काठमाडौं । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उभार र विजयीसँगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा थुप्रै स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको थियो । यो निर्वाचनमा केन्द्रसँग प्रदेशमा केही उम्मेदवारले विजयी हासिल गरेका छन् । यो निर्वाचनमा सात प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेश १ बाट भने स्वतन्त्र उम्मेदवारले जितेका छैनन् । यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र नौ, नेकपा एकीकृत समाजवादी तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
यता, मधेश प्रदेशमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका छन् । कुल ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी नौ सिटसहित तेस्रो भएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले सात, जनमत पार्टीले ६, नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा विजय प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् ।
यता, बागमती प्रदेशमा भने कुनै पनि स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छैनन् । बागमती प्रदेशमा रहेका ६६ सिटमध्येमा ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छैनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले १४ सिटमा जित हासिल गरेको छ भने एक सिटमा अग्रता लिइरहेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी सात, नेपाल नेकपा एकीकृत समाजवादी पाँच, नेपाल मजदुर किसान पार्टी एक र हाम्रो नेपाली पार्टीले एक स्थानमा विजय प्राप्त गरेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा एकजना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कुल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ भने नेकपा एमाले १२ सिटसहित दोस्रो, चार सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस प्रदेशमा नेपाल समाजवादी पार्टीले एक सिटमा विजय प्राप्त गर्दा एकजना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
यता, लुम्बिनी प्रदेशमा तीनजना स्वतन्त्र उम्मेदवारले आफ्नो विजयको झाण्डा फराएका छन् । यस प्रदेशमा रहेका ५२ निर्वाचन क्षेत्रमध्ये एमालेले १८ सिट जितेको छ भने नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र पाँच, जनता समाजवादी पार्टी दुई र नागरिक उन्मुक्ति पार्टीले दुई सिटमा विजयी भएका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई जनमत पार्टी एक तथा स्वतन्त्रमा तीन जनाले जित निकालेका छन् ।
त्यस्तै, कर्णाली प्रदेशका २४ मध्ये एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसले नौ सिटमा जित निकालेको छ भने माओवादी केन्द्र नौ, नेकपा एमालेले पाँच र स्वतन्त्र एक-एकजना विजयी भएका छन् ।
यस्तै, सुदूरपश्चिममा एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशको कुल ३२ सिटमध्ये १२ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्दा नेकपा माओवादी केन्द्र आठ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी पाँच, नेकपा एमाले तीन, नेकपा एकीकृत समाजवादीले तीन र स्वतन्त्रबाट एकजनाले विजय प्राप्त गरेका छन् ।
मधेश प्रदेशमा स्वतन्त्र सांसद नै निर्णायक
स्वतन्त्रसहित सात दलका प्रतिनिधिको उपस्थिति रहने मधेश प्रदेशमा कस्तो सरकार बन्छ भन्ने बहस सुरु भइसकेको छ । यद्यपि, समानुपातिक तर्फको पूर्ण मत परिणाम नआई दलहरूको वास्तविक स्वरूप भने थाहा हुँदैन । १०७ सदस्यीय मधेश प्रदेश सभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक सिट छन् । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । २०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपाले मिलेर आवश्यक संख्या पु¥याउँदै बहुमतको सरकार बनाएका थिए । तर, योपटक दुई दल मिलेर मात्र बहुमत पुग्ने अवस्था छैन ।
सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये मधेश प्रदेशमा कांग्रेस, लोसपा, माओवादी र नेकपा एस गरी चार दल छन् । यी दलहरूले प्रत्यक्षतर्फ पाएको सिट संख्या २८ मात्र छ । त्यसैले बहुमतका लागि ६ स्वतन्त्र वा जनमत पार्टीको सहारा लिनुपर्ने हुन्छ । यद्यपि, गठबन्धनका नेताहरू समानुपातिको सिट जोडेर बहुमत पुग्ने आँकलन गरिरहेका छन् । सरकार बनाउन आवश्यक बहुमत संख्या ५४ कांग्रेस, माओवादी, लोसपा र नेकपा एसको सिटसहित पुग्ने आशामा गठबन्धन देखिन्छ भने एमाले र जसपा पनि जनमत र स्वतन्त्र जोडेर बहुमत पु¥याउने ध्येयमा लागेका छन् ।
एमाले र जसपाले जनमत पार्टीलाई आफ्नो पक्षमा ल्याउन सकेमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनभन्दा एक सिट बढी संख्या पुग्ने देखिन्छ । त्यस्तो अवस्थामा स्वतन्त्रहरूलाई पनि तान्न सकिन्छ भन्ने पक्ष पनि छ । तर, जनमत पार्टी एमाले-जसपाको साथमा जान्छ कि जाँदैन भन्ने यकिन छैन । समीकरण बनाउन दुवै पक्षलाई स्वतन्त्रको ६ सिट भने आवश्यक पर्छ । प्रदेशतर्फ जितेका स्वतन्त्र सांसदहरूमा प्रतिनिधिसभामा स्वतन्त्र जितेका प्रभु साह पक्षको प्रभाव देखिन्छ । उहाँले प्रतिनिधिसभा जितेको क्षेत्रका दुई प्रदेशसभामध्ये एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । जितेका अन्य पाँच स्वतन्त्र उम्मेदवारमा केहीमा साहको प्रभाव रहेको देखिन्छ ।
मधेश प्रदेशबाट प्रतिनिधिसभामा जितेका तीन नेताले एक आसपमा सहकार्य गरेर जाने संकेत गरेका छन् । रौतहट-३ बाट जित्नुभएका साह, उहाँकै पक्षका रौतहट २ का किरण साहसहित सर्लाही–४ बाट अमरेश सिंह स्वतन्त्र रूपमा निर्वाचित हुनुभएको छ ।
मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा दुई हजार ५०० भन्दा धेरैको उम्मेदवारी परेकोमा नौ सयभन्दा धेरैले स्वतन्त्र उम्मेदवारी दिएका थिए । हरेकजसो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी पर्ने गर्दछ । स्वतन्त्र उम्मेदवारमध्ये केहीले चर्चित नेताको क्षेत्र त केहीले आफ्नै जन्म र कर्मथलोलाई रोजेका थिए । उनीहरू आफ्ना एजेण्डा राजनीतिक दलको भन्दा फरक र साँच्चै नागरिकका दुःख समाधान गर्ने खालका भएको दाबी गरेका थिए भने केहीले पार्टीले उम्मेदवार नबनाएकाले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच