चिसोमा पनि डेङ्गीको डर, यो भाइरसको सीरोटाइप थ्री कति घातक ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

 काठमाडौं । नेपालमा गत जुलाई महिनादेखि नै डेङ्गीको बिरामीहरूको सङ्ख्या उकालो लाग्न थालेको थियो। अगस्ट महिनाको मध्यदेखि भने सङ्क्रमण ह्वात्तै बढेको सरकारी तथ्याङ्क छ। त्यसको एक महिनामा यो रोगले प्रकोपको रूप लिन थाल्यो।

अवस्था उत्कर्षमा पुग्दा पनि डेङ्गीको कुन प्रकार अर्थात् सीरोटाइप फैलिएको हो भन्नेबारे परीक्षण भएको थिएन।

यसैसाता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना डेङ्गीका बिरामीहरूबाट नमुना सङ्कलन गरी परीक्षण गर्‍यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालका अनुसार तीमध्ये सातवटा नमुनामा सीरोटाइप वन र पाँच वटामा सीरोटाइप थ्री पुष्टि भयो।

‘सानो नमुनामा दुई प्रकारको सङ्क्रमण देखियो। तर देशव्यापी रूपमा यी दुई सीरोटाइप नै फैलिएका हुन् भन्ने प्रमाणित गर्न धेरै नमुनाको परीक्षण आवश्यक पर्छ,’ उहाँले भन्नुभयो ।

डा. दाहालका अनुसार सातवटै प्रदेशका विभिन्न अस्पतालबाट डेङ्गी प्रकोप उत्कर्षमा रहँदाको नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।

‘ती नमुना अध्ययनपछि कुनकुन सीरोटाइप फैलियो भन्ने कुरा पुष्टि हुन्छ।’

यद्यपि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणलाई आधार बनाइ नेपालमा पहिलोपटक डेङ्गीको सीरोटाइप थ्री फैलिएको विवरणहरू सार्वजनिक भएका छन्।

के हो सीरोटाइप ?

सीरोटाइप कुनै पनि सूक्ष्मजीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो।

डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन्। जसलाई सीरोटाइप वन, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई पटकपटक गरी यी चारवटै प्रकारका डेङ्गीले सङ्क्रमण गर्न सक्छ।

प्रत्येक वर्ष विश्वभरि १० देखि ४० करोड मानिसहरूलाई डेङ्गी सङ्क्रमण हुने आकलन गरिएको छ। तीमध्ये ८० प्रतिशतलाई मध्यम खालको लक्षण देखिने वा लक्षणरहित हुने जनाइएको छ।

सीरोटाइप थ्री पहिलो पटक देखिएको हो त ?

ADVERTISEMENT

यसअघि भएका अध्ययन तथा अनुसन्धानले नेपालमा डेङ्गीको चारवटै सीरोटाइप देखिएको पुष्टि गर्छ।

सन् २००८ मा न्याश्नल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एउटा लेखमा उल्लेख गरिएको छ, ‘विभिन्न चिकित्सकीय र प्रयोगशालामा गरिएका परीक्षणको परिणामहरूले नेपालमा चारवटै डेङ्गी सीरोटाइपहरूको सङ्क्रमण पुष्टि गरेको छ।’

सन् २००६ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रत्यक्ष संलग्नतामा भएको अनुसन्धानले पनि त्यतिबेलै नेपालमा डेङ्गीको चारवटा सीरोटाइप भएको निष्कर्ष निकालेको थियो।

बाँके, दाङ, काठमाण्डू, नेपालगन्जसहितका ठाउँमा एकै समयमा फरकफरक किसिमका सीरोटाइप फैलिएको जनाइएको छ। तर सबै सीरोटाइप एकैपटक फैलिए पनि तीमध्ये एउटाको प्रभाव बढी हुने बताउँछनुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन।

उदाहरणका लागि, सन् २०१९ मा काठमाडौंमा सबै प्रकारका डेङ्गी फैलिएको भए पनि सीरोटाइप टूको असर बढी देखिएको उहाँले बताउनुभयो ।

कस्तो अवस्थामा बढी चनाखो हुने ?

सीरोटाइप थ्री देखिनु नौलो कुरा होइन र यो निकै तर्सिनुपर्ने विषय नभएको बताउँछनुहुन्छ डा. पुन ।

तर सरकारी वा निजी अस्पतालहरूले आफूकहाँ परीक्षण गराउन आएका बिरामीहरूको नमुना सङ्कलन गरी कुन सीरोटाइप हो भन्ने चाहिँ परीक्षण गर्नुपर्थ्यो। त्यसले सतर्क रहन मद्दत पुर्याउँछ, उहाँले भन्नुभयो ।

उहाँका अनुसार कुनै पनि वर्ष यसअघि देखिएको भन्दा फरक सीरोटाइपको डेङ्गी देखिन सक्छ। पहिले सङ्क्रमण भइसकेको मानिसलाई पहिलेको भन्दा भिन्न डेङ्गी सीरोटाइप सङ्क्रमण भए त्यसले कडा असर गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा अस्पताल जानु पर्ने सम्भावना बढ्छ। प्रकोप हुँदा अस्पतालमा चाप र मृत्युको जोखिम पनि बढ्छ। यस्तो अवस्था आउन नदिने तयारीको निम्ति भए पनि सीरोटाइप परीक्षण हुनुपर्छ।’

 

  • स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *