काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आहृवान गर्नुभएको छ । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आहृवान गर्नुभएको हो । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आहृवान गरेको छु ।’
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आहृवान गर्ने संवैधानिक व्यवस्था छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुसार बैठक आहृवान गरिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले पुस २५ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको राष्ट्रपतिले आहृवान गर्नुभएको बैठकमा उपस्थित हुन सबै माननीय सदस्यलाई अनुरोध गर्नुभएको छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलोपटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र चार स्वतन्त्र सांसदको प्रतिनिधित्व रहनेछ ।
यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी छ । संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा प्रधानमन्त्रीले कम्तीमा बहुमत (१३८) पाउनुपर्ने हुन्छ । दाहाल सरकारलाई अहिले प्रतिनिधिसभाका १६९ सांसदको समर्थन रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts