काठमाडौं । नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिने कानुनी व्यवस्था नै नरहेको बताइएको छ । नवौँ विश्व माटो दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले उक्त कुरा बताउनुभएको हो ।
उहाँले भू-संरक्षणसम्बन्धी ऐन भए पनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको भन्दै खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम गर्न तत्काल कार्यविधि ल्याउने घोषणासमेत गर्नुभयो । माटो संरक्षणका लागि सरकारले कार्यविधिका साथै जनचेतनामूलक कार्यक्रमलाई जोड दिने उहाँको भनाइ थियो । महानिर्देशक पौडेलले भन्नुभयो, ‘यो माटो संरक्षणसम्बन्धी कुरामा पनि माटोको भूसंरक्षणसम्बन्धी ऐन त रहेछ तर प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसले खेती नभएका जमिन समेटेको छ । तर, खेती नभएका ठाउँको माटो त्यति बिग्रेको पनि छैन । खेतीयोग्य जमिनका लागि कसरी माटो बचाउन सकिन्छ ? यस विषयमा ऐन नै नभए पनि केही मापदण्ड वा कार्यविधि ल्याएर गर्नुपर्ने कुराहरू के हुन् ? के गर्न हुन्छ, के गर्न हुँदैन ? भन्ने कुरालाई एनलाइसिस गरेर ल्याउन सकियो भने विश्व माटो दिवस मनाइरहँदा यसको प्रचारको कामलाई विकास गर्न सक्छौँ जस्तो लाग्छ । त्यसका लागि विद्यालय तहमै चित्रकला, लेखनको माध्यमबाट पनि माटोको महत्वबारे बोध गराउन सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिने योजना बनाएका छौँ ।’
विभागले यस वर्ष विद्यार्थीलाई माटोको गुणस्तरसम्बन्धी निबन्ध प्रतियोगिता गराएर जनचेतना जगाउने काममा जोड दिइएको जनाएको छ । विज्ञहरूले नेपालको तराई क्षेत्रमा माटो बिग्रँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न विशेष योजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिँदै आएका छन् ।
नेपाल माटो समाज, फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन(एफएओ)सँगको सहकार्यका कृषि विभागले विभिन्न कार्यक्रम गरी साताव्यापीरूपमा माटो दिवस मनाएको हो । यस वर्षको नारा ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ रहेको छ । नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रेको र माटोको उर्वरा शक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । नेपालको माटोको स्वास्थ्य बिग्रनुका प्रमुख कारण कम्पोष्ट मल, हरियो मलको प्रयोग न्यून गर्नु हो ।
कृषि विभागका अनुसार नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, चारदेखि पाँच प्रतिशत क्षारीय र ४० देखि ४५ प्रतिशत माटोमात्र सन्तुलित प्रकृतिको रहेको छ । विभिन्न भागबाट माटोको नमुना परीक्षण गर्दा ४० देखि ४५ प्रतिशत माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून देखिएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशत अधिक रहेको पाइएको छ ।
नेपालमा खेती गरिने जमिनमा ५६ प्रतिशत नाइट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको छ भने फस्फोरस तत्व ४२ प्रतिशत न्यून, २८ प्रतिशत मध्यम र ३१ प्रतिशत अधिक रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts