स्वर्गद्वारीमा गाईलाई खुवाउने घाँस अभाव

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । स्वर्गद्वारीमा पालिएका गाईलाई खुवाउने घाँस अभाव भएको छ । आश्रमको नाममा रहेको जग्गाबाट घाँस, पराल संकलन हुन छाडेपछि स्वर्गद्वारीमा पालिएका गाईलाई खुवाउने घाँस, परालको अभाव भएको हो । गाईलाई खुवाउने घाँस परालको अभाव भएपछि दाङ देउखुरीका सामाजिक क्षेत्रमा सक्रिय युवाहरूले पराल संकलन गरेर प्युठानमा रहेको आश्रममा पुर्‍याएका छन् । स्वर्गद्वारी आश्रममा पालिएका पाँच सय बढी गाईलाई खुवाउने घाँस, पराल अभाव भएको छ । गाईको संख्या बढ्दै जाँदा उनीहरूलाई खुवाउने घाँस, पराल तथा दानाको अभाव हुन थालेको हो । स्वर्गद्वारी आश्रमको नाममा दाङ देउखुरी र प्युठान जिल्लामा जग्गा भए पनि त्यसबाट खाद्यान्न तथा घाँस, पराल आवश्यक मात्रामा संकलन हुन छाडेको छ । जसले गर्दा हरेक वर्ष स्वर्गद्वारीमा गाईलाई खुवाउने घाँस परालको अभाव हुने गरेको हो । ‘पाँच सय गाईलाई वर्ष दिन खुवाउन धेरै घाँस लागेको हुन्छ । हामीले खर किन्ने गरेका छौँ । कहिले नेपालगञ्जसम्म किन्न पुग्यौँ । अहिले पनि कपिलवस्तुबाट ट्रकमा गहुँको भुस ल्यायौँ’- स्वर्गद्वारी आश्रम प्युठानका कोठारी तारा न्यौपानेले भन्नुभयो- ‘आश्रमको नाममा भएको जग्गाबाट कमै मात्रामा आयस्ता आउँछ । घाँस, परालले पुग्दैन ।’

प्युठानको स्वर्गद्वारी र देउखुरीको आश्रम दुवै ठाउँमा गौशाला छन् । प्युठानमा पाँच सय बढी गाई छन् । देउखुरीमा एक सय बढी छन् । ती गाईलाई दैनिक घाँस पराल चाहिन्छ । कुनै समय जंगलमा गाई चराउन लगिन्थ्यो । चरिचरन खुला हुँदा वन जंगलमा घाँस पाइन छाड्यो । भिरालो जमिन भएकाले पानीले माटो बगाउन थाल्यो । हरियाली होला भनेको जंगल उल्टै सुक्खा बन्न पुग्यो । त्यसपछि गाईलाई जंगल चराउन कमै लगिन्छ । वर्ष दिन गाईलाई खुवाउने घाँस, पराल र दाना धेरै मात्रामा चाहिने भयो । घाँस किनेरसमेत खुवाइयो । खर किन्न नेपालगञ्ज र गहुँको भुस किन्न कपिलवस्तुसम्म पुग्ने गरिएको छ । वि.सं. १९९२ मा स्वर्गद्वारी महाप्रभुले अखण्ड यज्ञ सुरु गरेको इतिहास छ । यज्ञ सुरु गर्दा गाईको गहुँत, गोबर र दूध चाहिने भएपछि स्वर्गद्वारीमा गौशाला निर्माण गरेर गाई पाल्न थालिएको थियो । त्यो कार्य अहिले पनि चलिरहेको छ । स्वर्गद्वारी आश्रम, त्यहाँ चलेको अखण्ड यज्ञ र गाईको बीचमा सम्बन्ध रहेको छ । यज्ञको लागि चाहिने गहुँत, यज्ञ लिप्न गोबर र पञ्चकव्य, पञ्चामृत गाईबाट पाइने भएकाले अहिले पनि आश्रममा गाई पालिँदै आएको हो ।

ADVERTISEMENT

निःशुल्क पराल पुर्‍याउने अभियान
कात्तिक–मंसिर लागेपछि लमही निवासी युवा व्यवसायी कमलजंग सिंह ठकुरीलाई एउटा अभियानले छुन्छ । स्वर्गद्वारी आश्रम प्युठानमा रहेका गाईलाई पराल पुर्‍याउने । पाँच वर्षअघि आश्रमका गाई भोकभोकै भएको खबरले ठकुरीको मन कुँडिएको थियो । त्यसपछि ठकुरीले आफ्ना साथीसर्कलमा खबर पुर्‍याउनुभयो । त्यसपछि जु¥यो पराल पुर्‍याउने अभियान । कसैले पराल दिए, कसैले ढुवानीको लागि ट्याक्टर यस वर्षको लागि २३ ट्याक्टर पराल प्युठानको स्वर्गद्वारी पुर्‍याइएको छ । स्वर्गद्वारी आश्रममा आश्रित गाईलाई पेटभरि आहारा खुवाउने र गाई संरक्षण गर्ने उद्देश्य राखेर पराल पुर्‍याएका हौँ’, उहाँले भन्नुभयो, ‘विगतका वर्षहरूदेखि यो काम निरन्तर चल्दै आएको छ । साथीहरूको साथ सहयोगले अभियान जारी छ ।’ स्वर्गद्वारीमा पालिएका गाईलाई खुवाउने घाँस, परालको अभाव भएपछि दाङ देउखुरीका युवाहरूले पराल संकलन गरेर आश्रममा पुर्‍याएका छन् । विगत पाँच वर्षदेखि युवाहरूले गाईलाई खुवाउने पराल संकलन गरेर निःशुल्क रूपमा पु¥याउँदै आएका हुन् । ‘हाम्रो संस्कार संस्कृतिसँग गाईको सम्बन्ध छ । हामीले गौमाता भनेर गाईको पूजा गर्छौं । त्यही भएर पनि गाईलाई बचाउन आहाराको बन्दोबस्त गर्‍यौं’, देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रिय जनावर गाईको संरक्षण हामी सबैको दायित्व हो ।’ देउखुरीबाट पराल लगेर युवा समाजसेवी कमलजंग सिंह ठकुरी, केशवराज पन्त, सन्दीप पौडेल, रत्नप्रसाद श्रेष्ठ, अञ्जु श्रेष्ठ, गणेश चौधरी, रविन्द्र जिसी, प्रमोद बस्नेत, शम्भु सिंह ठकुरी, विनोद शाह, शम्भु चौधरी, अनिलकुमार मन्त्री, सुशीलकुमार कशौधन, विनोद विसी, गोकर्ण भट्टराई सहितको टोली पुगेको थियो ।

जग्गा जमिन भएर के गर्ने
प्युठान स्वर्गद्वारी आश्रम, वनगाउँ र झिगौरा गरी तीन ठाउँमा करिब ७०० गाई छन् । यी गाईका लागि पराल, दाना नियमित दिनुपर्छ तर गाईलाई खुवाउने परालसम्म अरूसँग मागेर काम चलाउनुपर्ने बाध्यता स्वर्गद्वारी आश्रमलाई परेको छ । दाङ जिल्लामा मात्रै ९९८ बिघा जग्गा रहेको आश्रमलाई गाईलाई खुवाउने परालसम्म सापट माग्नुपर्ने अवस्था छ । ९९८ बिघामध्ये ३० बिघा जग्गाको मात्रै आयस्ता आश्रमलाई प्राप्त हुन्छ । स्वर्गद्वारी आश्रमको नाममा दाङमा एक हजार ५० बिघा जमिन छ । अरू जग्गा सडकमा परेपछि ९९८ बिघा कुल जमिन भएको हो । जसमध्ये खेत ६३१ बिघा एक कठ्ठा छ । बारी ३६७ बिघा सात कठ्ठा छ । ३७६ बिघा सात कठ्ठा जग्गामा मोही लागेको छ । आश्रमको शुद्ध घर खेती २२१ बिघा १७ कठ्ठा सात धुर छ । आश्रमको ३६ सय ११ कित्ता हो । पुरानो मोही संख्या २७९ छ । दाङको टरिगाउँमा ७२ बिघा सात कठ्ठा १० धुर, सौडियारमा ९५ बिघा चार कठ्ठा १९ धुर, रामपुरमा १७६ बिघा १२ कठ्ठा दुई धुर, चैलाहीमा ३४७ बिघा सात कठ्ठा १६ धुर, सतबरियामा ९४ विगाह नौ कठ्ठा १० धुर, घोराहीमा १८५ बिघा दुई कठ्ठा १० धुर जग्गा आश्रमको नाममा छ । भूमिसुधार कार्यालयले २०५१ सालमा ९५ बिगाह जग्गाबाट मोही निष्कासन गरेको थियो । साबिक चैलाही र सतबरिया मौजाको जग्गामा समस्या छ । चैलाही मौजाको अर्नहवामा मात्रै ४० बिघा जमिन अतिक्रमणमा छ । आश्रमको नाममा रहेको जग्गामा ठूला बिल्डिङ ठडिएका छन् । आन्तरिक रूपमा लाखौँ मूल्यमा यहाँ किनबेच चल्छ । आश्रमको दैनिक खर्च धान्न भक्तजनको दानभेटीकै भर छ । भारतीय भक्तजन दर्शनका लागि आउने गरेकाले उनैले चढाउने दानभेटीबाट आश्रमको खर्च चल्ने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?