किसानलाई बाली स्याहार्ने चटारो, उम्मेदवारलाई घरदैलो चहार्ने हतारो

जनता भन्छन्- ‘अब भाषण सुनेर होइन, काम गर्नेलाई मत दिने हो’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । आगामी वैशाख ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक रौनक सुरु भएको छ । राजनीतिक दलका नेता र उम्मेदवारहरू यतिबेला मतदाता रिझाउँदै गाउँगाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान गरिदिने डरले उनीहरू आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् ।

उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागिरहेका छन् । उनीहरू आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् । बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौ छर्ने चटारोमा छन् । कामको मुख्य सिजनमा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरूको धोको छ ।

प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो । किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताहरूले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे ।
किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनी पर्ने गरेको गुनासो गरेका छन् । खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरूले सहज रूपमा सिँचाइको व्यवस्था गरिदिनु पर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताउनुभयो । उहाँले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याई भएको भन्दै यही समयमा उम्मेदवारले भोट माग्न बारीमा आइरहेको बताउनुभयो ।

खत्री भन्नुहुन्छ- ‘हामीहरूलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेताहरूलाई भोटको, आकाश गड्याङगुडुङ गर्दा धान सबै सखाप हुन्छ कि भन्ने पीर लाग्छ, नेताहरू बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो ।’

उहाँले गाउँमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धान, गहुँ सोचे अनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदानसमेत आफूहरूले पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले दिनदिनै फरक-फकर उम्मेदवारहरू आएर आफूहरूलाई आश्वासन बाँड्नेबाहेक अरू काम नगरेको सुनाउनुभयो । उहाँले भन्नुभयो– ‘कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरू आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अब सिँचाइको व्यवस्था गरिदिए कति राम्रो हुँदो हो ?’
ढोरपाटनका स्थानीय चुडामणि कार्कीले पछिल्लो केही दिनयता उम्मेदवार तथा नेताहरू भोट माग्न घरदेखि बारीसम्म आएको बताउनुभयो । उहाँले उम्मेदवारलाई कृषकहरूको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताउनुभयो । कार्कीले यस क्षेत्रबाट धेरैपटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताउनुभयो ।

ADVERTISEMENT

‘हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नुभएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरूलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईंहरूको काम गर्छौँ भनेका छन्,’ उहाँले भन्नुभयो- ‘हामीहरूले राम्रो नेता खोजेका छौँ, जनताको काम गर्ने नेता चाहेका छौँ ।’

स्थानीय प्रेमनाथ पौडेलले नेताहरूले बारीमै आएर भोट माग्न किसानहरूलाई फकाई राखेको बताउनुभयो । उहाँले सोझासाझा जनतालाई नेताहरूले पटक-पटक आश्वासन मात्रै दिएको हुँदा अहिले धेरै निराश बनेको बताउनुभयो । पौडेलले समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको भन्दै अहिले जनतालाई झुक्याउने नेताको कमी नभएको बताउनुहुन्छ ।

‘अहिलेको जमानामा पनि नेताहरूले जनतालाई झुक्याउन खोज्छन्, अनेकथरीका आश्वासन दिन्छन्, हामी त हैरानै भयौँ, अहिलेसम्म किसानका लागि काम गर्ने नेता यो ठाउँमा अझै आएन,’ पौडेलले भन्नुभयो- ‘अब त धेरै नागरिक सचेत भए, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न ।’

दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ जना उम्मेदवार छन् । प्रदेशतर्फ १८ जना र प्रतिनिधि सभा तर्फ १३ जना उम्मेदवारी छन् । बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सातजना छन् भने क्षेत्र नम्बर १ (क) मा पाँच, (ख) मा चारजना, क्षेत्र नम्बर २ (क) मा दुईजना र (ख) मा सातजना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *