पाल्पाको सदरमुकाम तानसेन सम्भावनाले मात्रै होइन, आफैंमा ऐतिहासिक ठाउँ हो । यहाँ थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । यो पश्चिम नेपालको एकमात्र ऐतिहासिक शहरूको रूपमा परिचत छ । यहाँ ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शीतलपाटी (गोलो घर), यहाँका लोकप्रिय पर्यटकीयस्थल हुन्भने ढाका र करुवा यहाँका मुख्य चिनारी हुन् । शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो । मगर भाषामा ‘तानसेन’ शब्दको अर्थ ‘उत्तरी बस्ती’ हुनाले यो शहरूको नाम तानसेन राखिएको हो ।
कृषि र पर्यटन यहाँको मुख्य आम्दानीका स्रोत हुन् । यो नगरपालिकाको नेतृत्व अहिले नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठले गर्नुभएको छ । स्वास्थ्य, शिक्षा र प्रशासनिक क्षेत्रको लामो अनुभव संगाल्नुभएका श्रेष्ठ अहिले कृषि र पर्यटनमार्फत नगरको समृद्धिमा जुट्नुभएको छ । संविधानले स्थानीय तहलाई सरकारका रूपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन् । जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय तहले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरूण प्रशस्तै छन् । तानसेनमा पनि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका क्षेत्रमा काम गरेर नमुना बनाउने कामको थालनी नगर प्रमुख श्रेष्ठले गर्नुभएको छ । तानसेनको विकास, सम्भावना, योजना र चुनौतीबारे नगर प्रमुख सन्तोषलाल श्रेष्ठसँग पाल्पा हिटा संवाददाता रामचन्द्र रायमाझीले गरेको कुराकानीको सम्पादित अंश :-
नगर प्रमुखमा निर्वाचित भएपछिका तपाईंका योजना र प्राथमिकता के-के हुन् ?
पर्यटन र कृषि मेरो पहिलो प्राथमिकता हो । यहाँका नागरिकहरूको जीवनस्तरमाथि उठाई नगरलाई समृद्ध बनाउन पर्यटन र कृषिलाई हामीले मुख्य प्राथमिकता दिएर काम गरिरहेका छौं । जबसम्म पर्यटनर कृषिको विकास हुँदैन तबसम्म यहाँका नागरिक समृद्ध बन्न सक्दैनन् । त्यसका लागि हामीले यहँको कृषिलाई व्यवसायीकरण र पर्यटकीय क्षेत्रहरूको उचित संरक्षणर प्रवद्र्धन गर्ने गरी नीति तथा कार्यक्रम ल्याएका छौं । तानसेन आफैंमा पर्यटकीय शहरू हो । यहाँका पुराना र ऐतिहासिक सम्पदाहरूको उचित संरक्षण गर्दै नयाँ पर्यटकीय तथा धार्मिक स्थलहरूको समेत विकास गर्ने छौं । यहाँका अर्गेली, माडीफाँट, दमकडा जस्ता क्षेत्रहरू कृषिको उर्वरभूमि मानिन्छन् । ती क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउने योजना हाम्रो छ । परम्परात कृषिलाई व्यासायिक बनाउने सकियो भने यहाँका नागरिकको जीवस्तर समेतमाथि उठ्न सक्छ । तानसेनमा पर्यटन र कृषिका क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।
यसअघिको नेतृत्वले यी क्षेत्रलाई समेट्न सकेन भन्ने हो ?
यसअघिको नेतृत्वले धेरै कुरा समेट्न सकेको छैन । लिखित रूपमा धेरै कुरा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्न सकेको देखिएन । अब हामीले कुराभन्दा काम गरेर देखाउनु छ । हामीले नगरभित्र रहेका खेतीयोग्य खाली जमिन भाडामा लिने योजना पनि बनाएका छौँ। त्यहाँ खेती गराएर केही व्यक्तिलाई रोजगारी पनि दिन सकिन्छ । यहाँ अवसर छ तर ‘ग्यारेन्टी’ नहुँदा युवा विदेश गइरहेका छन् ।
व्यावसायिक कृषिको सुनिश्चिता भएपछि युवाले यहीँ काम गर्छन् । खेती गरेर रोजगारी बढाउन सकियो । विदेश नजान र विदेशमा रहेका युवालाई यही तान्न पनि सकियो । नगरवासीलाई स्वच्छ र ‘अर्गानिक’ तरकारी खुवाउन पनि सकियो । अर्कोतर्फ यहाँका ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शीतलपाटी (गोलो घर) जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूको उचित संरक्षणसँगै प्रचारप्रसार गरी धेरैभन्दा धेरै आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने दीर्घकालीन योजना हामी बनाएका छौं । हामी क्रममशः देखिने र जनताको जीवनस्तर परिवर्तन गर्ने गरी काम गर्छौ ।
खस्कँदो शिक्षाको अवस्थार सुधार गर्न योजना के छन् ?
हो, तानसेन सबैभन्दा पुरानो र काठमाडौंपछिको शैक्षिक हवका रूपमा चिनिएको शहरू हो । विगतमा तानसेन शैक्षिक केन्द्रका रूपमा अगाडि थियो । तर दुःखको कुरा तानसेनको भौतिक विकास र रोजगारका अवसरहरू सिर्जना गर्न नसक्दा पछिल्लो समय यहाँको शैक्षिक गतिविधि कम हुँदै गएको छ । शैक्षिक अवस्था खस्कँदै गएकोप्रति हामी अत्यन्त गम्भीर छौंं । यहाँको शैक्षिक विकासका लागि नगर सरकार एक्लैले सम्भव छैन । त्यसका लागि प्रदेश र संघीय सरकारको समेत ध्यान जानुपर्छ । हामीले सीमित स्रोतसाधनको परिचालन गरी यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा लागेका छौं । नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गर्न हामी विशेष कार्यक्रमहरू ल्याएका छौं ।
विद्यालयको स्तरोन्नति स-साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ। विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ। पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ। विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ। प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विशेषज्ञमार्फत शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ । यसले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ ।
स्वास्थ्य क्षेत्रलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
तानसेनमा युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालले विगतदेखि सेवा दिँदै आएका छन् । तर यी स्वास्थ्य संस्थाहरूले समयानुसार सेवा दिन भने सकिरहेका छैनन् । हामी यिनीहरूको सेवा विस्तारका लागि सहयोगी भूमिका निर्वाह गर्न चाहन्छौं । स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार हो । त्यसका लागि यी स्वास्थ्य संस्थामा मात्र हामी सीमिति हुनु हुँदैन । हामीले नगरभित्र रहेका सबै स्वास्थ्यचौकीलाई सुविधा सम्पन्न, गुणस्तरी सेवा प्रदान गर्ने गरी व्यवस्था गर्दैछौं । स्वास्थ्यचौकीहरूमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । त्यहाँबाट रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा ६ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ । यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ ।
अव्यवस्थित पार्किङलाई कसरी समाधान गर्नु हुन्छ ?
हो, तानसेन आफैंमा सांघुरो छ । यहाँका सडकहरू अत्यन्त साँघुरा भएकै कारण ट्राफिक व्यवस्थापन र पार्किङको अत्यन्त समस्या छ । हामी यस विषयमा अत्यन्त चिन्तित पनि छौं । यहाँकको पार्किङ व्यवस्थापनका लागि हामीले तानसेनका मुख्य–मुख्य ठाउँहरूमा जग्गासमेत लिजमा ल्याएका छौं । जस्तो कि रेडक्रस भवन नजिकै रहेको फूलबारी, नारायणस्थान, टक्सारटोल लगायत खाली जग्गाहरूमा पार्किङका लागि जग्गा व्यवस्थापन गरिसकेका छौं । त्यस्तै मिसनमा पार्किङको व्यवस्था मिलाएका छौं ।
खानेपानी समस्या कसरी समाधान गर्नु हुन्छ ?
नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको हो । हामी त्यसमा सचेत छौं । तर तानसेनमा विगतदेखि नै खानेपानीको समस्या छ । त्यसका लागि हामीले पहल नगरेको पनि होइन । अहिले कालिगण्डकीको पानी परिक्षणकै रूपमा रहेकाले हामी हेरिरहेका छौं । विगतदेखि यहाँको खानेपानी व्यवस्थापनको जिम्मा उपभोक्ता समिति लिँदै आएको छ । तर बेला बेलामा समितिप्रति प्रश्नहरू उठ्ने गरेका छन् । हामीले खानेपानीको व्यवस्थापनमा गम्भीर बन्न उपभोक्ता समितिलाई पटक-पटक आग्रह पनि गर्दै आएका र्छाैं । अब पनि यस्तै अवस्था रहेमा स्थानीय सरकार आफैंले जिम्मा लिने गरी अगाडि बढ्नेछ । जुनसुकै अवस्थामा पनि हामी तानसेनवासीलाई स्वच्छ खानेपानी दिन प्रतिबद्ध छौं ।
काम गर्न चुनौती के छन् ?
काम गर्दै जाँदा चुनौतीहरू आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा महत्वपूर्ण हो । यहाँ जग्गा अभावका कारण व्यवस्थित र स्वच्छ शहरू बनाउन चुनौती छ । यहाँका अधिकांश ग्रामीण क्षेत्रका जनता गरिबिको रेखामुनि रहेको हुँदा तिनीहरूको जीवनस्तरमा वृिद्ध गर्नु, बसाइँसराइ दर उच्च रहेकाले त्यसलाई नियन्त्रण वा न्यूनीकरण गर्नु, साना तथा घरेलु उद्योगहरूको संरक्षण गर्नुजस्ता कुरा चुनौतीका रूपमा देखिएका छन् । यी विभिन्न चुनौती हुँदाहुँदै यहाँ अत्यधिक मात्रामा अवसर रहेका छन् । यहाँ कृषीजन्य उत्पादन राम्रो हुने हुँदा व्यावसायिक रूपमा कृषि पेशा अपनाई आर्थिक वृद्धि गर्ने, यहाँका पर्यटकीय क्षेत्रहरूको विकास गरी पर्याप्त आम्दानी गर्ने, करुवा र ढाका उद्योगको उचित व्यवस्थापन, संरक्षण गरी रोजगार सिर्जना गर्न सकिने जस्ता अनगिन्ति अवसर यहाँ उपलब्ध रहेका छन् ।
अन्त्यमा केही भन्नु छ कि ?
मलाई नगरवासीले मत दिएर नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरूको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन् । एक्लो प्रयासले मात्रै विकास सम्भव हुँदैन । त्यसैले पाल्पाका नौवटै स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । हामीले तानसेनलाई नमुना बनाउन सकेमा देशका अन्य पालिकालाई पनि प्रेरणा हुनेछ । विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैंको साथ र सहयोग प्राप्त हुने नै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच