संविधान निर्माणदेखि विकास निर्माण दुईवटै प्रतिवद्धता अनियमितता बेगर पूरा गर्नुनै मेरो चुनाव जित्ने आधार : राजु खनाल (प्रदेश सभा उम्मेदवार)

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 12 mins

दाङ । विसं २०७० को संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित कांग्रेसका राजु खनाल अहिले प्रदेशसभा निर्वाचन लड्दै हुनुहुन्छ । दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा उम्मेद्धारी दिनुभएका खनालले गठबन्धनको बलियो शक्ति रहेको यो क्षेत्रमा आफ्नो जित सहज दाबी गर्नुभएको छ । मतदाताहरुमा अघिल्ला जनप्रतनिधिहरुबाट हुन नसकेका कामहरुको बिश्लेषण भैरहेको भन्दै खनालको मतदाताहरुको आधारभूत आवश्यक्ता प्रदान गर्ने सामथ्र्य आफूमा रहेको दाबी छ । खनालसंग उहाँको चुनावी एजेण्डा र चुनाव जित्ने आधारका बिषयमा केन्द्रीत रहेर दाङ संवाददाता विवेक खड्काले गर्नुभएको कुराकानी ।

मतदाताहरुको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

बिगतमा पनि हामीहरुले तपाईलाई सधैँ साथ दिँदै आयौँ,तर जुन स्थिरताको कल्पना भएको थियो त्यो भएन भन्ने गुनासो छ । यो गुनासो समग्र राजनीति प्रतिको गुनासो हो । राजनीतिक दलहरु स्थिरताको पक्षमा लाग्नु होला, हामीहरुलाई सुख सुविधा प्रदान होला भन्ने आशा गरेका थियौँ भनेर मतदाताहरुले गुनासो राख्नु हुन्छ । त्यसमा पनि संविधान निर्माण पछिको अवस्थाबाट मतदाताहरु अझ बढि आशाबादी भएको मैले पाएँ ।
तर त्यो आशा पूरा भएन भन्ने नै मतदाताहरुको गुनासो छ । यसकारण राजनीतिक नेतृत्व प्रतिको आक्रोश छ, दलहरुले केहि गर्न सकेनन् भन्ने गुनासो स्वाभाविक पनि छ । हामीले भएका उपलब्धीको रक्षा र आधारभूत आवश्यक्ता सम्बोधनका लागि गठबन्धन गरेर अगाडी बढेका छौँ भनेर मतदाताहरुलाई भनिरहेका छौँ, मतदाताहरुलाई बुझाउने प्रयत्न गरिरहेका छौँ ।

मतदाताहरुको गुनासो सम्बोधन गर्ने तपाईका ठोस अजेण्डा के हो ?

हिजोको सोँचले हैन, अब जनता केन्द्रीत हुनै पर्छ । जनता प्रति उत्तरदायी भएर कार्यक्रम, नीति निर्माणगर्नै पर्छ । तत्कालीन रुपमा सबै ठाउँमा सहज यातायात सेवा उपलब्ध हुन सकोस् । सहज रुपमा हाम्रा सन्ततीहरुले गुणस्तरिय शिक्षा आर्जन गर्न सकुन् । हरेक नागरिकका लागि गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच कायम होओस् । कृषकहरुले समयमै मल बिउको पाउन सकुन् । कृषकहरुलाई दिन सकिने राहतका कार्यक्रहरु तयार पारेर अघि बढ्ने मेरो योजना हो । प्रकृतिक स्रोत साधनको संरक्षण र प्रवर्धन गरेर यहाँ रोजगारीको सृजना गरिनु आवश्यक्ताको बिषय हो । यसर्थ म यो वातावरण निर्माणका लागि लागि परेको छु, लाग्ने छु र यसको सकारात्मक नतिजाका लागि सफल पनि हुने छु । म उम्मेदवार भएकोले पनि यहि अजेण्डामा केन्द्रीत छु ।

संसद विघटनको मतदाताहरुको मनोभाव कस्तो बनेको छ ?

चुनावका बेलामा अल्मलाउँछन् तर काम भने उल्टो गर्छन् भन्ने आम बुझाई बनेको छ । बुद्धिजिवीहरुमा पनि राजनीतिक नेतृत्व प्रति आक्रोश छ । त्यसबाट हामीहरुले गल्ती महशुस गरेर अब आउने पुस्ताले मतदाताको त्यो भावनालाई समेटेर गल्ती नगर्ने चेष्टा गर्नुपर्छ । यदि हामीहरुले यसलाई करेक्सन गरेर जान सकेनौँ भने अझ बढि आक्रोश बढ्छ , यथार्थलाई स्वीकार्नु पर्छ । र यहाँले भने जस्तो संविधान मास्ने प्रयास जसरी कुनै एक दल बिशेष एमालेले गर्न खोज्यो । यसले त्यो गलत कदमको हकदार दल एमालेलाई त सबै भन्दा बढि असर पर्ने नै भयो, तर अरुलाई पनि कतै न कतै मुछ्दै जाने भयो नि । पाँच बर्ष सम्मको म्याण्डेट सहित स्थिर सरकारको परिकल्पना हामीहरुले गर्यौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आशा देखाएको सरकारको नेतृत्व गरेको दलबाट ठिक उल्टो भयो । सविधान मास्न खोज्ने हर्कत हुनुलाई आम मतदाताहरुले सहि कि गलत भनेर सहजै बुझ्ने कुरा हो । स्थिर भनेर परिकल्पना गरिएको सरकारका पालामा भएको अनियमीतता,प्रेस माथिको अधिकार कुण्ठित गरिनु आमनागरिकको हित अनुकुलका कामहरु भएनन् । अनि कोरोना संक्रमणका बेला नागरिकहरु छट्पटाएर बस्नु परेको जर्जर अवस्था थियो । यो बेलामा नागरिकहरुलाई राज्यको सहारा चाहिएको थियो, तर त्यहि बेला नागरिकका लागि खरिद भएका स्वास्थ्य सामाग्रीमा भएका घोटालाले आम नागरिकहरुलाई तत्कालीन राज्य संयन्त्र प्रति झनै बढि क्रुद्ध बनाएको हामीले देख्यौँ । हामी अहिले तिनै गलत कदमको बिरोधी शक्तिहरु मिलेर गठबन्धनमा छौँ । हाम्रो अहिलेको अजेण्डा पनि के हो त भन्दा मुलुकमा भएका उपलब्धीहरुको रक्षा हाम्रो पहिलो प्राथमिकता हो । त्यसपछि जनताको सेवा सुविधाका लागि हाम्रो अको मूल प्रतिवद्धता हो ।

तपाईँले गठबन्धनको कुरा गर्नु भयो, चुनावमा यसको कार्यान्वयनको पाटोलाई कति मजबुत देख्नु हुन्छ ?

ADVERTISEMENT

निर्वाचनमा यो अझ कस्सीएर जान्छ । हिँजो स्थानीय तहको चुनावमा गठबन्धन कार्यान्वयनको पहिलो अभ्यास भयो । एउटा पार्टीको चुनाव चिन्हमा अर्को पार्टीका मतदाताहरुले मत हाल्ने अभ्यासको सुरुवात हिँजो भयो । यसको कार्यान्वयनमा केहि सामान्य कमजोरी भए होलान् । र अर्को कुरा मतदानका क्रममा देखिएको मतपत्रको उल्झनका कारण बदर मतको संख्या बढेर गयो र घोराही उपमहानगरको परिणाम हाम्रो अनुकुल हुन सकेन । तर अहिले मतदाताहरु सबै सचेत हुनुहुन्छ । मतपत्रको उल्झन पनि अहिले त्यस्तो जटिल छैन । र गठबन्धनलाई मजबुत बनाएर राष्ट्रहितका पक्षमा सबै अडिग रहनु पर्छ भन्ने बुझाई आम मतदाहरुमा परेको छ । यसले पनि गठबन्धन कार्यान्वयनको पाटो बलियो बनेर आगामी निर्वाचनमा गठबन्धनको सहज जीत प्रष्टै देखिएको छ । हिँजो भन्दा अझ कसिलो अवस्थामा अहिले गठबन्धन अगाडी बढेको छ । यदि हामी अहिले चुक्यौँ भने फेरी राजनीतिक अस्थिरतामा मुलुक जान्छ भन्ने चेत गठबन्धनका नेता देखि तल्लो तहका कार्यकर्ताहरु सम्मै छ ।

कांग्रेसले आफ्नो योगदानको जस लिन सक्दैन, अरुले लिन्छन् र चुनावी अजेण्डा बनाउँछन् भन्ने चर्चा चल्छ नि ?

यो सत्य हो । मुलुकमा भएका हरेक उपलब्धीको जस एमालेले लिन खोजिरहेको छ । मैले उदाहरणकै रुपमा भन्छु म अहिले जुन निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको छु , यो क्षेत्रमा अघिल्लो पटक एमालेका नेता शंकर पोख्रेल निर्वाचित हुनु भयो र मुख्यमन्त्री पनि बन्नु भयो । उहाँ अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ । उहाँले हिजो निर्वाचित भएको क्षेत्र अन्तर्गत बंगलाचुली गाउँपालिकामा के काम गर्नु भयो ? म उहाँलाई सोध्न चाहन्छु ।

म धेरै पटक त्यहाँ पुगेँ, तर उहाँले मैले यसो काम गरेँ भनेर देखाउने एउटा ठाउँ छैन । तर उहाँकै दलका कार्यकर्ताहरुले अन्य ठाउँका योजनाहरुलाई हामीहरुले गरेका हौँ भनेर प्रस्तुत गरिरहनु भएको छ । मैले फेरी पनि प्रश्न गरेँ कि हिँजो मुख्यमन्त्री भएका शंकर पोख्रेलले गरेका काम खोई ? एउटा त देखाउनुस् । यसर्थ उहाँहरुले आफूहरुले गलत प्रचारबाजी गरेर हरेक उपलब्धीको जस लिन खोज्नु हुन्छ, यो उहाँहरुको प्रबृत्ति नै हो ।तर मतदाताहरुलाई यसरी गलत प्रचारबाजी गरेर अब अल्मल्याउन सकिने छैन । मतदाताहरुले सत्य के हो ? भनेर बुझिसक्नु भएको छ ।

चुनाव जित्ने आधारहरु के छन् ?

पहिलो कुरा म संविधान सभा सदस्य हो । म यहि निर्वाचन क्षेत्रबाटै निर्वाचित भएर संविधान लेखन जस्तो महत्वपूर्ण ऐतिहासिक काममा सहभागी भएँ । यससंगै मैले यहाँको विकास निर्माणका लागि मेरो अर्को प्रतिवद्धता थियो । मैले संविधान निर्माण र विकास निर्माण दुईवटै प्रतिवद्धता पूरा गरेँ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि म उम्मेदवार बनेँ । त्यो बेला पनि मलाई मतदाताहरुले माया गर्नुभयो । तर त्यो बेला माओवादी र एमालेको गठबन्धनका कारण म पराजित बन्न पुगेँ । र अहिले पनि मतदाताहरुको भरोसा म प्रति छ । किनभने म हिजो सांसद निर्वाचित भएका बेला पनि कांग्रेस सरकारमै थियो । त्यो बेला म माथि लाञ्छना लगाउने कुनै ठाउँ मैले दिएन । यसले काम गर्न सकेन, आर्थिक हिनामिनामा जोडियो भनेर मैले कतैबाट गुनासो गर्ने ठाउँ दिइनँ । यि संगै हरेक गलत अनियमीतताका कुरामा मेरो नाम जोडिएन । यसर्थ यो काम गर्ने मान्छे हो भन्ने बुझाई म प्रति मतदाताको छ । त्यसमा पनि म आन्दोलनबाट आएको व्यक्ति हिँजो पञ्चायत बिरोधी आन्दोलनमा बिद्यार्थी आन्दोलनबाट निरन्तर राजनीतिमा सकृय रहेको मान्छे हुँ म । त्यसैले सहजता पूर्वक हामीले चुनाव जित्ने आधार छ । र म प्रतिको मतदाताको प्रेम, सद्भावले पनि मलाई जित दिलाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *