दशैंको स्वास्थ्य सुत्र

अति धेरै मसालेदार, अति धेरै भुटिएको, पटक पटक तताइएको वा पाकेको मासुलाई पटक–पटक पकाएर खाँदा स्वाद त आउला तर शरीरलाई बेफाइदा गर्दछ।

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 10 mins

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)

काठमाडौं । बडादशैं घटस्थापनासँगै शुरु भइसकेको छ। सबैको ध्यान यसपालीको दशैं कसरी विशेष बनाउने वा रमाइलोसँग मनाउने भनेर योजना बनाउनमा केन्द्रित छ।

दशैं भनेको उपासनाको पर्व हो। विजय र हर्ष उल्लासको चाड हो। उपासनापछि हरेक व्यक्तिमा नयाँ जोस, जाँगर, उत्साह, ओज र तेजको अवतरण भए मात्र सही अर्थमा उपासना गरिएको सावित हुन्छ।

दशैंको समयमा नयाँ पुस्ताको ध्यान पूजापाठ गर्नेमा भन्दा पनि नयाँ–नयाँ कपडा किन्ने, साथीभाइ तथा आफन्तजनहरू भेट्ने र रमाइलो गर्नेमा केन्द्रित हुने गरेको पाइन्छ। रमाइलो गर्न आम रूपमा स्वादिलो खानपान र मदिरा सेवन गर्ने चलन त छँदैछ। धेरैले दशैंलाई मासु र मदिरा पिउने अवसरका रूपमा समेत पर्खिरहेका हुनसक्छन्। वस्तुतः दशैं मनाउने शैली अहिले बदलिएको छ।

दशैंसँगै विभिन्न खाले विकृति र रोग पनि स्थापित हुँदै गएको छ। त्यसैले दशैंको बेला होसपूर्वक रमाइलो गरिनुपर्छ। स्वास्थ्यको ख्याल गरेर मात्र खानपिन गर्नुपर्छ। दशैंमा बेहोसी भएर खाने–पिउने गरे बिरामी पर्ने सम्भावना धेरै हुन्छ।

नयाँ पुस्ता अधिक रमाइलो प्रधान र स्वादमुखी भएर होला दशैंको बेला मासु र मदिराको अत्यधिक र अव्यवस्थित प्रयोग गरिन्छ। जसले गर्दा दशैं मासु र मदिरा सेवन गर्ने चाडका रूपमा चिनिन थालेको छ। दशैंमा अत्यधिक मासु सेवन गर्ने र मदिरा सेवन गर्ने भएकाले दशैंको बेला वा दशैंको समापनसँगै धेरैले ओज र तेज गुमाउँछन्। कति त थला परेकोसमेत देखेकै छौं।

आयुर्वेदले सकेसम्म मासु नखानु आरोग्यका लागि उत्तम मान्दछ तर आजको समयमा धरैलाई मासु र रक्सी विनाको दशैं बारे चर्चा गर्नु अव्यवहारिक एवं आदर्शवादी कुरा लाग्न सक्दछ। मासु र मदिरा खानु सर्वथा ठीक होइन तर मासु र मदिरामै रम्नेहरूका लागि मासु बिनाको दशैं रमाइलो नहुनसक्छ।

मासु र मदिरा खाने वा छोड्ने यो व्यक्ति विशेषको अध्ययन, बुद्धि, विवेक, संस्कार, धर्म, संस्कृति, दृष्टिकोण, संकल्प, आदिमा भरपर्ने कुरा हो। यद्यपि मासु र मदिरा पोषण मानसिक सन्तुष्टिसँगै आरोग्यसँग पनि जोडिएकोले यो कसरी खाने भन्ने कुरा चिकित्सकीय सरोकारको विषय पनि हो।

दशैं चाड पर्ने शरद ऋतुमा ऋतु अनुसार दिनचर्या अपनाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। शरदभन्दा अघिल्लो ऋतु वर्षा ऋतुमा शरीरमा पित्त (अग्नि तत्वकों) को सञ्चय हुन्छ र शरदको आगमनसँगै उक्त सञ्चित पित्त कुपित हुन्छ। पित्त प्रकुपित हुँदा ४० प्रकारका रोगहरू लाग्न सक्ने हुन्छ। पित्त बढेर लाग्ने रोगहरू मध्ये अपच, अम्लपित्त, जन्डिस, अत्यधिक पसिना आउनु, आँखा पाक्ने, गुदाद्वार पाक्ने, मुच्र्छा पर्ने आदि हुन्।

पित्त कुपित भएका बेला स्वभाविक रूपमा व्यक्तिमा मानसिक ताप हुने, छाला–दिशा–पिसाब–आँखा पहेंलो हुने, शीतल आहारको इच्छा हुने, कम निन्द्रा लाग्ने, मुर्छा पर्ने, इन्द्रियहरू दुर्बल हुने, शरीर तातो भइरहने, बढी रिस उठ्ने आदि प्रवृत्ति हुन सक्छ। यी वृत्तिहरूलाई नै बढाउने गरी बेहोसीमा दशैंका बेला खानपिन गरियो भने रोग लाग्ने सम्भावना झन् बढ्छ।

आयुर्वेदले शरद ऋतु पित्तलाई सन्तुलनमा राख्ने खान–पिन जौ, गहुँ, बासमती चामल, ब्राउन राईस, धृतपान, मुंग दाल, सक्खर, पर्वल, अमला, अंगुर, करेला, उमालेर सेलाएको पानी आवश्यक पर्छ। यो शरद ऋतुमा अहितकारी खानपिन भनेको कडा मदिरा ९हार्ड ड्रिङ्कस्०, अत्यधिक झोल पदार्थ, नउमालेको पानी, पेट टम्म हुने गरी खानु, बोसो पदार्थ, तेल, क्षारीय पदार्थ, दही आदि सेवन गर्नु हो। यस ऋतुका लागि अहितकारी बानी भनेको दिउँसो सुत्नु र पूर्वी हावाको सेवन गर्नु हो।

मासु कति प्रकारको हुन्छ ?

ADVERTISEMENT

मासुमा मायोग्लोबिनको मात्राको आधारमा मासुलाई दुई प्रकार रातो मासु र सेतो मासुको रूपमा वर्गीकरण गरिएको छ। रातो मासु हुने पशुमा खसी, बोका, भैंसी, राँगा, भेडा, बाख्रा पर्छन् भने पन्छीमा हाँस, परेवा आदि। सेतो मासु हुनेमा माछा र कुखुरा पर्दछ।

रातो मासु राम्रो कि सेतो ?

रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। त्यसमा जिंक, फस्फोरस, लिपोइक एसिडको मात्रा बढी हुने हुनाले दैनिक रातो मासु सेवन गर्दा मुटु रोग र क्यान्सर हुने जोखिम हुन्छ। अतस् रातो मासु नियमित र अत्यधिक सेवन गर्नु रोग निम्त्याउनु हो। दीर्घ रोग लागेको छ भने त्यस्तो व्यक्तिले रातो मासु खानै हुँदैन।

साथै रातो मासुको नियमित वा अत्यधिक सेवनले शरीरमा युरिक एसिडको मात्रा बढ्ने, मुटु रक्तनलीमा गएर समस्या दिने हुन्छ। अतस् मासु नखाइ नहुने बाध्यकारी अवस्थामा विकल्पको रूपमा सेतो मासु उपयोग गर्नु स्वास्थ्यका लागि हितकार रहन्छ।

मासु कति खाने

चाडपर्वमा यति वा उति खा भनेर कसले किन टेथ्र्यो र तर कति खानुपर्ने हो भनेर आफैंले विचार गर्ने कुरा पनि साह्रै मननीय छ। एउटा व्यक्तिले कति क्यालोरी लिन्छ, त्योअनुसार भरपर्छ। साधारण भाषामा भन्ने हो भने एउटा वयस्क व्यक्तिले दिनमा ३ सर्भिङ खानुपर्ने हुन्छ। एक सर्भिङमा ३० ग्राम हुन्छ भने ३ सर्भिङमा ९० ग्राम क्यालोरी प्राप्त गर्न सकिन्छ।

वयस्कलाई १ ग्राम प्रोटिन प्रतिकेजी चाहिन्छ भने बच्चालाई १।५ प्रोटिन प्रति केजी चाहिन्छ। १० ग्राम मासुमा २० देखि २२ ग्राम प्रोटिन पाइन्छ। रातो मासु, सेतो मासु दुवै प्रोटिनले भरिपूर्ण हुन्छ। रातो मासुमा कार्बोहाइड्रेट हुँदैन तर क्यालोरी हुन्छ। क्योलोरी कति हुन्छ भन्नेचाहिँ मासुमा भएको चिल्लो पदार्थमा भरपर्छ। अधिक चिल्लो भएको मासुले कोलेस्टेरोल पनि बढाउँछ।

मासु छान्दा के-के कुरामा ध्यान दिने ?

बोसो नभएको ३० ग्राम मासुमा ५५ ग्राम क्यालोरी हुन्छ। यदि मासुमा चिल्लो पदार्थको मात्रा थोरै छ भने ३० ग्राम मासुबाट झन्डै ९० ग्राम क्यालोरी प्राप्त गर्न सकिन्छ। यदि मासुमा छाला र बोसो दुवै छ भने ३० ग्राम मासुमा १ सय २० क्यालोरी प्राप्त गर्न सकिन्छ। मासुमा भएको चिल्लोले क्यालोरीको मात्रा थपघट गराउने गर्दछ।

मासुमा प्रोटिन र चिल्लो पदार्थ दुवै पाइने हुँदा जहिले पनि छाला र बोसोरहित मासु छनोट गर्नु नै स्वास्थकर हुन्छ। मासुमा पाइने चिल्लो पदार्थले शरीरमा विभिन्न रोग निम्त्याउने गर्दछ। बोसो शरद ऋतुमा अहितकर मानिन्छ।

मासु पकाउने तरिकाले पनि मासु स्वस्थकर वा अस्वस्थकर बन्छ। पोलेर खाएको मासु कदापि हितकर हुँदैन। अति धेरै मसालेदार, अति धेरै भुटिएको, पटक पटक तताइएको वा पाकेको मासुलाई पटक–पटक पकाएर खाँदा स्वाद त आउला तर शरीरलाई बेफाइदा गर्दछ। चाडपर्वमा भोजन सन्तुलन मिलाएर खानुपर्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ। सन्तुलित भोजन भनेको दशैंमा मासुसँगै सागपात, फलफूल र रेसादार खानेकुरा खानु बुद्धिमानी हुन्छ।

  • श्रोत: आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज