भोजपुरको एक मात्र सिनेमा हल ८ बर्षअघिको भुकम्पले बन्दको बन्दै

Read Time = 5 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा करिव ८ बर्ष अगाडीसम्म मनोरञ्जन लिने माध्यम सदरमुकाममा रहेको एक मात्र सिनेमा घर थियो । हलमा नयाँ फिल्म हुन लाग्दा बजार र आसपासमा समेत पोस्टरहरु टाँस्नेगरिन्थ्यो । तर अहिले भने भोजपुरको सिनेमा घर जीर्ण अवस्थामा पुगेको छ ।

माटो र ढुंगाले निर्माण गरिएको सिनेमा हल २०७२ साल बैशाखमा गएको भुकम्पबाट जीर्ण भए पछि भोजपुरको सिनेमा हल समेत पूर्णरुपमा बन्द गरिएको हो । हललाई पुन निर्माण गरी संचालन ल्याउनु भन्दा आवश्यक प्रक्रिया पुर्याएर हल नै बन्द गरिएको छ । दिनमा दिउँसो र राती गरी दुई सो देखाईने सिनेमा हलमा बिदाका दिनहरुमा गाउँबाट समेत सर्वसाधारणको भीड हुन्थ्यो ।

शनिबार आउने बितिक्कै भोजपुरका गाउँबाट समेत नेपाली चलचित्र हेर्न सदरमुकाममा सर्वसाधारण आउने गरेको सम्झदै स्थानीय सन्तोष श्रेष्ठ भन्नुहुन्छ, “नेपाली चलचित्र हेर्न रुचाउने त्यस समयका दर्शकलाई हलमा गएर चलचित्र हेर्न पाउँदो छुट्टै मज्जा हुन्थ्यो तर अहिले त्यो मनोरञ्जन दिने हल नै बन्द भयो ।” २०५१ सालमा स्थापित सिनेमा हल रिलबाट सुरु भएर डीभीडी हुँदै थ्रीडी थिएटरसम्म आइपुग्दा बन्द भयो । विभिन्न बाधा व्यवधानका बावजूद हललाई व्यवस्थापन गर्दै हप्तामा एकपटक सिनेमा चलाउने गरिन्थ्यो । सो समयमा मोवाइल लगायतका नयाँ प्रबिधिहरु समेत जिल्ला भित्री नसकेको हुनाले साथी भाई र परिवारसँग रमाइलो गर्ने साधन नै सिनेमा हल थियो, स्थानीय अनिल श्रेष्ठले भन्नुभयो ।

भूकम्पले हल जीर्ण बनाएपछि शिवशक्ति चलचित्र हल पूर्णरुपमा बन्दै नै हुन पुग्यो । भुकम्प भन्दा अगाडी हलमा विभिन्न एकल साँस्कृतिक साँझ, नाटक, कविता मञ्चन र वृत्तचित्र समेत प्रदर्शनी हुदै आएको थियो । मर्मत सम्भार गर्न धेरै खर्च लाग्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालक मन्दीप राईको भनाई रहेको छ । आधुनिक प्रविधिको जमानामा दर्शकको रोजाई अनुसारकै मल्टिप्लेक्स स्क्रिनको थ्रीडी सिनेमा बनाउन धेरै लगानी लाग्ने र तत्काल स्रोत जुटाउन समस्या भएको राईले बताउनुभयो । जीर्ण अवस्थामा पुगेको सिनेमा हल भत्काएर अन्य प्रयोजनका लागि भाडामा दिने तयारी गरिएको छ । “बढ्दो प्रविधिको विकास, कामको व्यस्तता, चलचित्रको खस्कँदो स्तर र भूकम्पले जीर्ण भवन लगायतले हलमा दर्शकको संख्या न्यून हुँदै गएको छ ।” संचालन राईले भन्नुभयो ।

ADVERTISEMENT

तर संचालकले यस्तो बताई रहदाँ अहिले पनि साथीभाईसँग फुर्सदको समयमा हलमा नै गएर ठुलो पर्दामा चलचित्र हेर्नुको छुट्टे मनोरञ्जन हुने स्थानीय तेजेन्द्र तामाङको धारणा छ । “परिवार, आफन्त र कलेजका साथीभाइसँग हप्तामा एकदिन छुट्टी मनाउन ठूलो पर्दामा चलचित्र हेर्दा मनमष्तिस्कलाई तनावमुक्त राख्न सघाउ पनि पुग्छ ।” तामाङले भन्नुभयो ।

नेपाली चलचित्र लाइनमा दयाहाङ राई, कमलमणि नेपाल जस्ता राष्ट्रियस्तरका चर्चित कलाकार भोजपुरका नै हुन तर उनीहरुले अभिनय गरेको चलचित्रहरु नै भोजपुरमा भने ठुलो पर्दामा हेर्न नपाउनु अलिक खल्लो जस्तो देखिन्छ, स्थानीय संजिव कार्कीले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?