काठमाडौं । विगतका निर्वाचनजस्तै यसपटकको संसदीय र प्रदेश निर्वाचनमा पनि निजी क्षेत्रको बाहुल्यता देखिएको छ । प्रत्यक्षभन्दा पनि समानुपातिकतर्फ प्रमुख राजनीतिक दलले उद्योगी व्यापारीलाई उठाएका छन् । तथापि प्रत्यक्षतर्फ भने उद्योगी व्यापारीको उम्मेदवारी नगण्य रहेको छ । प्रत्यक्षतर्फ एकमात्र अर्बपति व्यापारी तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बन्नुभएको छ । उहाँले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएको हो ।
यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र नेपाली कांग्रेसबाट चौधरी पटक/पटक प्रतिनिधिसभामा पुगिसक्नुभएको छ । २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद बन्नुभएका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएको थियो । चौधरी उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपाध्यक्ष तथा निर्माण व्यवसायी विक्रम पाण्डेले चितवन ३ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रका ठूलो लगानीकर्ता व्यवसायी उमेश श्रेष्ठले पनि कांग्रेसतर्फबाट चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । श्रेष्ठको प्रतिस्पर्धा नेकपा (एमाले) का कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हुनेछ । प्रभु समूहका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) तर्फबाट समानुपातिक सूचीमा पर्नुभएको छ । एमालेले उहाँलाई प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाति समूहबाट सिफारिस गरेको हो । यसअघि उहाँ नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा हुनुहुन्थ्यो ।
त्यसैगरी मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्माले नेपाली कांग्रेसतर्फबाट मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालकसमेत रहनुभएका शर्मा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित हुनुभएको थियो तर यसपटक पनि शर्माको प्रतिस्पर्धा ढकालसँग नै हुँदैछ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्ले चितवनबाट चुनाव लड्ने व्यापक चर्चा थियो तर नेपाली कांग्रेसले उहाँलाई टिकट नदिएपछि वाग्लेको उम्मेदवारी चर्चामै सीमित हुन पुगेको छ । कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट डा. विश्वनाथ पौडेललाई टिकट दिएको छ । कांग्रेसबाट चितवन १ बाट उम्मेदवारी दिन उपाध्यक्ष पौडेलले आयोगबाट राजीनामा दिनुभएको छ । उहाँले असोज २० गतेदेखि लागू हुने गरी आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा दिनुभएको हो । १२ साउन २०७८ मा उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको जोडबलमा उहाँ टिकट पाउन सफल हुनुभएको बताइन्छ । डा. पौडेलले आफूले सरकार र जनताबीचको पुलका रूपमा काम गर्ने बताउनुभएको छ । निर्वाचित भएपछि सरकारको कामकारबाहीलाई नियाल्ने, खबरदारी गर्ने, जनहित अनुकूलको कानुन बनाउनेलगायतका भूमिका निभाउन आफू प्रतिबद्ध रहेको उहाँले सामाजिक सञ्जालमार्फत् प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आयोगमा उपाध्यक्ष भइसक्नुभएका डा. गोविन्द पोखरेल पनि चर्चामा हुनुहुन्थ्यो तर अन्तिममा उहाँ पनि टिकटबाट वञ्चित हुनुभएको छ । आइतबार उहाँले आफू २०७९ को प्रदेश तथा संघको निर्वाचनमा उम्मेदवार नभएको सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको छ । पोखरेलले फेसबुक वालमा लेख्नुभएको छ, ‘निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने सबै उम्मेदवारहरूले जनताको मत जित्न गालीगलौज छाडी भावी योजनासाथ प्रचार-प्रसार गर्नुहुन अनुरोध गर्दछु ।’
एकीकृत समाजवादीको भागमा परेको दाङ १ बाट डा. पोखरेलले स्वतन्त्र उम्मेदवारी दिने र एमालेले समर्थन गर्ने भ्रामक हल्ला फैलिएपछि उहाँले स्पष्टीकरण दिनुभएको हो । २०७४ को निर्वाचनमा प्युठानबाट प्रतिनिधिसभाका प्रत्यासी डा. पोखरेल यसपटक पनि गृहजिल्ला प्युठानमै उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो तर सत्ता गठबन्धनबाट प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले टिकट पाएपछि पोखरेल उम्मेदवारीबाट वञ्चित हुनुभएको हो । २०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ पाएभन्दा १० हजार बढी मत प्राप्त गर्नुभएका आयोगका पूर्वउपाध्यक्ष पोखरेल यसपटक टिकट नपाउने स्थिति सिर्जना भएपछि असन्तुष्ट हुनुहुन्छ ।
त्यस्तै, काठमाडौंमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उम्मेदवारी दिने व्यापक चर्चा थियो तर उहाँले पनि दिनुभएन । खासगरी माओवादी केन्द्रले उहाँलाई काठमाडौंबाट उठाउने तयारी गरेको थियो भने अन्य राजनीतिक दलहरूले पनि आफ्नो दलको टिकटमा संघीय संसद्को प्रत्यक्षबाट उठ्न आग्रह गरेको बताइन्छ । तर, घिसिङले तत्काल राजनीतिक दलको उम्मेदवार भएर चुनाव नउठ्ने बताउनुभएको छ ।
त्यसैगरी सेयर बजारका लगानीकर्ता हरि ढकालले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि चितवन १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच