✍️ डा. नारायणप्रसाद निरौला
सूर्यका तेजश्वी किरणलाई पनि आज चिसो वादलले चुनौति दिइरहेको छ । शीतकालीन समयमा उदाएका सूर्यमा त्यो ग्रीष्मकालीन उष्णता नपाएर नै होला आजको परिवेश भिन्न भएको छ । न्याना वस्तुहरू निरन्तर किनवेचका माध्यम बनिरहेका छन् । तातो विशेष आकर्षणको केन्द्र बनिरहेको छ । प्रकृतिको वरदान हो या अभिशाप यो त भोग्ने व्यक्तिमा नै भरपर्छ । तर शीतानुभूति सबैलाई भएकै छ । सबै प्रतिरक्षाका निम्ति जुटिरहेका छन्, सक्नेले जितेका छन् अनि नसक्ने हार खाएर निरन्तर कठ्याङ्ग्रिरहेका छन् ।
समयको दौडानसँगै मन पनि निरन्तर विथोलिरहेको हुन्छ । आकाशमा चम्केका ताराजस्तै मनमा सम्पन्नताका तारा चम्किरहन्छन् तर ती परिस्थितिको कोलमा पेलिएर केवल पिना मात्र बनेपछि मन कठ्याङ्ग्रिनु स्वभाविक पनि हो । विचारको गर्तमा भासिदा भासिँदै स्वयं जीवन नै भासिएपछि ऋतु हेमन्तको हेपाइ अनि शिशिरको सिरेटो स्वयंमा सारथी बन्न पुगेपछिको मन केवल कठ्याग्रिनुको विकल्परहित हुन्छ । अभावको अगुल्टोले निरन्तर डामिरहँदाको मन किन निरन्तर नपिरोलियोस् ? सुदूर भविष्यका सपना जति बुने पनि वर्तमानको वेगले विचलित बनेपछि ओसिनु स्वभाविक पनि हुन्छ । समयका चक्र निरन्तर परिवर्तन भइरहन्छन् । आजको जस्तो हिजो थिएन र भोलि रहँदैन पनि । तर आजको जस्तो भोलि खोज्नु व्यर्थ हुन्छ । किनकि आजको भन्दा भोलि मौसममा केही वदली भएकै हुन्छ यही वद्लावलाई जान्न नसक्नु नै आज र भोलि निरन्तर कठ्याङ्ग्रिनु हो ।
मनमा निरन्तर अभावका अस्थिर अवयवहरू चलायमान हुन्छन् । उही शून्यताभाषको वादल निरन्तर आकाशमा मडारिरहन्छ अनि वरिपरिका दृश्यजन्य परिवेशसँग जीवनलई तुलना गर्दै दिन व्यतीत हुन्छन् । कुनै न कुनै समस्याको सीयोले घोचिरहेको हुन्छ । समस्यै समस्याको खातमाथि खात लागेपछि पनि मान्छेले हाँस्नु पर्छ ।
बोल्न जति सजिलो छ त्यसलाई कर्यमा उतार्न निकै गाह्रोे हुन्छ । कथनी र करणी फरक कुरा हुन् । निराशामा पनि आशाको उपर्ना ओड्ने यत्न निरन्तर भइरहन्छ हुनु पनि पर्दछ । जीवन दर्शनका ठेली पल्टाएर मात्र हुँदैन, कर्मको वेदीमा नचडी फलको आश गर्ने मन नै विचलित हुन्छ र चिसोसँगै कठ्याङ्ग्रिन्छ पनि । उडान थुप्रै हुन्छन् । जहाँ पनि प्रत्यक्षको अनुभूतिकै आशा हुन्छ । अनेकौ आडम्बरमा भन्दा पनि यथार्थमा बाँच्न खोज्ने मनले वास्तबमै सन्तोषको सास फेर्न नसक्दा मानसिक रोगको शिकार भएको हुन्छ मान्छे । समय परिवर्तित छ । हिजोका विधि नियम आज छैनन् भोलि पनि यिनै मूल्य र मान्यता रहँदैनन् । त्यसैले समयानुसार शीतको मात्रा बुझेर न्यानोको व्यवस्था गर्न सकिएन भने मन केवल कठ्याङ्ग्रिरहन्छ ।
मनमा निरन्तर अभावका अस्थिर अवयवहरू चलायमान हुन्छन् । उही शून्यताभाषको वादल निरन्तर आकाशमा मडारिरहन्छ अनि वरिपरिका दृश्यजन्य परिवेशसँग जीवनलई तुलना गर्दै दिन व्यतीत हुन्छन् । कुनै न कुनै समस्याको सीयोले घोचिरहेको हुन्छ । समस्यै समस्याको खातमाथि खात लागेपछि पनि मान्छेले हाँस्नु पर्छ । नियतिका चक्रलाई चिन्न सक्नु नै जीवन हो । जीवनमा हाँसो खुशी एक अर्काका परिपूरक हुन् । खुशी को उत्साह भन्दा दुःखको निराशा निकै गहिरो हुन्छ । खुशी हुन सबैकुरा भुल्नु पर्छ भने दुःखी हुन सबैकुरा संझनाम आउछन् । मनालाई व्यथित तुल्याउछन् । मनको विरेचन पनि आवश्यक हुन्छ । निश्चित् मात्रमा विरेचित भएपछि नै मनले नयाँ गति लिनसक्छ । निरन्तर अभावै अभावको ओखलको घान बने पनि चित्तलाई स्थिर बनाएर सहनपूर्वक नयाँ शक्तिमा रूपान्तरण गर्नसक्नु नै जीवन हो । ‘सहना ववतु.....’ उपनिषद्मा त्यत्तिकै भनिएको होइन । यही पनलाई पावन बनाउनु जीवनको लक्ष हो । ओसिएको मनलाई ताताउने यत्न नै जीवन हो । तात्छ नै भन्ने हुँदैन । जस्तो पर्छ त्यसमा डटेर अघिबढ्नसक्ने सामथ्र्यको निर्माण नै नकठ्याङ्ग्रिनु हो ।
मान्छेमा अहं भर्ने अनि मन उडाउने पहिलो तत्व धन हो । धनसँगै मनका आवश्यकतामा वृद्धि हुन्छ । अकांक्षाको अरिङ्गालले चिल्छ अनि त्यही रनाहामा मन अरिङ्गालकै जसरी मिहिनेती मौरीलाई आक्रमण गर्न पुग्छ । यही हो संसार । समयको तुषारोले ढाकेपछि परिस्थितिमा पेलिएर मन कठ्याङ्ग्रिन पुग्छ । हुस्सेको चिसो हावाले हान्छ अनि सूर्यको रापिलो किरण विना मन निरन्तर कठ्याङ्ग्रि रहन पुग्छ । सुख दुखलाई समदृष्टिको अभावमा नै मन कठ्याङ्ग्रिन्छ । सुख दुःख जविनका पर्याय हुन् । सधै सुख र सधैँ दुःख हुँदैन । यी चक्रजस्तै निरन्तर चलिरहन्छन् । गीता महाभारतमा पनि यो चक्रमा विशद् विवेचना गरिएको छ । दुःख पर्दा अधिक आत्तिनु र सुखमा अधिक हौसिनु दुवै व्यर्थ हुन् । ‘सुख दुःख समं धीरा....’ भनी गीतामा बताइएको छ । यी दुवैकारा जीवनमा बराबर आइरहन्छन् । कसैलाई दुःख अधिक मिलेको हुनसक्छ । मात्रात्मक घटि बेसी रहनसक्छ । यी दुईको भागाइ नै जीवन हो । यसैले सुख दुःख देबैसमा समभाव समदृष्टि राख्नसक्नु जीवनमा नकठ्याङ्ग्रिनु हो ।
प्रकृतिको चक्र निरन्तर चलिरहन्छ । चिसो हुनु ऋतुको दोष होइन । दोष केवल व्यक्तिको नै हो । कसैलाई यो ऋतुले नै जीवन दिन्छ कसैलाई लिन्छ । मानव जीवन जस्तोसुकै परिस्थितिलाई पनि पर्घेल्न सक्षम छ । परिस्थितिको कोलमा पेलिएको मान्छे आफ्नै कारणले पिना बन्न पुग्छ । तुषारो कसैको दाइजो होइन तर समयको वेग धान्न नसक्नु नै वास्तवमा कमजोरी हो । युगानुकूल हुुन नसक्नु नै वास्तवमा कठ्याङ्ग्रिनु हो । ताप र चापको चेपुवामा पर्ने पनि मन हो र पारिने पनि केवल मन । नियतिको झीरमा उनिएको माछो जस्तो भएर यो जीवन कसैको स्वाद बनिरहेको हुन्छ, त्यसैले त यो चिसोमा कठ्याङ्ग्रिरहेको हुन्छ तन र मन ।
धनका निमित्त मान्छे मसानघाटको सेवा गर्न पनि तत्पर रहन्छन् । आफन्तलाई छाडेर मान्छे धनकै निम्ति भए पनि परजनको प्यारो बन्न पुग्छन् । धनले गर्दा नै मान्छे आफन्तबाट टाढिन्छन् । धनकै कारणले बुढो पनि तरुनो र तरुनो पनि बुढो देखिन पुग्छन् ।
मन बाहृय चिसोले भन्दा भित्री वित्तीय चिसोले बढी कठ्याङ्ग्रिन्छ । सोचको सागरमा सगवगाउन प्रेरित गर्ने तत्व वित्त नै हो । साध्य अरु नै देखाए पनि मान्छेको पहिलो साध्य उही अर्थ नै रहेको हुन्छ । हरेक कोणबाट केवल अर्थकै साधनाले आजको विकराल अवस्था सिर्जना भएको हो । प्राथमिकताको दोस्रो वस्तु जबसम्म धन बन्न सक्दैन तबसम्म मान्छेको मन शिशिरको सिरेटोले निरन्तर कठ्याङ्ग्रि नै रहन्छ । विवेकको वाणमा वित्तको तुवाँलो लागेपछि मान्छे अन्धकारतर्फ धकेलिन पुग्छ अनि सुरु हुन्छन् निराशा, अभाव र अतृप्तिका अध्यायहरू ।
सुखको सागर खोज्न भौतारिएको मान्छे आफैँ कस्तुरी बोकेर वासनाको खोजमा भौतारिन पुगेको मृगजस्तै बन्न पुग्छ । अर्थका निम्ति मान्छे जस्तोसुकै कार्य गर्न पनि तत्पर रहन्छ । त्यत्तिकै विष्णुशर्माले पञ्चतन्त्र गाएका होइनन् :
‘अर्थार्थी जीवलोकोद्रयं श्मशानमपि सेवते त्यक्त्वा जनयितारं स्वं निःश्वं गच्छति दूरतः । गतवयसामपि पुंसां ये समर्था भवन्ति ते तरुणा अर्थेन तु हीना वृद्धास्ते यौवनेद्रपि स्यु ।।’ अर्थात् यो जीवलोक अर्थार्थी (धन कमाउने) हो ।
धनका निमित्त मान्छे मसानघाटको सेवा गर्न पनि तत्पर रहन्छन् । आफन्तलाई छाडेर मान्छे धनकै निम्ति भए पनि परजनको प्यारो बन्न पुग्छन् । धनले गर्दा नै मान्छे आफन्तबाट टाढिन्छन् । धनकै कारणले बुढो पनि तरुनो र तरुनो पनि बुढो देखिन पुग्छन् । यसरी हेर्दा मनमा फाटो ल्याउने पहिलो कारक तत्व नै धन हो ।
अर्थ परं लक्ष होइन । जीवनको साधन भए पनि मान्छेले आज साध्य बनाइरहेका छन् । त्यसैले त युद्धका विभीषिका छेडिएका छन् । विश्वयुद्धका व्यूहहरू रचिएका छन् । धन केवल हातको मैला नै हो । धन नै जीवनको पहिलो रोजाइ बनिरहँदा अतृप्तिको आगोले पोलेको हो । अनि उही अपुगको अभावमा भौँतारिएको हो मान्छे । यसैले मनमा ज्ञानाको दीप बाल्न सक्नुपर्दछ । समभावको प्रकृतिमा रम्न सक्नुपर्दछ । सबैले सुखदुःखका चक्र भोगेकै हुन्छन् । यो सार्वत्रिक नियम नै हो । प्रकृतिको अनुपमा उपहारलाई समदृष्टिले उपयोग गर्न सक्नु नै नकठ्याङ्ग्रिनु हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts