काठमाडौं । विज्ञापन व्यवसायी औपचारिकरूपमै विभाजित भएका छन् । नेपाल विज्ञापन संघ(आन) विरुद्ध राष्ट्रिय विज्ञापन संघ(नान) गठन भएको छ । ११ सदस्यीय नवगठित तदर्थ समितिको अध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रदिपप्रसाद कोइराला, द्वितीय उपाध्यक्ष अमृतकुमार पन्थी, महासचिव आशिष खड्का, सचिव विमल खड्का, कोषाध्यक्ष कमला पौडेल अर्याल र सहकोषाध्यक्षमा वसन्त योगी हुनुहुन्छ । त्यस्तै, सदस्यमा रवि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गुञ्जमणि भट्टराई रहनुभएको नानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सो अवसरमा नानका अध्यक्ष श्रेष्ठले आनले विज्ञापन व्यवसायी, मिडिया हाउसको हितमा काम गर्न नसकेकाले नान गठन गर्नुपरेको बताउनुभयो ।
विज्ञापन बोर्डले विज्ञापन एजेन्सीबाट थप तीन प्रतिशत शुल्क असुल्ने निर्णय गरेको सरकारी विज्ञापन सहकारी मिडियालाई मात्रै उपलब्ध गराउन सम्बन्धित सरकारी मिडिया हाउसका अधिकारीहरूले दबाब दिन थालेको भन्दै उहाँले सोविरुद्ध आनले मूकदर्शक बनेरमात्रै बसिरहेको आरोपसमेत लगाउनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आनले अपेक्षाअनुसार काम गर्न सकेन, जसका कारण विज्ञापन व्यवसायी, सञ्चारमाध्यमहरूको प्रगति हुन सकेको छैन । यस्तो अवस्था चिर्न हामी नान गठन गर्न बाध्य भएका हौँ ।’ विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, कोरोना महामारीबाट पीडित व्यवसायी तथा मुलुकको बिग्रँदो आर्थिक अवस्थालाई मध्यनजर गर्दै त्यस्ता विपत्तिबाट बच्न र बचाउन सो क्षेत्रमा लागेका एजेन्सी, विज्ञापनदाता तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने उद्देश्यका साथ नान गठन भएको नानका महासचिव आशिष खड्काले बताउनुभयो ।
नानले विज्ञापन क्षेत्रमा रहेका विकृति न्यूनीकरण एवं जनस्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले थालेको सूर्तिजन्य तथा मदिराजन्य पदार्थको विज्ञापनलाई निरुत्साहित गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । साथै उसले मेरो मात्र नभई हामी र हाम्रो भन्ने मूल मन्त्रलाई आत्मसात् गरेको नानको सदस्यता लिन पनि देशभरका एजेन्सीलाई आग्रह गरेको छ । गत असोज २८ गते दर्ता भएको नानमा हालसम्म ६७ एजेन्सी आबद्ध भइसकेको पनि नानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच