काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ बैंकलाई कारबाही गरेको छ । धेरै नियामकीय पालना नगरेका कारणले मेगा बैंक र सनराइज बैंक तीन फरक शीर्षकअन्तर्गत कारबाहीमा परेका छन् भने बैंक अफ काठमाण्डु दुई शीर्षकमा कारबाहीमा परेको छ ।
एक शीर्षकअन्तर्गत बैंकले दुई करोड ११ लाख ८३ हजार रुपैयाँ जरिवानासमेत तिरेको छ । त्यस्तै, केन्द्रीय बैंकले कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकाले कारबाहीमा परेको हो । विपन्न वर्ग कर्जा प्रदान नगर्दा बैंक अफ काठमाण्डुले दुई करोड ११ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
त्यसैगरी रोक्का राख्न निर्देशन दिएका खातामा कारोबार गरेको पाइएपछि प्रभु बैंक, बैंक अफ काठमाण्डु, कुमारी बैंक, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशनअनुसार एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपछि प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने योजना लागू गर्न पाइँदैन ।
तर, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंकले यो व्यवस्थाविपरीत काम गरेकाले सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
कर्जा आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्थाविपरीत कार्य गरेकोमा सनराइज बैंक र मेगा बैंकका सञ्चालकलाई राष्ट्र बैंकले सचेत गराएको छ । प्रमुख कार्यकारी अधिकृत अवकास हुँदा थप सुविधा उपलब्ध गराएकाले सनराइज बंैकको सञ्चालक समितिलाई सचेत गराएको हो ।
त्यसैगरी कर्जा नवीकरण हुन नसकेका र कर्जाको कुनै पनि विवरणसमेत अद्यावधिक नहुँदा मेगा बैंक कारबाहीमा परेको छ ।
मेगा हाउजिङ लोनअन्तर्गत लोयल्टी फाइनान्स स्किममार्फत् प्रवाह गरेको सम्पूर्ण कर्जा बक्यौता साँवा तथा ब्याज असुलउपर गर्न उपभोग गरेको देखिएकाले प्रमुख कार्यकारी अधिकृत र प्रमुख कर्जा अधिकृतलाई पहिलोपटकका लागि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements