मिठो फलफूल बेच्ने धनमायाको नमिठो कथा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

-डम्मर बुढा मगर

बागलुङ । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्ली गल्लीमा भेटिनुहुन्छ । काँधमा ढोको र हातमा पोकापुन्तुराका साथमा भेटिने धनमायाले मिठा–मिठा फलफूलहरू बेच्नुहुन्छ । उहाँको कथा भने नमिठो छ । उहाँले चोकचोक र गल्ली गल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उहाँको रहर होइन । पोखरादेखि सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ ।

एक दशक पोखराका विभिन्न ठाउँहरूमा फलफूल बेच्ने र जुत्ता सिउने काम गर्नुभएकी धनमाया बागलुङसम्म आउनुभएको छ । पोखरा छोडेर म्याग्दीको सदरमुकाम बेनी आउनुभएकी धनमायाले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेच्नुभयो । बेनीमा राम्रो कमाई नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराख्नु भएको छ । यहाँबाट पनि उहाँलाई काम गर्ने वातावरण सहज छैन ।

‘पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरूको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फूल बेच्न थालेको १६ वर्ष भयो,’ धनमायाले भन्नुभयो ‘ज्यान पाल्न पर्यो, काम नगरी पाल्न सकिन्न, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, काम जस्तो भए पनि गर्छ, सानो ठूलो मान्दैन ।’

४० वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताउनुभयो । उहाँले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोख्नुभयो । बेनीमा पाँच वर्ष काम गर्दा कमाई नभएपछि बागलुङ आएको उहाँको भनाइ छ । यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उहाँले बताउनुभयो ।

‘पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छोडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट डोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ’ नेपालीले भन्नुभयो– ‘बेनीमा फलफूलसँगै गोलभेंडा पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरूको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौँ, यहाँ आएको पनि तीन÷चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन् ।’

ADVERTISEMENT

धनमायाको चारजनाको परिवार छ । दुई छोरी र श्रीमान रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ । दुई छोरीले पोखरा पढ्ने र श्रीमानले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उहाँको भनाइ छ । ‘हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमानले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खास्सै छैन, दशैँको बेला राम्रो भयो अहिले कम छ’ उहाँले भन्नुभयो ।

नेपालीले स्याउ, सुन्तला र मौसम अनुसारका फलफूल बेच्ने गर्नुहुन्छ । यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । फलफूल बेचेर दैनिक ५०० देखि एक हजारसम्म कमाइ हुने भन्दै उहाँले कहिलेकाहीँ १५ सयसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । ‘अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुपर्याे, खानुपर्याे, छोरीहरूलाई पढाउनुप¥यो, खर्च बढेको बढ्यै छ, कमाउ घट्दो छ’ उहाँले भन्नुभयो ‘अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्न हुन्थ्यो, काम नगरेसम्म खान लाउन पुग्दैन ।’

धनमायाका श्रीमान कुमार नेपालीले बागलुङ बजारको एक सिलाइ कटाइ पसलमा काम गर्दै आउनुभएको छ । उहाँले आफूहरू दुई अनपढ भएको हुँदा भौतारिनु परेको बताउनुभयो । कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम गर्र्न तयार हुनुपर्ने बताउनुहुन्छ । दुई जनाको मिहिनेतले परिवार चल्दै आएको उहाँको भनाइ छ ।

‘सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, धनमायाले सडकमा बेचेर र मैले कपडा सिलाएर थोरै थोरै कमाउँछौँ, जसोतसो महिनाभरि खानलाउन पुगेको छ’ कुमारले भन्नुभयो ।

उहाँले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिई सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौँ, पोखरामा राम्रै थियो, हटाउनु भयो, बेनीमा कमाइ नै हुन नसकेपछि अहिले बागलुङ आएका छौँ, यहाँ पनि बाटोमा व्यापार नगर्न भन्दै हुनुहुन्छ रे, हामी जस्ता गरिब दुःखीले अब के गरेर ज्यान पाल्ने ?’

उहाँले आफू एक्लैको कमाईले परिवार चलाउन गाह्रो हुने सुनाउनुभयो । काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताउनुभयो । बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्र रूपमा राखिएका सामानहरू हटाउन थालेको छ । त्यसले गर्दा ठेला व्यापारीहरू समस्यामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?