल्छन् ।
-फेरि कहीँ एकै ठाउँ जम्मा हुन पाए भने सय होइन हजार होइन लाखौँको संख्यामा जम्मा हुन सक्छन् । र, त्यसरी जम्मा भइसकेपछि के दिन के रात मासु-भातमा मस्तले रमाएर बस्न सक्छन् । बस्नेमात्रै होइन बुरुक्क-बुरुक्क उफ्रन्छन्, गीत गाउँछन्, ताली पिटी-पिटीकन वा मादल बजाई-बजाई नाच्छन् । गज्जबको छ भेडाहरूको चरित्र ! खास गरेर झोले भेडाहरूको कार्यकलापको बखान गरी साध्य छैन ।
-कार्यालयको चउर भन्दैनन्,
-पार्टीको अफिस भन्दैनन्,
-नदीको किनार भन्दैनन्,
-प्रदर्शनीस्थल भन्दैनन्
-अथवा राजधानीको होस् कि प्रमुख नगरहरूमा होस् ट्राफिक जाम गरेर मूल सडक या राजमार्गहरूमा जताततै देखिन्छन्-भेटिन्छन् भेडाहरू ।
कहिले ‘चक्काजाम’ गरिदिन्छन् रकहिले ‘चारभञ्ज्याङ’ त कहिले ‘देश’ नै बन्दगरिदिन्छन् । यसरी, व्यापार-व्यवसाय, यातायात, बैंक, विद्यालय सबै ठप्प पारिदिन्छन् । गजबको छ तिनको नियत ! अरूको अधिकारसँग त तिनको कुनै सरोकार नै हुँदैन । अरूको आवाज सुन्ने चलनै हुँदैन तीसँग । के कुरा गर्नु र खोइ भेडाहरूको ! विना कारण वा ससाना निहूँ झिकेर आफू-आफूमै लड्न पनि तयार, अरूसँग जाइलाग्न पनि तयार ।
अरू त अरू, हातमा लाठी लिएर कर्तव्यबोधमा उभिएका प्रहरीसँग जिस्किन खूब मजा मान्छन् भेडाहरू । प्रहरीको जत्थामाथि कहिले ढुंगा फ्याँक्छन्, कहिले इँटा त कहिले सिसाका बोतल फ्याँक्छन् । र, त्यही जिस्काइ-जिस्काइमै रणसंग्राम गर्छन् । हुँदा-हुँदा घरेलु हतियारसम्मको प्रयोग गरेर सर्वत्र आतंकित गराउने काम गर्छन् ।
जे होस्, देशको ओद्योगिक क्षेत्रलाई भने टेवा पुर्याउने कर्तव्य चाहिँ पूरा गरेका छन् भेडाहरूले । अब हेर्दै जानुस्, देख्दादेख्दै देश आत्मनिर्भर हुनेछ । यही ऊन उद्योग नै यसका लागि पर्याप्त हुनेछ । भेडाबाट हुने उत्पादनका कारण विदेशबाट गरिने ऊनको आयात ठप्पै हुनेछ । त्यति मात्रै होइन, ऊनबाट निर्माण हुने सबै किसिमका रेडिमेड सामग्रीहरूको आयात पनि रोकिने छन् । यस हिसाबले, स्वदेशमै स्थापित यो उद्योगले यस्तो रङ देखाउने छ कि नेपालको आर्थिक क्षेत्र पूरै कोल्टे फेर्न गई देश-विकासको किरण देखिने मात्रै होइन, सम्पूर्ण देशको मुहारमा घाम झुल्किने छ । हो, यत्ति एउटै ऊन उद्योगले बन्द भएका सम्पूर्ण कलकारखाना-उद्योगहरूको क्षतिपूर्ति गर्नेछ ।
महाशय, तपाईं पनि ऊन उद्योगमा जागिर खान जाने कि ? bimalbhaukajee@hotmail.com







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts