पूर्वाधार विकासका लागि सहकार्यमा जोड

Read Time = 4 mins

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधार विकासका लागि सरकार र निर्माण व्यवसायीबीचको सहकार्यमा जोड दिनुभएको छ । सरकार र निर्माण व्यवसायी मिलेर अघि बढेमात्र भौतिक पूर्वाधारका ठूला योजना अघि बढ्न सक्ने उहाँले बताउनुभयो । १५औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघद्वारा बिहीबार राजधानीमा आयोजित प्रभातफेरी कार्यक्रम उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै उहाँले जनताका पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘व्यवसायीले पाउनुपर्ने रकम निकासा भएको छैन, कानुन नै संशोधन गरेर भए पनि यस्तो समस्या समाधान गर्नुपर्छ ।’

महासंघ अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी नै समृद्धिका सारथि भएको तर पनि निर्माण व्यवसायी अहिले पनि विभिन्न समस्या झेल्न बाध्य रहेको बताउनुभयो । निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन नसक्ने उहाँको भनाइ थियो । विगतका सरकार निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको भन्दै उहाँले अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको बताउनुभयो । महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको बताउनुभयो । सोही अवसरमा मन्त्री चौधरीले महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचनसमेत गर्नुभएको थियो । मन्त्री चौधरीसमेतको सहभागितामा बाजागाजासहितको प्रभातफेरी दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुंगिएको थियो ।

ADVERTISEMENT

दिवसका अवसरमा महासंघ प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदातालाई महासंघ अध्यक्ष सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव दाहाललगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही क्रममा प्रदेश महासंघ तथा जिल्ला निर्माण व्यवसायी संघले पनि विविध कार्यक्रम गरी निर्माण दिवस मनाएको उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज