कञ्चनपुर । वाइवाइ यू-१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । कात्तिक २५ देखि मंसिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली संघलाई बुझाएको जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो ।
बन्द प्रशिक्षणमा कञ्चनपुरका हेमन्त धामी, मिलन बोहरा, अनुराग सिंह, राहुल चन्द, आकाश चन्द, डडेल्धुराका दीपक बोहरा, विशाल ऐर, कैलाश ऐर, सचिन साउद, बैतडीका दीपक बोहरा, गजेन्द्र बोहरा, प्रदीप चन्द, सुनिल चन्द, दार्चुलाका विपिन धामी, वीरेन बम, कैलालीका टेक रावत, दिनेश ओड, नरेन साउद, डोटीका कृष्ण ऐर, अछामका युवराज खत्री र बझाङका सन्जे बोहरा हुनुहुन्छ ।
जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष चन्दले शुक्रबारदेखि खेलाडी बन्द प्रशिक्षणमा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ८ गतेदेखि काठमाडौंमा वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts