रक्सीसित मासुकै सितन किन ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 12 mins

डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) 

काठमाडौं । आजभोलि हिन्दूधर्मावलम्बीहरू दशैंको रमाइँलोमा झुमिरहेका छन्। अधिकांश वृद्धवृद्धा पूजापाठमा मग्न छन्। धेरै उमेरदारलाई भने घुमघाम र खानपानको परिकार बनाउने, खाने र खुवाउने कार्यमा तल्लिन छन्। कसैलाई पूजापाठको आनन्द कसैलाई खानपिनको रमाइलो। धेरैजना त रक्सी र मासुकै आकर्षणले पो तानिएका छन् कि झैं देखिन्छ। जे होस्, दसैंमा रमाइँलोका लागि प्रायः धेरैले छाकैपिच्छे मासु खाने गर्दछन्। मासुसँगै रक्सी पिउनेहरूको संख्या पनि कम हुँदैन। रक्सी मात्र अधिक पिउनाले स्वास्थमा तत्कालै समस्या आउन सक्छ तर रक्सीको साथमा सितन मिलाएर खाए प्रत्यक्ष नकारात्मक प्रभावबाट धेरै हदसम्म बच्न सकिन्छ। दशैंको बेलामा यस विषयमा सबै सजग बन्नु जरूरी देखिन्छ।

रक्सीसँग सामान्यतः माछामासु नै सितन खान मानपराएको पाइन्छ। माछामासु न पाएको अवस्थामा मात्र अन्य विकल्प खोजिएको हुन्छ। जस्तैः सुकुटी, सलाद, चिप्स, भुजिया, पापड, साँधेको बदाम, साँधेको गुन्द्रुक आदि। सितन प्रायः नुनिलो, अमिलो वा पिरो हुने गर्दछ। गुलियो, तितो वा टर्रो सितन खाने चलन पाइन्न। अतः रक्सीसित कस्तो सितन स्वस्थकर हुन्छ र किन ?

विश्वभरिको चलनलाई हेर्ने हो भने रक्सी पिउने प्रायः व्यक्तिले केही न केही सितन खोजेकैे हुन्छ। सितन अर्थात् त्यस्तो ठोस पदार्थ जुन मूल खानापानसँग सहयोगी खानाको रूपमा खाइन्छ। रक्सीसँग खाइने सितनमा प्रायः मासु हुने गरेको पाइन्छ। रक्सी पिउने शाकाहारी व्यक्तिबाहेक अन्य अधिकांशले रक्सीसँग मासुको सितन खोज्छ र रोज्छ। किन होला ? यसको पछाडि कुनै विज्ञान पनि छ कि चलन मात्र हो यो ?

आयुर्वेद औषधी विज्ञान मात्र होइन। यो आहार विज्ञान पनि हो। आयुर्वेदले के खाने र कति खाने मात्र बताएको छैन। कसरी खाने र केसँग के खाने के नखाने भन्ने समेत बताएको छ। आखिर आहारलाई नै औषधी मान्ने विज्ञान जो हो- आयुर्वेद।

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो अनुपान (अनु पश्चात, पानः खाना वा औषध सेवन)। अनुपान भनेको त्यस्तो खानपान जुन मूल खानापान वा औषधी खाएपछि खाइन्छ। सँगसँगै वा अन्य निश्चित समयमा एवं विधिले खाइन्छ। जस्तै सामान्यतस् रूघा वा खोकी लाग्दा मरिचको धुलो सेवन गरिन्छ जसलाई महसँग राखेर चाटिन्छ। आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश निघण्टुमा बताइएको छ कि कफसम्बन्धी रोगको निवारणका लागि हर्रोको चुर्ण नुनसँग खाइन्छ। पित्त सम्बन्धी रोग दूर गर्न सख्खरसँग खाइन्छ। बातसम्बन्धी रोगमा घ्यूसँग खाइन्छ। र सामान्यतः सबैप्रकारको रोगबाट बच्न गुडसँग खाइन्छ।

आयुर्वेद विज्ञान हो। फलतः हरेक घटना वैज्ञानिक तर्कद्वारा पुष्टि हुनै पर्छ। किन रूघाखोकीमा मरिचसँग मह खानु लाभकारी हुन्छ र हर्रो चुर्ण गुडसँग खानु सर्वरोग निवारणमा लाभकारी भनिएको होला त ?

जस्तै हर्रोको चुर्ण खाँदा स्वाद अप्रिय लाग्छ जसलाई दूर गर्न अनुपान मह वा नुन दिइन्छ। अनुपानको प्रयोजन भनेको औषधि सेवन प्रक्रियालाई सुखद (स्वरूप, रङ्ग, रस, गन्ध अनुकुल बनाउनु) बनाउनु पनि हुन्छ।

जसरी पानीमा राखिएको तेलको थोपा पलभरमै सबैतिर फैलिन्छ, त्यसै प्रकारले अनुपानको सहयोगले औषधी शरीरभित्र सर्वत्र फैलाउँछ। औषधीसँग समान गुण भएको अनुपानले औषधिको कार्यशक्ति बढाउँछ। जस्तै निमको चुर्णको प्रभाव बढाउन गुर्जोको काढाको अनुपान दिइन्छ। एउटै औषधिसँग खाइएको फरक फरक अनुपानले फरक फरक कार्य गर्दछ। जस्तै मनतातो पानीसँग खाइएको त्रिफलाले कब्ज खोल्छ भने त्यही क्रिफला महसँग खाँदा त्यो नेत्र रोगका लागि प्रभावकारी हुनजान्छ।

ADVERTISEMENT

वस्तुत शास्त्रीय हिसाबमा अनुपानले तृप्ति दिलाउँछ, आहारलाई छिटो पचाउँछ, आयु बढाउँछ, शरीरलाई सुख एवं ऊर्जा दिलाउँछ। शरीरलाई मोटाइ बढाउँछ र अंगहरूलाई दृढ बनाउँछ। मनलाई हर्षित तुल्याउँछ।

हरेक चिकित्सा विज्ञानको आ-आफ्नै आधारभूत वैज्ञानिक सिद्धान्त हुन्छन्। आयुर्वेदले चिकित्सा कर्मका लागि पञ्चमहाभूत सिद्धान्त अपनाउँछ। विश्व ब्रह्माण्डका सबै बस्तु पञ्चभौतिक हुन्छ भन्ने मान्यता आयुर्वेदको हो। आहार एवं औषधी पञ्चमहाभूतले बनेको हुन्छ र शरीर पनि पञ्चमहाभूतले नै बनेको हुन्छ। आकाश, वायु, जल, अग्नि र पृथ्वीलाई पञ्चमहाभूत भनिन्छ। हरेक महाभूतको निश्चित गुणहरू हुन्छ। ती गुणहरू नै औषधी वा आहारको विशेषता हुन्छ। कुनै पनि रोग एवं रोगीलाई आवश्यक चिकित्सा कर्म निर्धारण गरिन्छ। तत्पश्चात उक्त चिकित्साकर्म सिद्धिका लागि निश्चित विशेषता वा गुण भएको औषधि वा आहारको चयन गरिी प्रयोग गरिन्छ।

पञ्चमहाभूतको गुण भन्नाले चिल्लोपन, खस्रोपन, हलुका, भारी, तातो, चिसो, आदि बुझिन्छ। आयुर्वेदमा ४१ प्रकारको गुणहरूको वर्णन छ। औषधीको रस भन्नाले गुलियो, अमिलो, नुनिलो , पिरो, टर्रो र तितो बुझिन्छ। यी रसहरू पनि माथि भनिएका महाभूतले नै बनेका हुन्छन् र गुणहरू त्यसै अनुसार बुझ्नु पर्दछ।

अनुपानको निर्धारण औषधिको प्रकृति, रोगको प्रकृति र रोगीको अवस्था हेरेर गरिन्छ। अनुपानको सेवन भोजनभन्दा पहिले गर्न गराउन निर्देश गरिएको छैन। यदि अनुपानको सेवन भोजन पहिल्यै गरिए त्यसले शरीरलाई दुब्लो र कमजोर बनाउँछ।

जुन अनुपान मूल आहार वा औषधिभन्दा विपरीत गुणवाला हुन्छ तर कार्यशक्ति विरोधी गुणवाला नहुने हुन्छ। त्यस अनुपानलाई उत्तम अनुपान मानिन्छ। आयुर्वेदका अनुसार रक्सीको गुण लघु (हलुकापन), रूक्ष (खस्रोपन), सूक्ष्म, तीक्ष्ण हुन्छ र रक्सीको विपरीत मासुको गुण गुरू (भारीपन), स्निग्ध (चिल्लो), स्थूल, मन्द हुन्छ। मासुले रक्सीको मदकारी कार्यशक्तिलाई फरक पार्दैन भन्नुको तात्पर्य रक्सीको कार्यशक्तिलाई न त बढाउँछ न त घटाउँछ। रक्सी भन्दा विपरीत गुण मासुको भएको हुँदा मासुले रक्सीको मात लाग्ने प्रक्रियालाई ढिलो गराइदिन्छ। त्यसैगरी मासुको गुरू गुणको कारण पाचन र अवशोषण ढिलो हुनेहुन्छ, जब विपरीत गुणवाला रक्सीको साथमा खाइन्छ त्यसले मासुको पाचन र अवशोषण क्रियालाई तीव्रता दिन्छ।

रक्सी मासुसँग खाँदा रक्सीको मात लाग्ने शक्तिमा फरक नपारी केवल मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ। साथै विपरीत गुणको कारण रक्सीले मासुको पाचनक्रियालाई तीब्रता दिन्छ। यही गुण विपरीतता र कार्यगत स्वतन्त्रता नै रक्सी मासुसँग खानु पछाडिको विज्ञान हो। यसैकारण रक्सीलाई मासुको अनुपानको रूपमा वा मासुलाई रक्सीको अनुपानको रूपमा खाने वैज्ञानिक चलन स्थापित भएको हो।

रक्सीको अपेक्षित मदकारी कार्य त रक्सीले निशंकोच गर्छ नै साथै त्यससँगै खाइएको मासु पचेर र अशोषण भइसकेपछि त्यसले पनि उत्तम बल दिने, इम्युनिटी दिने, शरीरमा मांस पुष्टता दिने आदि कार्य गर्छ ती कार्यहरू रक्सीसँग खाइने अन्य सितनहरूको तुलना मासुले श्रेष्ठकर तवरबाट गर्दछ।

अतः अनुपानको चिन्तन आयुर्वेदीय चिकित्सा विज्ञानको पृथक र विशेष विषय हो। अनुपानको प्रयोग औषधीको प्रभावकारी कार्यमा जति महत्वपूर्ण हुन्छ त्यति नै महत्वपूर्ण आहारको समुचित पाचन, अवशोषण र शक्ति उत्पादनका लागि हुन्छ।

अन्य केही अनुपानहरूः कफजन्य रोगको लागि अदुवासँग गुडको सेवन। बातसम्बन्धी रोगमा सुकेको अदुवा (सुण्ठी) सँग गुड सेवन। आमवात रोगमा गुर्जोसँग शुण्ठीको सेवन। सामान्तः कुनै पनि धुलो औषधीको प्रयोग गर्दा मह, पानी वा दूध अनुपान प्रयोग गरिन्छ। धुलोलाई चाटेर खानेबेला अनुपान दुईगुना र कढा बानाएर पिउने हुँदा चार गुना अनुपानको प्रयोग गर्ने विधान छ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज