कविता : वियोग

Read Time = 4 mins

छोडेर गयौ हे प्राण प्यारी अजीव लोकमा
तोडेर गयौ प्रेमको नाता डुबाई शोकमा
फुकाई गयौ बाचाको गाँठो ससाक्षी कसम
चुँडाई मुटु संसार मेरो पारेर विषम

लिएर गयौ समस्त खुशी यो मुटु जलाई
छोडेर गयौ सम्झना मात्र रुवाइ मलाई
आकाशै खस्यो शिरमा मेरो भासियो जमिन
बज्र नै पर्यो छातीमा हाय! सहन सकिन

न सुन चाँदी न हिरा मोती चाहिन्न सम्पती
हे पापी दैव छुटाई दियौ चखेवा दम्पती
चुँड्नु नै थ्यो त सुन्दर पुष्प फक्रिनै नपाई
रच्यौ नै किन तिमीले दैव निमोठ्न उन्लाई

उठ न पृये खोलेर आँखा मलाई हेरन
अंगालो खोली मुसुक्क हाँसी मायाले बेरन
जाग न पृये निदेरीबाट सदा झैं बोलेर
हाँस न पृये छरेर खुशी हृदय खोलेर

खोल न प्यारी छातीको ढोका म भित्र आउँछु
त्यो छाती भित्र बसेर तिम्रो म प्रीत लाउँछु
चालेर पाउ पाउजु धुन बजाई हिँड न
हातका चुरा छिङ्छिङ् बजाई सर्गम छर न

सारीको सप्को काँधमा हाली मर्काई कम्मर
रिमिक्क परी मधुर बोल चलाई अधर
सपना मेरो बिपना भयो बिपना सपना
नश्वर चोला बिलाई गयो गराई बिलौना

ती पल थिए गुलिया मिठा आनन्दी भावका
बाणी थे तिम्रा मधु झैं मधुर प्रणय रागका
हेराई तिम्रा मादक आहा ! गाजलु आँखाका
बोलाई थे तिम्रा मन नै हर्ने मायालु भाकाका

हिडाई तिम्रो मृग कै चाल मुहार हँसिलो
औंला थे सुडौल मिलेका दाँत कपाल सुनौलो
बिसाको थिएँ मायाको भारी तिम्रो त्यो मनमा
खुशीको भारी बोकेको थिएँ यो मेरो तनमा

ADVERTISEMENT

दु:ख र सुख रोदन हाँसो बाँडेर बसेथ्यौं
बिकट घुम्ती सजिलो बाटो मिलेर हिंडेथ्यौं
आँखा नै लाग्यो हाम्रो खुशीमा आरिसे दैवको
शाश्वत सत्य अमिट हुन्छ जन्म र मृत्युको

खट्किन्छ यहाँ अभाव तिम्रो छिन र छिनमा
झझल्को तिम्रो आउँछ प्यारी रात र दिनमा
निद्रामा पनि ऐंठन हुन्छ ब्युँझिन्छु झस्केर
दिनमा पनि भक्कानो फुट्छ यो छाती चस्केर

हृदय चोर्ने मोहिनी परी आऊ न समिप
नजाऊ दूर मसँगै बस सदैब नजिक
नचोर मन नचुँड मुटु चर्काई हृदय
मुस्काई बोल खोलेर दिल छरेर प्रणय

हे मेरी प्यारी नरोई बस स्वर्गको बारीमा
सजिई बस भिरेर पोते सिम्रिकी सारीमा
आउँछु भेट्न पर्खेर बस गोरेटो कुरेर
हे काल लैजा यो लोकबाट नगरी अबेर

-इति-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *