गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

बुटवल। राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत विमानस्थल सञ्चालन प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपतिले यसबारे सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

रुपन्देही उद्योग संघले बिहीबारदेखि बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपतिले यस्तो बताउनु भयो। ‘विमानस्थललाई व्यवस्थित रुपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित् निकायले तदारूकता देखाउन जरुरी छ,’ उहाँले भन्नुभएको छ ।

राष्ट्रपति भण्डारीले अहिले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै सबै मिलेर आर्थिक क्षेत्रलाई लयमा फर्काउनुपर्ने बताउनु भयो ।

उहाँले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताउनु भयो । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उहाँको भनाई छ । ‘अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित् निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो।

ADVERTISEMENT

राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताउनु भयो।

राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भयाे ।

उहाँले बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने समेत बताउनु भयाे । ‘यसले उद्योगको प्रवद्र्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउँछ, स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा समेत सहयोग पुग्छ,’ उहाँले भन्नुभयाे ।

उहाँले यस्ता प्रदर्शनीहरुले उद्योगी, उपभोक्ता र सरकारी निकायबीच अन्तरक्रियाको अवसर प्रदान गर्ने भन्दै आयोजकलाई धन्यवाद दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *