अर्थतन्त्र सुधारोन्मुख, शोधनान्तर १२ अर्ब ४३ करोडले बचतमा

Read Time = 8 mins

काठमाडौं । अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को असोजमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर चालु आवको सोही अवधिमा नौ करोड १८ लाखले बचतमा रहेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको त्रैमासिक तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ असोजमा ०.६ प्रतिशतले घटेर नौ अर्ब ४८ करोडमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये २०७९ असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोजमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब एक अर्ब ६० करोड पुगेको छ । राष्ट्र बैंंकका अनुसार चालु आवको तीन महिनाको आयातका आधारमाा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । चालु खाता भने ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।

व्यापारघाटा तीन खर्ब ५९ अर्ब
चालु आवको तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आई ४१ अर्ब ८२ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोशाक, चियालगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पामतेल, पिना, जुटका सामान, सुनचाँदीका सामान तथा गरगहनालगायत घटेको छ ।

तीन महिनामा कुल वस्तु आयातमा १६.२ प्रतिशतले कमी आई चार खर्ब एक अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, कोइलालगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाबिन तेल, एमएस तार, छड, बार, क्वाइललगायतको आयात घटेको छ । चालु आवको तीन महिनामा कुल वस्तु व्यापारघाटा १३.१ प्रतिशतले घटेर तीन खर्ब ५९ अर्ब १८ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत थियो ।

ADVERTISEMENT

तीन महिनामा तीन खर्ब रेमिट्यान्स
रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई झण्डै तीन खर्ब अर्थात दुई खर्ब ८१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई एक लाख ४७ हजार नौ सय ३२ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार आठ सय ६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

मूल्य वृद्धिदर ८.५० प्रतिशत
२०७९ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सूर्तीजन्यको ८.४४ प्रतिशत रहेको छ । असोजमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । गत असोज महिनामा उल्लेखित क्षेत्रहरूमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यसैबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउनुभएको छ । बुधबार नेपाल बैंकको ८६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले भन्नुभयो, ‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रूपमा लिए तर त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज