म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास योजना अलपत्र

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास निर्माणका योजनाहरू अलपत्र परेका छन् । संघीय र प्रदेश सरकारका यी योजनाहरू ठूला निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण नगर्दा अलपत्र परेका स्थानीयको गुनासो रहेको छ । अलपत्र परेका योजनाहरूमा सडक, मोटरेबल पुल, भवनलगायतका विकास आयोजना रहेका छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन् ।

पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छवटा सडक र पाँचवटा मोटरेबल पुल अलपत्र छन् । यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शैय्याको भवन निर्माण योजना अलपत्र छ । बेनी-जोमसोम, बेनी-दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर-भगवती, दरवाङ-ताकमधारापानी बेनी-बागलुङ, बेनी बालढुंगालगायतको सडक पटक-पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती र अलपत्र पार्ने क्रम बढेको छ ।

म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यले जिल्लाका अधुरा र अलपत्र योजनालाई छ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले जिल्लामा रोकिएका विकास निर्माणका योजनालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

अलपत्र गलेश्वर-भगवती सडक
विगत तीन वर्षदेखि म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती कालोपत्रे सडक योजना अलपत्र छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले समयमै काम नगर्दा योजना अलपत्र परेको हो ।

आयोजनाको थप भएको समयमा समेत निर्माण कम्पनीले काम सुरु नगरेपछि रघुगंगा गाउँपालिका-२ र ३ को वडाका जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्रे गर्ने कामलाई छिटोभन्दा छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । ध्यानाकर्षण पत्रमा निर्माण कम्पनीको लापरबाहीले कालोपत्रे गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेका कारण समन्वय गरेर काम अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

ADVERTISEMENT

पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रेकोे काम तत्काल अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताउनुभयो । ‘निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटक–पटक पत्र काटेका छौँ, यही महिनाको अन्तिमबाट काम सूचारु हुन्छ,’ अधिकारीले भन्नुभयो ।

पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्रे गर्न निर्माण कम्पनीले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण गर्ने लगायतका काम गरेर अलपत्र छोडेको थियो । भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा आठ किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । प्रदेशका अन्य योजनालाई तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

बेनी-मालढुंगा सडकको हबिगत पनि उस्तै
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि पर्वतको मालढुंगासम्मको १३ किलोमिटर लामो बेनी-मालढुंगा सडक आयोजना पनि अलपत्र बनेको छ । ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।

ठेकेदार कम्पनीबीच एक आपसमा असमझदारी बढेपछि चार महिनाअघिसम्म काम गरेको ठेकेदार सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । यो सडकमा १३ किलोमिटर दूरी पार गर्न सवारीसाधनलाई डेढ घण्टा समय लाग्ने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले सडकको दुरावस्थाका कारण घण्टौंसम्म जाममा फस्नुपरेको गुनासो गरेका छन् । वर्षातका समयमा सडक माथिबाट खसेको पहिरो, खाल्डाखुल्डी र अस्तव्यस्त तरिकाले छाडिएका निर्माण सामग्रीका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?