सहकारीका नाममा महानगरको १२ बुँदे निर्देशन

Read Time = 4 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका लागि विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । सहकारीमा विकृति बढ्न थालेपछि महानगरपालिकाले कडाइ गरेको हो । १२ बुँदे निर्देशनमा सहकारी संस्थाले यथाशीघ्र सबै सेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउनुपर्ने, विश्वसनीयता र अपनत्व ग्रहण गराउन नियमितरूपले सेयर सदस्यसँग सम्पर्क र संवाद बढाउनुपर्ने, तोकिएको कार्य क्षेत्रबाहिर गएर कुनै पनि कारोबार र लगानी गर्न नहुने, वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुपर्ने, परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने उल्लेख छ ।

त्यस्तै, सेयर सदस्यलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन गर्नुु नहुने, सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएका नियमितरूपले संस्थासँग कारोबार भएका व्यक्तिलाई मात्र संस्थाको जिम्मेवारी दिनुपर्ने, कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छाबेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित गर्न नहुने, कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुपर्ने, ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएरमात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्कसहितको फाराम भराई अवधि तोकेरमात्र प्रवाह गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

त्यसैगरी जोखिम विश्लेषण गरेरमात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुपर्ने, राष्ट्रिय सहकारी महासंघ, विषयगत संघबाट सहकारी अभियानको सफलताका लागि जारी अपिल अध्ययन गरी लागू गर्नुपर्ने र आफ्ना सेयर सदस्य र बचतकर्तालाई नियमित सहकारी शिक्षा प्रदान गर्नुपर्ने महानगरले निर्देशन दिएको छ ।

ADVERTISEMENT

कोरोना महामारी तथा रुस-युक्रेन युद्धका कारण विश्व आर्थिक मन्दी तथा मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना भई सहकारी क्षेत्र पनि समस्यामा परेको हो । सहकारीमा समस्या देखिएपछि धेरै निक्षेपकर्ताले निक्षेप झिक्न थालेको र सहकारीले निपेक्षकर्ताको मागअनुसार निक्षेप दिन नसक्ने भएपछि सहकारी सञ्चालकहरू सम्पर्कविहीन हुनेक्रम बढेको बताइएको छ । पछिल्लो समय सरकारीविरुद्ध निक्षेपकर्ताको उजुरी बढ्दै गएको महानगरपालिकाको सहकारी विभागले जनाएको छ ।

महानगरपालिकाले हालको संवेदनशील समयमा सहकारी संघसंस्थाले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन तथा व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्नुहुन निर्देशनसहित अनुरोध गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज