गलत बुझिएको ‘असुर’

वैदिक कालमा वरूण प्रधान असुर देवता थिए। ऋग्वेदमा असुर शब्द प्रचेतस वरूणका लागि प्रयोग भएको छ। प्रचेतस शब्दले चतुर, बुद्धिमान, प्रसन्न, प्रफुल्लित र वरूण देवतालाई जनाउँछ ।  

Read Time = 16 mins

डा. लक्ष्मीप्रसाद खतिवडा

काठमाडौं । हिजोआज असुर शब्दको सबैलाई थाहा भएको सामान्य अर्थ दैत्य, दानव वा राक्षस हो। हुन्दु धर्मका धार्मिक ग्रन्थहरूमा देवता र असुरहरू एकअर्काका वैरी हुन् भन्ने प्रसङ्ग जोडिएको पाइन्छ। आजकल त सुरहरू आर्य र असुरहरू अनार्य वा राईलिम्बु वा मङ्गोलियन परिवारका जाति हुन् भन्नेसम्मको भ्रम छ। हिन्दु धर्ममा जन्मका आधारमा वर्ण व्यवस्था हुने परम्परा स्थापित गराउन वेदको गलत व्याख्या गर्ने परम्परा नै बसेको छ।

वर्ण व्यवस्था र जाति व्यवस्था फरक कुरा हुन्। वैदिक वर्ण व्यवस्था गुण र कर्मको विशिष्टीकरणसँग सम्बन्धित हो। वैदिक ग्रन्थमा वर्ण रङ्गको अर्थमा पनि प्रयोग भएको छ। मानिसका सन्दर्भमा वर्णको समानान्तर शब्द वर्ग हुन सक्ला तर जाति हुन सक्दैन। नेपालको संविधानमा खसआर्य भनिएका जाति चाहिँ आर्य र बाँकी जनजाति अनार्य वा असुर हुन् भन्ने आशयका शब्दावली र वाक्य समेत राखिएको छ। यो गलत कुरा हो। आर्य जाति देवताको कोटिका र अनार्यहरू असुरको कोटिका जाति हुन् भन्ने मान्यताले नेपालको सामाजिक शिक्षामा जरा गाडिसकेको छ।

वैदिक संहिता, ब्राह्मण, आरण्यक र उपनिषद ग्रन्थहरू वैदिक सनातन धर्मका आधारशीला हुन्। यी ग्रन्थहरूमा असुरको अर्थ प्रतिभाशाली र बलियो भन्ने हुन्छ। ऋग्वेदमा वरूणलाई असुर महद भनिएको छ, जुन इरानीहरूको धार्मिक ग्रन्थमा अहुर मज्दा भएको छ। असुरको प्रारम्भिक वैदिक अर्थ केवल बुद्धिमान र बलियो हो। तर समयममा असुर भनेको सुरको विपरीत भन्ने अर्थमा अर्थारूढ भएको हो। वेदको व्याख्या गर्ने लगभग सबै विद्वानहरूले असुर शब्दको अर्थ  भगवानका रूपमा लिएका छन्। जब संस्कृत साहित्यको अनुवाद अङ्रेजीमा गर्ने काम सुरू भयो तब असुरलाई जातिका रूपमा पहिचान गराउन थालियो। यसको सुरूआत १७ औँ १८ औँ शताब्दीमा संस्कृतको अनुवाद अङ्रेजीमा गर्दा नै भ्रम सिर्जना गर्ने मनसायबाट भएको देखिन्छ।

आज मानिसले बुझ्ने गरेको दुष्ट, राक्षस, दानव, निशाचर, पिशाच, रात्रिचर भनेका असुर हुन् भन्ने कुरा वेदमा कहीँ उल्लेख छैन। वैदिक कालमा असुर शब्दको अर्थ यसभन्दा नितान्त फरक थियो। वैदिक साहित्यमा असुर भनेका भगवान् हुन्। वैदिक कालमा वरूण प्रधान असुर देवता थिए। ऋग्वेदमा असुर शब्द प्रचेतस वरूणका लागि प्रयोग भएको छ। चेतसमा प्र उपसर्ग लागेर बनेको प्रचेतस शब्दले चतुर, बुद्धिमान, प्रसन्न, प्रफुल्लित र वरूण देवतालाई जनाउँछ।

तद्देवस्य सवितुर्वीर्यं महद् वृणीमहे असुरस्य प्रचेतसस्। ऋग्वेद- ४.५३.१

अर्थात हामी सबैलाई जन्म दिने प्रचेतस असुर वरूण हुन्। हामी सबै उनको वरण गरौँ।

संस्कृतमा प्रत्येक शब्दको अर्थ जान्नका लागि यसको मूल शब्द खोजेर व्याख्या गरिन्छ। वेदका व्याख्यानकर्ताहरूले असुर शब्दको व्याख्या गर्दा यसको व्युत्पत्ति पनि दिएका छन्। असुरको व्युत्पत्तिगत अर्थ हुन्छस प्राण भएको वा प्राणवन्त वा प्राणशक्ति सम्पन्न (असुरिति प्राणनामास्त : शरीरे भवति, निरूक्त ३.८)।

असु’को अर्थ प्राण वा जीवन र र को अर्थ गति र ताप हुन्छ। संस्कृतमा र प्रत्यय लागेर बनेका शब्दले सकारात्मक र सहृदयी अर्थ दिन्छ जस्तै मधु र, मुख र, नग र आदि। यसरी वैदिक कालमा असुर भनेको जीवन भएका सबै देवहरूको लागि प्रयोग गरिन्थ्यो।

ऋग्वेदमा यत्रतत्र वरूणलाई असुरको रूपमा वर्णन गरिएको छ। इन्द्रको व्याख्यानभन्दा पहिले वरूण आकाशसँग सम्बन्धित देवता हुन्। पछि वरूणदेवलाई समुद्रका साथै ऋत वा न्याय र सत्यसँग पनि जोडिएको छ। वरूण जसलाई  समुद्रका देउता, सत्यको प्रतीक, ऋतु परिवर्तन एवं दिन रातका नियन्त्रक र आकाश, पृथ्वी एवं सूर्यको निर्माता भनिन्छ। ऋग्वेदको शैशिरीय शाकलशाखा अन्तर्गत ऐतरेय ब्राह्मण ग्रन्थका अनुसार मित्र रात र वरूण दिनका प्रतीक हुन्  (ऐतरेय ब्राह्मण ४.१)। वरूणलाई वेदमा पानीको सृष्टिकर्ता भनेर पनि वर्णन गरिएको छ।

हिन्दू पुराणहरूमा वरूणलाई महासागरहरूको देवता भनेको छ। उनको वाहन मकर ९गोही० हो। वरूण पश्चिमी दिशाका संरक्षक देवता पनि हुन्। ऋग्वेदमा असुर वरूणसँग जोडेर अन्य देवताको पनि नाम लिएको छ। असुर शब्द मित्रवरूण आदि देवताहरूका लागि पनि प्रयोग भएको छ। वेदको परम्परागत शब्दकोश निरूक्त र निघन्टुहरूमा मित्र र वरूण दुवैलाई अतुल्य देवता भनिएको छ। मित्र जीवनको संरक्षणको अर्थमा र वरूणलाई जलसञ्चय र वृष्टि वा वर्षाका अर्थमा लिइएको छ। (निरूक्त ५.३)।

आज मानिसले बुझ्ने गरेको दुष्ट, राक्षस, दानव, निशाचर, पिशाच, रात्रिचर भनेका असुर हुन् भन्ने कुरा वेदमा कहीँ उल्लेख छैन। वैदिक कालमा असुर शब्दको अर्थ यसभन्दा नितान्त फरक थियो। वैदिक साहित्यमा असुर भनेका भगवान् हुन्। वैदिक कालमा वरूण प्रधान असुर देवता थिए। ऋग्वेदमा असुर शब्द प्रचेतस वरूणका लागि प्रयोग भएको छ। चेतसमा प्र उपसर्ग लागेर बनेको प्रचेतस शब्दले चतुर, बुद्धिमान, प्रसन्न, प्रफुल्लित र वरूण देवतालाई जनाउँछ।

ऋग्वेदमा प्रकृति र देवतालाई असुर भनिएको छ।

तमु ष्टुहि यः स्विषुः सुधन्वा यो विश्वस्य क्षयति भेषजस्य।

यक्ष्वा महे सौमनसाय रूद्रं नमोभिर देवम असुरं दुवस्य। ५. ४२.११

अर्थात राम्रो बाण र राम्रो धनुष भएका, सन्सारमाथि शासन गर्ने रूद्रको महान् कृपाका लागि रूद्रको आराधना गर। भगवान् असुरलाई नमस्कार गर्दै पूजा गर।

मित्र र वरूण दुबैलाई ऋग्वेदमा असुरको रूपमा वर्गीकृत गरिएको छ।

सम्राजा उग्रा वर्षभा दिवस पती पर्थिव्या मित्रावरूणा विचर्षणी।

चित्रेभिर अभ्रैर उप तिष्ठथो रवं दयां वर्षयथो असुरस्य मायया। ऋग्वेद- ५.६३.३

ADVERTISEMENT

हे मित्रवरूण बलवान, वीरहरू, स्वर्गका स्वामीहरू, तपाईं सदा सक्रिय हुनुहुन्छ। असुरको महान शक्तिले स्वर्गमा वर्षा गराउनुहुन्छ। तपाईंको असुरशक्तिले प्रकाश दिने सूर्यलाई बाहिर ल्याउनुहुन्छ।

ऋग्वेदमा सौर्य देवता वा सवितालाई पनि असुरको रूपमा वर्णन गरेको छ।

हिरण्यहस्तो असुरः सुनीथः सुमृळीकः स्ववाँ यात्वर्वाङ्।

अपसेधन्रक्षसो यातुधानानस्थाद्देवः प्रतिदोषं गृणानः। ऋग्वेद- १.३५.१०

सुनौला हस्तयुक्त हे असुर (प्राण) दयालु देवता कृपा गरेर हामीकहाँ आउनुहोस्। राक्षस र यातुधनलाई भगाएर, साँझमा पनि उपस्थित हुनुहोस्। (सायद यो डुब्न लागेको सूर्यलाई स्तुति गरिएको होला)

त्यस्तै महान राजा वा शासकका लागि असुर शब्द प्रयोग भएको छ।

इमे भोजा अङ्गिरसो विरू॑पा दिवस्पुत्रासो असुरस्य वीराः।

विश्वामि॑त्राय दद॑तो मघानि॑ सहस्रसावे प्र तिरन्त आयुः॑। ऋग्वेद – ३.५३.७

वैदिक कालमा वरूण प्रधान असुर देवता थिए । ऋग्वेदमा असुर शब्द प्रचेतस वरूणका लागि प्रयोग भएको छ । चेतसमा प्र उपसर्ग लागेर बनेको प्रचेतस शब्दले चतुर, बुद्धिमान, प्रसन्न, प्रफुल्लित र वरूण देवतालाई जनाउँछ ।

अङ्गिरस, भोज आदि वीर राजा ! प्रजाका रक्षक, अनेक रूप भएका प्रकाश स्वरूप असुर वरूणका पुत्र जस्तै बलिया छन्। सिद्ध रक्षकबाट सेवित असङ्ख्य धनको उत्पत्ति गर्ने, युद्धमा  सारा विश्वलाई मित्र बनाउन सक्ने, मानिसहरूलाई जीवन र आयु प्रदान गर्ने हामी तपाईंहरूद्वारा सुरक्षित छौँ। त्यस्तै,

तवं विश्वेषां वरूणासि राजा ये च देवा असुर ये च मर्ताः।

शतं नो रास्व शरदो विचक्षे।अच्यामायूंषि सुधितानि पूर्वा। ऋग्वेद- २.२७.१०

मदबाट सर्वथा रहित भएका अतिश्रेष्ठ असुर वरूण, विद्वान् पुरूष, तिमी विश्वका सबै मनुष्यादि जगतका राजा,  विद्वान्, सभासद्  र सामान्य मनुष्यका हर्ताकर्ता हामीलाई सुन्दर जीवन यापनको अवसर दिनुहोस्।

ऋग्वेदमा असुरलाई प्राणशक्ति दिने महान ईश्वरीय गुण भएका देवताका रूपमा वर्णन गरेका सूक्त र ऋचाहरू धेरै छन्। आर्यहरू पश्चिम उत्तरबाट हरप्पा ९हरियुपिया अर्थात हरिको युप, हरिको मौलो गाडिएको स्थान० मा आएका मानिसहरू हुन् र उनीहरूले मोहेन्जोदरो र हरप्पामा आक्रमण गरेर यही बस्न थाले भनेर इतिहासका पुस्तकहरूमा पढाइएको छ। आर्यन आक्रमण सिद्धान्त वा आर्यन इन्भेजन थ्यौरीलाई आधार बनाएर नीट, अर्भिड्सन (नीट १९४४  र अर्भिडसन २००६) ले समेत चुच्चो नाक र अग्लो निधार भएका सुर भनिने विदेशी आर्य, बाहिरबाट आएका हुन् र यहाँका काला, चेप्टा नाक भएका अनार्य हुन् भनेर लेखे। तर प्रमाणित तथ्य के हो भने आर्य आक्रमण सिद्धान्त मूल रूपमा इष्टइन्डिया कम्पनीको उद्देशय प्राप्तिका लागि विकास गरिएको थियो। आर्य आक्रमण सिद्धान्तले वैदिक संस्कृति र सभ्यता विदेशी मूलका हुन् भनी जोड दिएको छ। आर्य अनार्य वा सुर असुरहरू फरक फरक मानव जाति हुन् भन्ने कुराको बिउ रोप्ने काम यहीँबाट भएको हो। आजको समयमा आर्य आक्रमण सिद्धान्त इतिहास, मानवशास्त्र, भाषाविज्ञान र पुरातत्वशास्त्रले पुष्टि गर्न नसकेर आप्रवासी सिद्धान्त भनेर पुन व्याख्या गर्न थालिएको छ।

१९ औं शताब्दीमा असुर शब्द भाषिक रूपमा इन्डो आर्यन भाषा परिवारका मानिसहरूले प्रयोग गरेको र इरानियन प्राचीन सभ्यताको जोराष्ट्रियन समयको अहुर शब्दसँग साम्य भएको चाहि प्रमाणित भयो। वैदिक र जराथ्रुस्त वा जोराष्ट्रियन  दुवै धर्ममा असुर अहुर, वरूण वरूण, देव दएव शब्द प्रचलनमा थिए। तर अङ्ग्रेजीमा अनुवाद गर्दा पूर्वीय दर्शनका कतिपय शब्दको सही अनुवाद हुन नसकेर अर्थको अनर्थ लाग्ने अवस्था पनि सिर्जना भएको छ। जस्तै साधना भनेको प्रेयर होइन, धर्म रिलिजन होइन, यज्ञ सेक्रिफाइस होइन, असुर डेमन होइन, आकाश फिजिकल स्पेस मात्र होइन, अग्नि फिजिकल फायर मात्र होइन, शिव सर्वनाशक (डिस्ट्रोयर) होइन। वैदिक सभ्यतामा आर्य  शब्द कुनै जाति विशेषका लागि प्रयोग भएको थिएन। यो श्रेष्ठतासूचक विशेषण शब्द थियो। संस्कृत भाषा र  जर्मन भाषाका शब्दमा समानता पाइएपछि जर्मनीमूल  (युरोपियन, अङ्ग्रेज !) जातिलाई सभ्य भनी देखाउन आर्यन रेसका नाममा धेरै कसरत भयो। अन्तत जर्मन नाजीहरू आर्यका मूल जाति हुन् भनेर पनि धुप्रै इतिहासका पुस्तक लेखिएका छन्।

वैदिकग्रन्थको संहिता तहको सबैभन्दा पुराना पाठमा असुरहरू आध्यात्मिक, दैवी प्राणीहरू हुन्। तर पछिल्ला युगमा असुरको प्रयोग देवताहरूको शत्रुको रूपमा प्रख्यात भयो। असुरहरू देवता (सुर) का दाजुभाइ हुन् र दुवै प्रजापतिका सन्तानहरू हुन्। सुरूमा देव र असुर दुवै अलग थिएनन्, एकअर्काका पर्यायवाची थिए। सुरूमा सबै महान देवताहरूलाई असुर भनिन्थ्यो। असुरको प्रारम्भिक वैदिक अर्थ केवल बुद्धिमान र बलियो हो।

 

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?