काठमाडौं । दलहरू चुनावी अभियानमा व्यस्त छन् । विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरघरमा पुगिरहेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनको तयारी तीव्रताका साथ गरिरहेको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । एकातिर निर्वाचनको तयारी व्यापक रूपमा भइरहँदा अर्कोतिर एउटा समूह भने निर्वाचन बिथोल्ने अभियानमा लागेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा र स्थानीय चुनावमा नेकपाबाटै विभाजन भएर बनेको नेकपा (बहुमत)लगायतका दलहरूले चुनाव बहिष्कार अभियानमा छन् । उनीहरूले ठाउँठाउँमा चुनाव बहिष्कारका नाममा भण्डाफोर सभा गरिरहेका छन् । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपाल नामका पार्टीले गत बुधबार काठमाडौंमा चुनाव बहिष्कार सभा गरेका थिए ।
सभामा बहुमतका संयोजक धमेन्द्र बास्तोला, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैैद्य किरण लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेकपा (बहुमत)का संयोजक कञ्चनले संसदीय चुनावका कारण देश र जनताले हार्ने तर साम्राज्यवादले जित्ने भएकाले यसको सशक्त अवज्ञा/बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, चुनाव खारेज÷बहिष्कारको कार्यनीति लिएका तीन कम्युनिष्ट पार्टीले शनिबार पूर्वको इटहरीमा भण्डाफोर सभा गरेका थिए । विप्लव नेकपासहितका तीन दलले चुनावविरुद्ध देशव्यापी विरोध तथा जनपरिचालन गरिरहेका छन् । भण्डाफोर सभा गर्ने मात्रै होइन उनीहरू संसदीय चुनावविरुद्ध घरदैलो कार्यक्रमसमेत गरिरहेका छन् । देशका विभिन्न ठाउँमा उनीहरूले चुनाव बहिष्कार गर्न भित्ते लेखनदेखि मसाल जुलुससम्म गर्दै आएका छन् । यसपालि चुनाव बहिष्कारको नीति लिएका यिनै कम्युनिष्ट पार्टीहरू सुरक्षा चुनौतीका रूपमा देखिएका छन् ।
शान्तिपूर्ण चुनावी खारेज अभियानमा बल प्रयोग गरे कडा प्रतिवाद गर्छौं : प्रकाण्ड
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दलालहरूको सेवा र संरक्षण गर्ने निर्वाचन बहिष्कार र खारेज गर्नु आफूहरूको दायित्व भएको बताउनुभएको छ । सोमबार बुटवलमा आयोजित चुनाव बहिष्कार सभालाई सम्बोधन गर्दै उहाँले मंसिर ४ को निर्वाचनले दलाल पुँजीपतिहरूको सेवा र संरक्षण गर्ने र जनताको समस्या जस्ताको तस्तै हुने भएकोले निर्वाचन बहिष्कार गर्नुको विकल्प नभएको बताउनुभएको हो । ‘देशको अस्तित्व र जनताको अधिकारलाई दबाउने संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार गरेरै छाड्छौँ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारी, दलाल र अपराधीलाई चोख्याउन निर्वाचन आयोगले एउटा लाइसेन्स दिएर आयोजना गरिएको हुनाले यसलाई सबै नेपाली जनताले खारेज गर्नुपर्छ । यो नेपाल र नेपालीहरूको लागि दुःख निम्त्याउने निर्वाचन हो ।’ चुनाव खारेजी अभियान शान्तिपूर्ण हुने बताउँदै उहाँले सरकारले बल प्रयोग गरे प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो । ‘हाम्रो शान्तिपूर्ण चुनावी खारेज अभियानलाई जसले बल प्रयोग गर्छ, त्यसको कडा प्रतिवाद गर्छौं,’ उहाँले भन्नुभयो, ‘क्रान्तिकारी पार्टी र क्रान्तिकारी जनताले त्यसै छोड्नेवाला छैन । खरानी बनाएर छाड्छौँ ।’
निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया
विप्लव सहितका दलहरूले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेसँगै सरकार र सुरक्षा निकाय चनाखो बनेका छन् । प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्नेलाई निगरानी गरिरहेको जनाएको छ । चुनाव बिथोल्ने गतिविधि गरिरहेको अवस्थामा केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि सुरक्षा रणनीतिसमेत परिवर्तन गर्ने आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा निकायहरूसँग गम्भीर रूपमा छलफलमा भइरहेको बताउनुभयो । शान्तिपूर्ण रूपमा कसैले चुनावमा भाग लिन्न भन्न पाउने तर बिथोल्ने गतिविधि गर्न नमिल्ने उहाँको भनाइ छ । निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने उहाँको भनाइ छ । ‘जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर छलफलमा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘तदनुसार नै सुरक्षा योजनाको पुनरवलोकन गर्छौँ । यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइन्न । ’
मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले निरन्तर निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउँदै आउनुभएको छ । कसैले निर्वाचन बिथोल्ने प्रयास गरे सरकारले कारबाही गर्ने उहाँको भनाइ छ । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरूको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘कुनै दल वा समूहलाई निर्वाचन बिथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन,’ उहाँले भन्नुभयो । यसै सन्दर्भमा सरकारले निर्वाचन बिथोल्ने अभियानमा लागेको नेकपासँग सरकारले वार्तासमेत गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा प्रवक्ता प्रकाण्डसँग गत मंगलबार वार्ता गर्नुभएको थियो । नेकपालाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री खाँणले बताउनुभयो । रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाँणले जेलमा नेकपा कार्यकर्तालाई प्रक्रिया मिलाएर छोड्ने विषयमा छलफल भएको बताउनुभएको थियो । ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन,’ उहाँले भन्नुभयो, ‘तर, मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts