उखुको मूल्य सात सय पाँच रुपैयाँ पुर्‍याउन माग

Read Time = 5 mins

सर्लाही । सर्लाहीका उखु किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल बढाएर सात सय पाँच रुपैयाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आबद्ध उखु किसानले जिल्लाकै ठूलो इन्दुशंकर चिनी उद्योग हरिवनमा आइतबार ज्ञापनपत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रतिक्विन्टल सात सय पाँच रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेको भन्दै चिनीको मूल्यवृद्धिअनुसार नै उखुको मूल्य पनि वृद्धि गर्नुपर्ने उनीहरूको माग छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापनपत्रमा उखु किसान घाटा सहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले गम्भीर बन्नुपर्ने उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राजकुमार उप्रेती, कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेती, एमाले हरिवनका अध्यक्ष सीताराम पोखरेल, ओमबहादुर सुवेदी, विनोद कार्कीलगायतको टोली पुगेको थियो ।

उखु किसानले जिल्लाकै ठूलो इन्दुशंकर चिनी उद्योग हरिवनमा आइतबार ज्ञापनपत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रतिक्विन्टल सात सय पाँच रुपैयाँ कायम गर्न माग गरेका हुन् ।

ADVERTISEMENT

यसैबीच बाराका उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग सोमबार छलफल गर्ने सहमतिपछि किसानले आन्दोलन रोकेका हुन् । किसानले आइतबार चिनी उद्योगअगाडि सुकेका उखु जलाउँदै एक घण्टा प्रदर्शन र चक्काजाम गरेका थिए ।

चिनी उद्योगले किसानलाई दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित उनीहरूले आन्दोलन सुरु गरेका हुन् । शनिबार पनि कलैया उपमहानगरपालिकास्थित रिलायन्स चिनी उद्योगअगाडि किसानले रोगले सुकेका उखु जलाउँदै कलैया-पिलुवा सडक अवरुद्ध पारेका थिए । किसानले करिब आठ सय बिघामा लगाइएको उखु खेती रोगले सुक्दै गएकाले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बीउ र औषधिका लागि दिएको ऋण मिनाहाका साथै सरकारले किसानलाई क्षतिपूर्ति तिर्नुपर्ने उनीहरूको माग छ ।

मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायतमा उखु सुक्ने रोगको प्रकोप छ । तर, रोगको पहिचान भने भइसकेको छैन । दुवै जिल्लामा नौ हजार बिघामा साढे छ हजार किसानले उखु खेती गरेको बताइएको छ । चिनी उद्योगले समयमै भुक्तानी नदिँदा नेपाली उखु किसान मर्कामा पर्दै आएका छन् । जसका कारण उनीहरूले हरेक वर्ष आन्दोलन गर्नु परिरहेको अवस्था छ । उद्योगी महँगोमा चिनी बिक्री गर्ने तर किसानलाई भुक्तानी भने नदिने प्रवृत्तिका कारण कतिपय किसान उखु खेतीबाटै पलायन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज