बागलुङका मतदाता भन्छन्-सबै दलका एजेण्डा मतदाता झुक्याउने मात्रै छन्

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारहरूले आफ्ना घोषणपत्र तथा प्रतिबद्धता पत्रहरू सार्वजनिक गरेका छन् । उम्मेदवारहरू घोषणापत्र बोकेरै मतदातालाई भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरूले घोषणापत्रमा महत्वाकांक्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ ।

मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारहरूले नयाँ एजेण्डा देखाउन सकेका छैनन् । पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन । स्थानीय टीकाराम शर्माले अहिलेसम्म उम्मेदवारहरूले सार्वजनिक गरेका घोषणापत्रमा मतदाता झुक्याउने र भोट फुत्काउनेबाहेक अरू एजेण्डा समावेश नभएको बताउनुभयो ।

शर्माले भन्नुभयो, ‘मैले सबै दलका उम्मेदवारको घोषणा पत्र हेरेँ, पढेँ, तर कुनै पनि नयाँ योजना पाइनँ, सबै पुराना योजना समेटेका छन्, घोषणापत्रमा वर्षौंदेखि काम हुन नसकेका योजना पनि राखेको देखियो, यो सबै मतदाता झुक्याउने मात्रै भयो, पहिलेको एजेण्डा जे थियो अहिले पनि त्यही छ, यो त सिधै मतदाता झुक्याउने उपाय भयो नि, यहाँ शिक्षा, स्वास्थ्यको अवस्था निकै दयनीय छ, एजेण्डा भने ठूलाठूला मात्रै छन्, पहिला साना काम गरे पो जनताले पनि पत्याउँछन् ।’

शर्माले जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार चाहेको भन्दै यस्ता विषयलाई कम प्राथमिकता दिएको बताउनुभयो । उम्मेदवारहरूले ल्याएका चुनावी एजेण्डाहरूमा नयाँपन पटक्कै नदेखिनुले सबै उम्मेदवार परम्परागत मात्रै रहेछन् भन्ने देखाएको उहाँको भनाइ छ । चुनावी एजेण्डाहरू सबै दलका एउटै रहेको भन्दै ती योजनासमेत पूरा नगर्ने उहाँ बताउनुहुन्छ ।

‘अहिलेका घोषणापत्रमा एउटा पनि नयाँपन छैन, सबै पुराना छन्, अघिल्लोपटक भोट माग्न आउँदा पनि यही सुनाउँथे, अहिले पनि यही सुनाउँछन्,’ उहाँले भन्नुभयो, ‘हामी मतदाताहरू उनीहरूको योजना मात्रै सुन्ने भइयो, विकास देख्न र उपभोग गर्न पाइने भएन, एउटै योजना गर्छौं भनेको वर्षौं भयो तर अहिले पनि उही एजेण्डा सुनाएर भोट माग्छन् ।’

ADVERTISEMENT

ढोरपाटन–२ का दीपक खत्रीले उम्मेदवारको एजेण्डामा गरिब, दुःखी र अपांगता भएका व्यक्ति मुद्दा समावेश हुन नसकेको बताउनुभयो । उहाँले वर्षौंदेखि स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका विषयलाई प्रमुख एजेण्डा बनाए पनि अवस्था कत्ति पनि फेरिन नसकेको बताउनुभयो । निर्वाचित हुने उम्मेदवारले एजेण्डाअनुसार काम नगर्दा जनताले विश्वास गर्न छोडिसकेको उहाँको भनाइ छ ।

‘चुनावका बेला निकै महत्वाकांक्षी योजना सुनाएर भोट माग्छन्, चुनाव जितेपछि कता हराउँछन्, मैले थाहा पाउने भएदेखि अहिलेसम्म जति पनि चुनाव भए नेताहरूको एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगार नै भयो, तर काम गरेको भने केही देखिँदैन,’ खत्रीले भन्नुभयो–‘सडकको अवस्था हेर्नुस् कस्तो छ, शिक्षाको हालत उस्तै, रोजगारको त झन् के कुरा गरौँ दिनदिनै युवाहरू विदेश पलायन भइरहेका छन्, यहाँका कुनै पनि नेताले एउटा पनि युवालाई रोजगार दिएका छैनन्, बरु पासपोर्ट बनाइदिएर विदेश पठाएका छन् ।’

उहाँले एजेण्डा अनुसारको काम भएको भए पश्चिम बागलुङमा न्यूनतम विकासका पूर्वाधार निर्माण भइसक्ने बताउनुहुन्छ । एउटा सामान्य योजना पूरा गर्न वर्षौं लाग्ने र पटक-पटक चुनावमा उही एजेण्डा लिएर आउने गरेको उहाँको भनाइ छ । खत्रीले भन्नुभयो, ‘एजेण्डा राम्रो लिएर के गर्ने काम गर्दैनन्, चुनावैपिच्छे एउटै एजेण्डा हुन्छ, एउटा योजना पूरा गर्न वर्षौँ लगाउँछन्, चुनावका बेला आएर हामीहरूलाई अनेक आश्वासन दिन्छन्, काम गर्दैनन् ।’

स्थानीय पवित्राकुमारी विकले आफूहरू वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेको भन्दै चुनावका बेला आश्वासन मात्रै दिने गरेको बताउनुभयो । उहाँले हरेक चुनावका बेला घर-घरमा पानी धारो निर्माण गरिदिने भन्दै घोषणापत्रमै लेखे पनि अहिलेसम्म काम भने गर्न नसकेको बताउनुभयो ।

‘हामीहरू वर्षौंदेखि खानेपानीको अभावमा काकाकुल जस्तै बनेका छौँ, चुनावका बेला किताबमै एक घर एक धारा बनाउँछौँ भनेर लेखेका हुन्छन्, नेताले पनि हामी तपाईंहरूको लागि काम गर्छौं भन्छन् तर चुनाव सकिएपछि कहाँ लापत्ता हुन्छन्’ विकले भन्नुभयो, ‘अहिले पनि चुनाव आयो फेरि पनि त्यही कुरा गरेर भोट माग्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?