काठमाडौंमा कुन पानी ट्यांकीबाट कति लिटर वितरण हुँदैछ मेलम्ची खानेपानी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाउनु भयो । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण शुरु भएको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण शुरु गरेको हो । जसअनुसार महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताउनु भयो । उहाँले मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुने बताउनु भयो ।

उहाँले मेलम्ची खानेपानी वितरण व्यवस्थापन गर्ने कार्यमा नीतिगत, संरचनागत तथा व्यवस्थापकीय सुधारको आवश्यक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *