काठमाडौं । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी बढी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको हो । देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले सो अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । जसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापारघाटा कम गर्न योगदान पुगेको प्राधिकरणले जनाएको छ ।
सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा छ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । कात्तिकदेखि क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ । तर, खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘उद्योगले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्को माग बढ्न सकेको छैन, हालकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुस पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ ।’
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत्् निर्यात गरी कात्तिकसम्ममा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको हो ।
प्राधिकरणका अनुसार आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसतदर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ ।
थप २३.५ मेगावाट निर्यात अनुमति
प्राधिकरणले बढी हुने वर्षायामको थप २३.५ मेगावाटको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत् आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नौ मेगावाट विद्युत् भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्री गर्न सक्नेछ ।
प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाट काबेली बी-१, २२ मेगावाट माइखोला, १४.९ मेगावाट हेवाखोला ए र १० मेगावाट तल्लो मोदी-१, ४२ मेगावाट मिस्त्रीखोला, २४.२ मेगावाट लिखुखोला ‘ए’, २३.५ मेगावाट सोलुखोला र २२.१ मेगावाट चिलिमे विद्युत्गृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेश गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता