सुकुम्बासी भन्छन्-‘सधैँ आश्वासन मात्रै, हामीले लालपुर्जा कहिले पाउने ?’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । ‘हाम्रो आफ्नो घर, जग्गा जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा ठूलाबडा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, नानाथरी आशा देखाएर जान्छन्, तर चुनाव जितेपछि फर्किएर आउँदैनन् ।’ बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँको भनाइ हो यो । मियाँको आफ्नो र पैतृक सम्पत्ति केही छैन । थाहा पाउने भएदेखि उहाँको आफ्नो कुनै जग्गा जमिन छैन ।

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै आए । तर, अहिलेसम्म कोही कसैले आफूलाई लालपुर्जा दिलाउन नसकेको उहाँले गुनासो पोख्नुभयो । मियाँले आफ्नो जग्गा जमिन र बस्ने बाससमेत नभएको भन्दै अरुको आश्रय लिएर बस्नु परेको बताउनुहुन्छ । नेताहरूले जित्नका लागि सुकुम्बासी बस्तीमा आएर भोटका लागि अनेक आश्वासन दिने तर काम भने नगरेको उहाँको भनाइ छ ।

‘अहिलेसम्म दर्जनौँ नेताहरूले सुकुम्बासीहरूलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिनुभयो, हामी पनि होला भन्दै आशा गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा, यो मुलुकमा धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ,’ मियाँले भन्नुभयो, ‘चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईंहरूका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एकपटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरू यतिकै मरे ।’

आफ्ना ६ भाइ छोराहरू मध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको भन्दै अन्य पाँच भाई सुकुम्बासी नै रहेको मियाँले बताउनुभयो । उहाँले वर्षौंदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो पोख्नुभयो । आफूहरूले वर्षौंदेखि मजदुरी गरेर जीविका चलाइरहेको उहाँको भनाइ छ ।

स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीहरूका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिकी चलाउन सहज हुने बताउनुभयो । उहाँले रोजगारसमेत नहुँदा दैनिकी चलाउनसमेत गाह्रो पर्ने बताउनुभयो । खातुनले वृद्धवृद्धाले नसके पनि युवाहरूले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उहाँको भनाइ छ । सुकुम्बासीका लागि राज्यको नजर पुग्न नसकेको उहाँले बताउनुभयो ।

‘सांसद, मन्त्रीहरू भएका सबै हामीहरूले मत दिएर जितेकाहरू त हुन् नि, उनीहरूलाई हामीले माथि पु¥यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गर्दिन्छौँ र ऊ गर्दिन्छौँ भन्नेहरूले केही नगरेर सुकुम्बासीहरूलाई रोजगारको व्यवस्था गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि’ खातुनले भन्नुभयो, ‘काम केही गर्न पर्दैन, भाषण मात्रै दिन्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु, भोट मात्रै खेर गइरहेको छ ।’

ADVERTISEMENT

खातुनले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताउनुभयो । उहाँले सुकुम्बासीहरू अरूको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधि उपचारमा बढी समस्या हुने गरेको बताउनुभयो । सरकारले सुकुम्बासीका लागि निःशुल्क स्वास्थ्य उपचार र खाद्यान्नको व्यवस्था गरे आफूहरू जस्तालाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘नेताहरूसँग हाम्रो ठूलो अपेक्षा छैन, हामीहरूको आधारभूत आवश्यकताहरू पूरा गरिदिए हामी पनि अरू जस्तै जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ता कपडाको समस्या हुन्छ, खाना र अरूको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीहरूले पढ्न पनि समस्या छ, औषधि उपचार पाउनै गाह्रो छ ।’

स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नुपरेको धेरै समय भएको छैन । आधा दशक अगाडिसम्म उहाँको व्यवसाय, गाडी थियो । परिवार राम्रोसँग चलेकै थियो । बैंकबाट ऋण लिएर गाडी किनेको केही समयमै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो । बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी हुनुपर्‍यो ।

आफू सुकुम्बासी भएपछि धेरै नेताले घरबासको व्यवस्थापन गरिदिने आश्वासन दिए पनि काम नगरेको उहाँले बताउनुभयो । उहाँले अहिले भोट माग्न आउने उम्मेदवारहरूलाई आफूजस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताउनुभयो ।

क्षेत्रीले भन्नुभयो, ‘नेताले त कुरा मात्रै हुन् काम गर्दैनन्, यो गाउँमा यति धेरै सुकुम्बासी छौँ, चुनाव आउँदा मात्रै गाउँ आउँछन्, जितेपछि कहाँ जान्छन्, थाहा हुँदैन, हामी आफैँ पीडामा छौँ, त्यहीमाथि चुनावका बेला आएर आश्वासन दिन्छन्, आशा लाग्ने केही गर्छन् कि भन्ने तर केही नगर्दा हामी निकै निराश छौँ, यिनीहरूलाई भोट दिएर काम छैन, हाम्रो अवस्था कहिल्यै फेरिएन, उनीहरूलाई किन भोट दिने ?’

अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घर परिवार सुकुम्बासी छन् । आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरू बताउँछन् । यो चुनावमा आफूहरू एकजुट भएर आफ्ना समस्या समाधान गरिदिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *