काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने दुईजना व्यापारीविरुद्ध ४५ करोड बढीको मागदाबीसहित सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सर्लाही जिल्ला घर भई काठमाडौं १४ मा व्यवसाय गर्ने अंकुश सप्लायर्स एण्ड ट्रेडर्स प्रोप्राइटर विष्णुकुमार महतो र भवानीपुर ८ घर भई काठमाडौंमै व्यवसाय गर्ने युनिक ट्रेडर्स एण्ड इन्टरप्राइजेजका प्रोप्राइटर आत्मराम पासवानविरुद्ध मुद्दा दायर गरेको हो ।
अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र युनिक ट्रेडर्स एण्ड इन्टरप्राइजेजका प्रोप्राइटरले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि (भ्याट) बिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।
उनीहरूले पाँच करोड ४१ लाख ५९ हजार २९ रुपैयाँ भ्याट तथा १७ करोड २२ लाख २१ हजार नौ सय ९४ रुपैयाँ आयकर गरी कुल २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व चुहावट गरेको देखिएकाले २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ बिगो कायम गरी ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी र हदैसम्मको कैदसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts