✍️ रमेशप्रसाद गौतम
गत सोमबारको अंकबाट क्रमशः
आफ्नो घरभन्दा उचाइमा रहेको डाँडाको काखमा उहाँहरूको बस्ती भएकाले मलाई त्यहाँ पुग्नासाथ आफ्नो तलको घरलगायत काठमाडौं खाल्डो टड्कारो देखिने हुँदा तलतिर हेर्न मन लाग्थ्यो । मैले तलतिर हेरिरहेको बेला बाबुदाइले चाहिँ यसले आमा सम्झेर हेरिरहेको होला भन्नुहुन्थ्यो । होइन बाबु यो यहाँ आउन रमाउँदछ पिताजीले भन्नुभयो । त्यसैले मैले कहिलेकाहीँ लिएर आउँछु । यसपछि बाबुदाइकी श्रीमती आएर रमेश भोकाए होलान् खाजा तयार गर्छु भन्नुहुन्थ्यो । त्यसपछि बाबुदाइले आफ्नी श्रीमतीलाई कान्छाबालाई पनि हुने सबैका लागि राम्रो खाजा सखरखण्ड र पिँडालु उसिन भनेर आफ्नी श्रीमतीलाई अराउनुहुन्थ्यो । यो हिउँदको यामको कुरा हो ।
म सानु भए पनि फूर्तिलो थिएँ । पिँडालु सखरखण्ड बाबुदाइकी श्रीमतीले छोडाएर दिन खोज्दा होइन भाउजू म आफैँ छोडाउन सक्छु मेरा लागि ताछेर दिनुपर्दैन भन्थेँ । उहाँहरू सबै दंग पर्नुहुन्थ्यो । हामी सबै रमाइलो मानेर खान्यौँ । प्रायः माथि पण्डितहरूका घरमा जाँदा सिजनल खाना नै खुवाउनु हुन्थ्यो । बर्खामासमा आरू, बगेर, नासपाती र हिउँदमा सुन्तला, भोगटे खुवाउनु भएका क्षणहरूको पनि गहिरो स्मरण हुन आउँछ । त्यहाँ पाखा, रूख, चराचुरुंगीका चिरबिर आवाज अहिले पनि कानमा गुञ्जिरहेका छन् ।
म सानै थिएँ । मेरा दुई दाजुहरू केशव र मुकुन्द दाइ बित्नुभयो । त्यस बेला आमा, पिताजी, दाजु, दिदी सबै रुन थाले म त्यत्ति बुझ्ने थिइनँ तर पनि दाइ खोइ कहाँ लगेको भनी बारम्बार सोधनी गरिरहन्थेँ ।
मेरो बाल्यकालमा पुल्डोलको जनजीवन अत्यन्त सरल र साधारण नै थियो । बाबुका चार भाइका लहरै घर लामो लमतन्न आँगनमा हामी चारै घरका केटाकेटीहरू रमाएर उफ्रने, खेल्ने ठाउँ फराकिलो र रमाइलो थियो । त्यसताका सबथोक प्राकृतिक झैँ लाग्दथ्यो । हाम्रो परिवार कृषिमा पूर्णआश्रित थियो । घर खेती सघाउन बाबुका भागमा दुई बलामी परिवार भाग लागेका थिए । ती दुवै परिवारलाई झण्डै ५/५ रोपनी जमिन घरमुनि बारीका पाटामा बस्ने घरको समेत बन्दोबस्ती गरिएकाले ती इमानदार र सहयोगी थिए ।
म बुझ्ने भएपछिका ती परिवारका मुलीहरूमा एउटा श्रीमान् बलामी र अर्को गोरे बलामी थिए । तिनले हाम्रा खेतबारीका काम सघाउँथे । घरमा पालिएका गाईभैंसीको पनि तिनै हेरचाह गर्दथे । त्यहाँ मालिक र नोकरको कुनै भेदभाव भने देखिँदैनथ्यो । जातीय प्रथाको संकीर्णता भने थियो । तिनले छोएको पानी पूजामा प्रयोग हुँदैनथ्यो । भान्छामा तिनलाई छुन दिइँदैनथ्यो । तिनले हाम्रो जुठो खान्थे तर हामीले तिनको जुठो खान हँुदैनथ्यो । हामी दूध, दही, तरकारी जे खान्थ्यौँ तिनलाई पनि त्यही दिइन्थ्यो ।
भान्छामा दालभात, रोटी, ढिडो जे पाक्थ्यो सबैले समान रूपले आफ्नो रुचिअनुसार थपीथपी खाने चलन थियो । भान्छामा पकाउने काम आमा, भाउजू, दिदीले मात्र गर्थे । यसमा बलामी परिवारको कुनै संलग्नता हुँदैनथ्यो । हामीले कुनै कुरा फुटायौँ वा खानेकुरा पोख्यौँ भने धेरैपटक गोरे बलामी र श्रीमान् बलामीले हप्काउँथे । तिनले हप्काउँदा वा झम्टदा मेरा पिताजी वा आमाले तिनलाई किन हप्काएको भनेर सोध्नुसमेत हँुदैनथ्यो । यसरी तीनमा ठूलो विश्वास थियो ।
म सानै थिएँ । मेरा दुई दाजुहरू केशव र मुकुन्द दाइ बित्नुभयो । त्यस बेला आमा, पिताजी, दाजु, दिदी सबै रुन थाले म त्यत्ति बुझ्ने थिइनँ तर पनि दाइ खोइ कहाँ लगेको भनी बारम्बार सोधनी गरिरहन्थेँ । यस किसिमको सोधनीले मेरा घर परिवारमा अरू पीडा थपि नै रहृयो । यस कुरालाई ख्याल राखेर गोरे दाइले मलाई बाबु यसरी अब नसोध दाइ अब नफर्कने गरेर गए भनी उनी पनि भक्कानिएर रोएको सम्झना आइरहन्छ । यसरी हाम्रो परिवार कामका लागि सहयोगी भई बसेकाहरूप्रति पनि इमानदार भएर अपनत्वपन देखाउँथ्यो । घरपरिवारसरह नै अस्तित्व कायम थियो । सहयोगी र घर परिवारबीच सहअस्तित्वको व्यवहारले गर्दा कामदार र घरमालिकका बीच कुनै मनमुटाव र भिन्न देखिँदैनथ्यो । त्यो नै हाम्रा लागि राम्रो पाठ बन्दै आएको छ ।
हामी तमाम सनातनी धर्मावलम्बीहरूका लागि सबभन्दा ठूलो चाडका रूपमा बडादशैँलाई लिन्छौँ । यो चाडलाई धेरै महत्व दिई हर्षउल्लासका साथ मनाइने गरिन्छ । नौरथाको नौ दिन नै दुर्गा भगवती पाठसहित पूजा गरिन्थ्यो ।
जुन समयको म कुरा गरिरहेको छु त्यो बेला चाहिँ हाम्रा आवश्यकता पनि थोरै थिए । बाहिरबाट ल्याउनुपर्ने लत्ताकपडा, नुन र मट्टितेलबाहेक अरू सबैमा हामी आत्मनिर्भर थियौँ । बाहिरबाट ल्याउने कुरामा पनि आफूसँगै भएको धान बेची पैसा लिएर अरू खाँचो पूर्ति गरिने चलन थियो । पैसा भए पनि खरिद गरिने सामान सीमित थिए । रुपैयाँ पैसाको खासै ठूलो कारोबार हुने गर्दैनथ्यो । जीवन सहज थियो । जीवन कुनै आधुनिक मनोरञ्जनका साधनविनै चल्दथ्यो । अभावबीच पनि सन्तोषले बाँच्ने प्रेरणा थियो । सबैमा भाइचारा थियो, सौर्हाद्रता थियो । आपसी मेलमिलाप थियो । मेला पर्वका कुरा थिए ।
गाउँघरमा कुनै कसैका घरमा नयाँ नौलो चीज आएमा वा पकाएमा एकले अर्कालाई बाँडिचँुडी खाने चलन थियो । हाम्रो चार घरबीच त झनै आपसी बाँडीचँुडी खाने दिने चलन थियो । घरबारीमा फलेका फलफूल वा तरकारीसमेत पहिलो खेपको पाकेको वा फलेको तरकारीसमेत चारघरभित्रका जेष्ठ व्यक्तिलाई पहिला खुवाउने चलन थियो । अनि छोरानातिहरूले खानुपर्छ भनी ज्येष्ठ नागरिकको सम्मान गर्ने परम्परा हाम्रा घरमा थियो । चाडपर्वहरूले अहिलेभन्दा निक्कै महत्वका साथ निरन्तरता पाउँथे । जीवनलाई जीवन्त बनाउन चाडपर्वले निक्कै ठूलो भूमिका खेल्दथे । साउने संक्रान्तिबाट महŒवपूर्ण चाडहरू सुरु हुन्थे । साउने संक्रान्तिमा लुतो फ्याक्ने चलन थियो । अहिले पनि साउने संक्रान्तिमा हरियो मकैको घोगैसहितको बोटलगायत अन्य वनस्पतिलाई अगुल्टाले डढाएर राँका बनाई लुतो, घाउ, खटिरा नलागोस् लागे पनि निको होस् भन्दै चारै दिशामा फाल्ने गर्दथ्यौँ । यो असारे रोपाइँको हिलोसँगको खेल एक वर्षका लागि समाप्त भएको उपलक्ष्यको उत्सव मनाउने चलनको रूप हो ।
साउनपछि जनैपूर्णिमा आउँछ । जनै बाटी त्यसमा शिखा बनाई अघिल्लो दिन शुद्ध एकछाक खाएर भोलिपल्ट जनै मन्तरेर लगाउने चलन थियो । यसलाई महत्वका साथ सबै तागाधारीले मान्ने चलन अहिले पनि छ । त्यसपछि कृष्णअष्टमी आउँछ । यो दिनलाई पनि ठूलो पर्वका रूपमा मनाइन्छ । कृष्णझुलालगायत कृष्णको भजन स्तुति गरिन्छ । गाईजात्रा पनि हाम्रो संस्कृतिको अभिन्न अंग भएकाले यसलाई धुमधामका साथ मनाइने गरिन्छ ।
हामी तमाम सनातनी धर्मावलम्बीका लागि सबभन्दा ठूलो चाडका रूपमा बडादशैँलाई लिन्छौँ । यो चाडलाई धेरै महत्व दिई हर्षउल्लासका साथ मनाइने गरिन्छ । नौरथाको नौ दिन नै दुर्गा भगवती पाठसहित पूजा गरिन्थ्यो । यसमा पिताजीले नै नौ दिन एक छाक शुद्ध खाएर व्रत बस्ने चलन थियो । दशमीका दिन दुर्गा भगवतीको पूजा सकिएपछि टीकाको साहितभित्र सबै घरका परिवारलाई राखेर मर्यादाक्रम अनुसार टीका लगाउने चलन थियो । हर्ष उल्लासका साथै गाउँका सबै टीका थाप्न आउँथे । बाआमालाई भात खाने फुर्सदसमेत मिल्दैनथ्यो । सबै टाढा टाढादेखिका आफन्त दाजुभाइको भीड लाग्थ्यो । हामी पनि वरपर मान्यजनका घरमा टीका लगाउन जान्थ्यौँ । खुब रमाइलो हुन्थ्यो ।
हाम्रो गौतम परिवारका चारजना बाबुहरूमा जेठाबा पहिले नै बित्नुभएकाले थाहा भएन । माहिलाबा तुलसी, साइलाबा शालिकराम र कान्छा मेरो पिताजी गोविन्दका समेत गरी चारजानाका १४ जना छोराहरू अर्थात् मेरा दाजुहरू थिए । तीमध्ये १२ भाइसँग मात्र मेरो साक्षात्कार हुनसक्यो । साक्षात्कार भएकाहरूमा जेठाबापट्टिका दुवैको म जन्मनु अगावै मृत्यु भएको थियो भने माइलाबापट्टिका कृष्ण, राम, कान्छा, भगवती, श्यामकृष्ण, साइलाबापट्टि, गोपीकृष्ण र कृष्ण थिए । कान्छापट्टिका हामी सात भयौँ । यी चारै भाइका परिवारबीच अत्यन्त सौहार्द्र सम्बन्ध थियो । दशैँको समयमै चार भाइका चेलीबेटी नातागोताका सबै टीका थाप्न आउँदाको भीड तीन दिनसम्म निक्कै हुनेगर्दथ्यो ।
यो भीड हाम्रा लागि निक्कै रोमाञ्चित र आनन्दप्रद हुन्थ्यो । घरको टीका लगाएपछि एकपल्ट २०२२ सालमा मामा घरमा टीका लगाउन म एक्लै हिँडे । मेरो मामाघर टिष्टुङ ढल्टा गाउँ थियो । काठमाडौंबाट निक्कै टाढा थियो । म बिहान ९ बजे घरबाट थानकोट हुँदै चन्द्रागिरिको लामो उकालो चढ्दै हिँडे चन्द्रागिरिको उकालामा फाट्टफुट्ट एक दुईजना भेटिन्थ्यो । नत्र सुनसान जस्तै देखिन्थ्यो । चन्द्रागिरिको प्राकृतिक हरियालीमा रमाउँदै कहीँ कविता कहीँ गीत गुनगुनाउँदै चन्द्रागिरि भञ्ज्याङमा पुगे । त्यहाँ पुगेर केही बेर आराम लिएँ । त्यही नजिकैको चिसो पानी खुब मीठो मानेर पिए । काठमाडौं भ्यालीलाई खुवसित हेरे । अनि त्यतिखेरै पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका खाल्डोलाई देखेर लोभिएझैँ मलाई जन्मस्थल र काठमाडौंको दृश्यले निक्कै रोमाञ्चित तुल्यायो । त्यही बसी कविता पनि कोरेँ । क्रमशः






